काठमाडौं । सरकारी कर्मचारीको निवृत्तिभरण तथा अन्य सुविधासम्बन्धी कामलाई सहज र व्यवस्थित बनाउन सरकारले इ-पेन्सन सेवा सम्बन्धित सरकारी कार्यालयबाटै सञ्चालन गर्ने व्यवस्था गरेको छ । यसअघि काठमाडौं उपत्यकाबाहिरका कार्यालयको इ-पेन्सनसम्बन्धी काम जिल्ला कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत हुँदै आएको थियो ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राष्ट्रिय किताबखानाको आग्रहअनुसार कात्तिक २७ गते सबै मन्त्रालय, मातहतका निकाय, प्रदेश तथा स्थानीय तहलाई परिपत्र गर्दै नयाँ व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो ।
मन्त्रालयले गृह मन्त्रालयमार्फत देशका ७७ वटै जिल्ला प्रशासन कार्यालय र महालेखा नियन्त्रक कार्यालयमार्फत सबै कोष तथा लेखा नियन्त्रक कार्यालयलाई पनि यसबारे जानकारी गराएको छ ।
प्रणाली सञ्चालनका लागि कर्मचारीको विवरण माग
राष्ट्रिय किताबखानाले इ-पेन्सन सेवा सम्बन्धित कार्यालयबाटै सञ्चालन गर्न आवश्यक प्राविधिक तथा प्रशासनिक तयारी अघि बढाएको छ । यसका लागि कार्यालयको प्रशासन शाखा हेर्ने कर्मचारीको विवरण उपलब्ध गराउन किताबखानाले सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
किताबखानाकी महानिर्देशक आरती न्यौपानेले पठाएको पत्रअनुसार सम्बन्धित कर्मचारीको कर्मचारी संकेत नम्बर, नाम, पद, इमेल ठेगाना र सम्पर्क नम्बर उपलब्ध गराउनुपर्नेछ । उक्त विवरण [email protected] मा इमेल गर्नुपर्ने व्यवस्था गरिएको छ ।
कार्यालयका कर्मचारीलाई इ-पेन्सन प्रणालीमा प्रवेश गर्न आवश्यक प्रयोगकर्ता परिचयपत्र (युजर क्रेडेन्सियल) उपलब्ध गराउने उद्देश्यले विवरण संकलन गर्न लागिएको हो । यसपछि सम्बन्धित कार्यालयले आफ्ना कर्मचारीको निवृत्तिभरण तथा अन्य सुविधासम्बन्धी काम आफैँ गर्न सक्नेछन् ।
निवृत्तिभरणसम्बन्धी सेवा अनलाइनबाटै अनिवार्य
राष्ट्रिय किताबखानाबाट प्रदान हुँदै आएका निवृत्तिभरण, उपदान, सञ्चित बिदा तथा औषधि उपचार खर्चको रकम किटान र सिटरोलसम्बन्धी सेवा २०८३ कात्तिक १ गतेदेखि अनिवार्य रूपमा अनलाइन प्रणालीमा सञ्चालन भइसकेका छन् ।
यी सेवा प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित कार्यालयका जिम्मेवार कर्मचारीलाई प्रणालीमा पहुँच उपलब्ध गराउन लागिएको किताबखानाले जनाएको छ ।
त्यसैगरी, किताबखानामा दर्ता नभएका कार्यालय तथा आयोजना वा परियोजनाका हकमा सम्बन्धित तालुक विभाग वा मन्त्रालयबाटै इ-पेन्सन सेवा सञ्चालन गर्ने व्यवस्था मिलाउन आग्रह गरिएको छ ।
कर्मचारीको व्यक्तिगत विवरण अद्यावधिक गर्नुपर्ने
किताबखानाले इ-पेन्सन सेवा लिने कर्मचारीको व्यक्तिगत सूचना प्रणाली (पीआईएस) मा रहेका विवरण अनिवार्य रूपमा अद्यावधिक गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
मन्त्रालयको परिपत्रअनुसार अब सरकारी कार्यालयहरूले आवश्यक कर्मचारी विवरण पठाई प्रणालीमा पहुँचको व्यवस्था मिलाउनुपर्नेछ । यसले निवृत्तिभरण तथा अन्य सेवा प्राप्त गर्ने प्रक्रियालाई कार्यालय तहबाटै सञ्चालन गर्न सहज बनाउनुका साथै सेवा प्रवाहमा हुने झन्झट र प्रशासनिक प्रक्रियालाई कम गर्ने अपेक्षा गरिएको छ ।
आईसीटी समाचार