काठमाडौं । राष्ट्रिय परिचयपत्र (NID) भएका नागरिकले अब निर्वाचन कार्यालय नगई अनलाइनबाटै मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने भएका छन् । निर्वाचन आयोगअन्तर्गत जिल्ला निर्वाचन कार्यालय बाराले राष्ट्रिय परिचयपत्रमार्फत अनलाइनबाट मतदाता नामावलीमा नाम दर्ता गर्ने प्रक्रियाबारे सूचना जारी गरेको हो ।
कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार नागरिकले निर्वाचन आयोगको आधिकारिक वेबसाइट https://election.gov.np मार्फत आवश्यक विवरण भरेर नाम दर्ता गर्न सक्नेछन् ।
अनलाइनबाट नाम दर्ता गर्न सबैभन्दा पहिले गुगल क्रोम ब्राउजरमा निर्वाचन आयोगको वेबसाइट खोलेर ‘मतदाता नामावली प्रि-रजिस्ट्रेसन र अद्यावधिक’ विकल्पमा गई ‘नयाँ दर्ता’मा क्लिक गर्नुपर्नेछ । त्यसपछि आफ्नो राष्ट्रिय परिचयपत्र नम्बर, जन्ममिति (ईस्वी संवत्) र पहिलो नाम अंग्रेजीमा प्रविष्ट गरी ‘NID बाट प्रमाणीकरण गर्नुहोस्’ विकल्प छनोट गर्नुपर्नेछ ।
प्रमाणीकरणपछि राष्ट्रिय परिचयपत्रमा रहेको स्थायी ठेगाना भरी ‘अर्को’मा क्लिक गर्नुपर्नेछ । त्यसपछि व्यक्तिगत विवरणमा आफ्नो घरको विवरण र अनिवार्य रूपमा मोबाइल नम्बर राख्नुपर्नेछ ।
त्यस्तै, नागरिकताको विवरण भर्दा नागरिकताको किसिम, स्थायी ठेगाना र मतदान स्थल छनोट गर्नुपर्नेछ । राष्ट्रिय परिचयपत्रमा उल्लेख भएको विवरणभन्दा फरक ठेगाना राख्नुपर्ने अवस्थामा बसाइँसराइ वा विवाहदर्ता प्रमाणपत्र अपलोड गर्नुपर्ने सूचनामा उल्लेख छ ।
यसैगरी, अपाङ्गता, मातृभाषा, शैक्षिक योग्यता तथा समूह वर्गसम्बन्धी विवरण पनि भर्नुपर्नेछ । सबै विवरण पुनरावलोकन गरी सही भएमा अन्तिममा ‘दर्ता गर्नुहोस्’ विकल्पमा क्लिक गरेपछि नाम दर्ताका लागि आवेदन प्रक्रिया पूरा हुनेछ ।
जिल्ला निर्वाचन कार्यालय बाराका अनुसार राष्ट्रिय परिचयपत्र (NID) बनेको २४ घण्टापछि मात्रै उक्त प्रणालीमार्फत मतदाता नामावलीमा नाम दर्ता गर्न सकिनेछ । अनलाइन आवेदन प्रक्रिया पूरा भएपछि मतदाता नामावलीमा नाम दर्ता गर्न निर्वाचन कार्यालय जानु नपर्ने कार्यालयले जनाएको छ ।
यसअघि नामावलीमा नाम नभएका व्यक्तिको आवेदन स्वीकृत वा अस्वीकृत भएको जानकारी मोबाइलमा एसएमएसमार्फत प्राप्त हुने सूचनामा उल्लेख छ ।

आईसीटी समाचार