कीवर्डहरू -

३० हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्यसहित नयाँ ऊर्जा नीति बनाउँदै सरकार

३० हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्यसहित नयाँ ऊर्जा नीति बनाउँदै सरकार

काठमाडौं । आगामी एक दशकभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यलाई आधार बनाएर सरकारले नेपालको ऊर्जा उत्पादन संरचनामा व्यापक परिवर्तन गर्ने तयारी थालेको छ । जलविद्युत्मा मात्रै निर्भर नरही सौर्य, वायु, जलाशययुक्त तथा पम्प स्टोरेज आयोजनालाई समेत समेटेर नयाँ ऊर्जा मिश्रण नीति तयार गर्ने प्रक्रिया अघि बढाइएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विभिन्न ऊर्जा स्रोतबाट उत्पादन हुने विद्युत्को अनुपात निर्धारण गर्ने गरी नयाँ नीतिगत खाका तयार पार्न लागेको छ । ऊर्जा स्रोतको विविधीकरणमार्फत वर्षभरि नियमित विद्युत् आपूर्ति सुनिश्चित गर्ने र बढ्दो उत्पादन क्षमताको व्यवस्थापन गर्ने सरकारको उद्देश्य छ ।

नयाँ ऊर्जा मिश्रण नीति कार्यान्वयनमा आएपछि लामो समयदेखि प्रभावित विद्युत् खरिद सम्झौता (पीपीए) प्रक्रियाले पनि गति लिने अपेक्षा गरिएको छ । विशेष गरी नदी प्रवाही र अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको पीपीए प्रक्रिया रोकिँदा ठूलो सङ्ख्यामा आयोजना सम्झौताको प्रतीक्षामा छन् ।

नेपाल विद्युत् प्राधिकरणको तथ्याङ्कअनुसार हालसम्म ४०४ नदी प्रवाही आयोजनासँग ६ हजार ७१३ मेगावाट र ५१ अर्धजलाशययुक्त आयोजनासँग ४ हजार १८६ मेगावाट विद्युत् खरिद गर्ने सम्झौता भइसकेको छ । तर, थप २८१ आयोजनाका कुल १६ हजार ४२५ मेगावाट क्षमताको विद्युत् खरिद सम्झौता हुन बाँकी छ ।

हाल नेपालको कुल विद्युत् उत्पादन क्षमता करिब ४ हजार २०० मेगावाट पुगेको छ । यसमध्ये अधिकांश उत्पादन नदीको बहावमा आधारित जलविद्युत् आयोजनाबाट हुने गरेको छ । यस्तो संरचनाका कारण वर्षायाममा विद्युत् उत्पादन बढी हुने तर हिउँदमा नदीको बहाव घटेसँगै उत्पादनमा उल्लेख्य कमी आउने समस्या छ ।

यही मौसमी असन्तुलन कम गर्न सरकारले नयाँ ऊर्जा मिश्रणमा जलाशययुक्त र पम्प स्टोरेज आयोजनाको विकासलाई प्राथमिकता दिने तयारी गरेको छ । त्यस्तै, सौर्य तथा वायु ऊर्जाको योगदानसमेत बढाएर एउटै स्रोतमा निर्भर रहने अवस्थाको अन्त्य गर्ने लक्ष्य राखिएको छ ।

नयाँ नीतिले ऊर्जा उत्पादनको संरचना व्यवस्थित गर्नुका साथै पीपीएको प्रतीक्षामा रहेका आयोजनालाई लगानी जुटाउन र निर्माण प्रक्रिया अघि बढाउन सहज बनाउने अपेक्षा गरिएको छ । यसबाट जलविद्युत् क्षेत्रमा नयाँ लगानी आकर्षित हुने र उत्पादन क्षमताको विस्तारले गति लिने विश्वास सरकारको छ ।

त्यसैगरी, उत्पादन र मागबीचको मौसमी अन्तर कम गर्दै देशभित्रै विद्युत्को खपत बढाउने तथा अतिरिक्त ऊर्जा छिमेकी मुलुकमा निर्यात गर्ने सम्भावना पनि विस्तार हुनेछ । विशेष गरी भारत र बंगलादेशमा विद्युत् निर्यात बढाउन विविध स्रोतबाट वर्षभरि ऊर्जा उपलब्ध गराउने प्रणाली महत्त्वपूर्ण हुने देखिन्छ ।