कीवर्डहरू -

अब च्याटजीपीटीले नै चलाउनेछ तपाईंको एन्ड्रोइड फोन, कल गर्ने र मेसेज पठाउनेसम्मको सुविधा आउँदै

अब च्याटजीपीटीले नै चलाउनेछ तपाईंको एन्ड्रोइड फोन, कल गर्ने र मेसेज पठाउनेसम्मको सुविधा आउँदै

काठमाडौं । च्याटजीपीटी अब केवल प्रश्नको जवाफ दिने एआई च्याटबटमा सीमित नरहने भएको छ । ओपनएआईले यसलाई एन्ड्रोइड स्मार्टफोनको दैनिक प्रयोगसँग प्रत्यक्ष जोड्ने गरी नयाँ सुविधाहरू विकास गरिरहेको खुलासा भएको छ । यी सुविधा कार्यान्वयनमा आएमा प्रयोगकर्ताले च्याटजीपीटीकै सहायताले फोनका विभिन्न प्रणाली सञ्चालन गर्न सक्नेछन् ।

एन्ड्रोइड एपको पछिल्लो संस्करण १.२०२६.३२८ को कोड विश्लेषण गर्दा फोनका संवेदनशील सुविधासँग जोडिएका विभिन्न नयाँ पर्मिसन फेला परेका छन् । यसले च्याटजीपीटीलाई स्मार्टफोनको डिजिटल असिस्टेन्टका रूपमा थप शक्तिशाली बनाउने ओपनएआईको तयारी संकेत गर्छ ।

अहिलेसम्म एन्ड्रोइडमा च्याटजीपीटीलाई डिफल्ट डिजिटल असिस्टेन्ट बनाउन सकिए पनि यसको भूमिका मुख्यत: आवाजमार्फत कुराकानी गर्ने र प्रयोगकर्ताका प्रश्नको उत्तर दिनेमा सीमित थियो । नयाँ परिवर्तनसँगै यसको पहुँच फोनका सञ्चार तथा मिडिया प्रणालीसम्म विस्तार हुन सक्ने देखिएको छ ।

नयाँ कोडमा देखिएका विवरणअनुसार च्याटजीपीटीले प्रयोगकर्ताको कन्ट्याक्ट सूची र कल हिस्ट्री हेर्न सक्नेछ । त्यस्तै, प्रयोगकर्ताको निर्देशनअनुसार फोन कल गर्न तथा एसएमएस पढ्न र पठाउनसमेत सक्ने सम्भावना छ । यी काम गर्नुअघि भने प्रयोगकर्ताले सम्बन्धित अनुमति दिनुपर्ने व्यवस्था रहनेछ ।

फोनको मिडिया नियन्त्रण पनि सम्भावित नयाँ सुविधामध्ये एक हो । च्याटजीपीटीले स्मार्टफोनमा चलिरहेको गीत वा अन्य अडियो भिडिओ सामाग्री पहिचान गरी त्यसलाई पज गर्ने, पुन: सुरु गर्ने र अर्को ट्रयाकमा लैजाने काम गर्न सक्नेछ । यसका लागि एन्ड्रोइडको नोटिफिकेसन एक्सेस प्रयोग गरिने संकेत कोडमा भेटिएको छ ।

तर, यसको अर्थ च्याटजीपीटीले जुनसुकै म्युजिक एप आफैं खोल्ने र नयाँ गीत बजाउने भने होइन । उपलब्ध विवरणअनुसार यसले पहिलेदेखि नै सक्रिय रहेको मिडिया सेसनलाई मात्र नियन्त्रण गर्न सक्नेछ ।

त्यस्तै, प्रयोगकर्ताले मोबाइलको स्क्रिनमा के हेरिरहेका छन् भन्ने बुझेर त्यसैका आधारमा जवाफ दिने क्षमता पनि थपिन लागेको छ । एपको कोडमा ‘Use Screen and App Data’ नामको विकल्प भेटिनुले यो सुविधा विकास भइरहेको देखाउँछ । यसमार्फत स्क्रिनमा देखिएको सामग्रीलाई सन्दर्भ बनाएर प्रयोगकर्ताले थप प्रश्न गर्न सक्नेछन् । प्रत्येक नयाँ प्रश्नमा स्क्रिनको सामाग्री पुन: विश्लेषण गरिने व्यवस्था हुन सक्नेछ ।

यसैबीच, एपको कोडमा भेटिएको ‘Dot Card’ सम्बन्धी विवरणले ओपनएआईको डट्स एजेन्ट प्रणालीसँग पनि नयाँ एकीकरण हुन सक्ने संकेत गरेको छ । डट्स भने प्रयोगकर्ताको प्रत्यक्ष हस्तक्षेपबिना पनि पृष्ठभूमिमा विभिन्न काम गर्न सक्ने स्वचालित एआई एजेन्ट हुन् ।

कोडमा रहेका ‘allowedWhileLocked’ र ‘useDotAsAssistant’ नामका कन्फिगरेसनले यस प्रणालीलाई थप रोचक बनाएका छन् । यी विकल्पले फोन लक भएको अवस्थामा समेत डट्स प्रयोग गर्न सकिने तथा यसलाई मुख्य डिजिटल असिस्टेन्टका रूपमा सञ्चालन गर्न सकिने सम्भावना देखाउँछन् ।

यद्यपि, एपको कोडमा नयाँ पर्मिसन र सुविधासम्बन्धी विवरण भेटिनु तिनको सार्वजनिक उपलब्धताको सुनिश्चितता होइन । ओपनएआईले यी सुविधा कहिले सार्वजनिक गर्ने, सबै सुविधा अन्तिम संस्करणमा समावेश हुने वा नहुने भन्नेबारे अहिलेसम्म आधिकारिक जानकारी दिएको छैन ।

यदि यी सबै सुविधा कार्यान्वयनमा आए भने एन्ड्रोइडमा च्याटजीपीटीको भूमिका सामान्य एआई सहायकबाट स्मार्टफोनका विभिन्न काम आफैं गर्न सक्ने डिजिटल असिस्टेन्टसम्म विस्तार हुनेछ ।