पोखरा । पोखराका २८ जना युवाले पाँच दिनको तालिममा कृत्रिम बुद्धिमत्ता (एआई) को सहयोगमा विभिन्न कार्यशील सफ्टवेयर निर्माण गरेका छन् । गण्डकी प्रदेशका विभिन्न स्थानबाट सहभागी युवाले स्थानीय समस्या पहिचान गरी त्यसको समाधान गर्ने उद्देश्यले सफ्टवेयर तयार पारेका हुन् । उनीहरूले निर्माण गरेका सफ्टवेयर पोखरा महानगरपालिकाका नगरप्रमुख धनराज आचार्यसमक्ष प्रस्तुत गरेका छन् ।

Leapfrog Connect ले युरोपेली संघको आर्थिक सहयोगमा सञ्चालित CODE (Creating Opportunities for Youth in Digital Economy) परियोजनाअन्तर्गत आयोजना गरेको ‘एआई असिस्टेड सफ्टवेयर इन्जिनियरिङ ट्रेनिङ’ को दोस्रो संस्करणमा सहभागी युवाले यस्तो उपलब्धि हासिल गरेका हुन् ।
तालिम नोभेम्बर २२ देखि २७ सम्म सञ्चालन भएको थियो । सुरुमा २० जनाका लागि योजना बनाइएको तालिममा १०० भन्दा बढी आवेदन परेपछि २८ जना युवा छनोट गरिएको आयोजकले जनाएको छ । तालिममा महिला तथा सीमान्तकृत समुदायका युवाको समेत सन्तुलित सहभागिता थियो ।
तालिममा सहभागीहरूले सफ्टवेयर विकासका विभिन्न चरणमा एआईको प्रयोग गरेका थिए । उनीहरूले स्थानीय समस्या पहिचान र अनुसन्धानदेखि उत्पादन आवश्यकता दस्तावेज (पीआरडी) तयार गर्ने, सफ्टवेयरको आर्किटेक्चर तथा डिजाइन बनाउने, कोड लेख्ने, परीक्षण र गुणस्तर जाँच गर्ने तथा सीआई/सीडीमार्फत एप अनलाइन सार्वजनिक गर्नेसम्मका काम गरेका थिए ।
अन्तिम दिन सहभागीहरूले आफूले निर्माण गरेका उत्पादनको प्रस्तुतीकरण गरेका थिए । यस क्रममा उद्योग तथा प्रविधि क्षेत्रका विज्ञहरूले अनलाइनमार्फत विशेष सत्रसमेत सञ्चालन गरेका थिए ।
सहभागी समूहहरूले स्वास्थ्य, शिक्षा, साना तथा मझौला व्यवसाय, सेवा बजार र पर्यटन क्षेत्रका समस्या समाधान गर्ने सफ्टवेयर निर्माण गरेका छन् । स्वास्थ्य क्षेत्रका लागि हस्तलिखित प्रेस्क्रिप्सनको तस्बिरबाट औषधि सेवनको समय सम्झाउने र फलोअप सूचना दिने प्रणाली बनाइएको छ ।
त्यसैगरी, साना व्यवसायका लागि बिक्री, उधारो र स्टक व्यवस्थापन गर्ने सफ्टवेयर, घरायसी सहयोगी तथा कोठा र रुममेट खोज्न सघाउने सेवा बजार प्लेटफर्म र पोखराका साहसिक पर्यटन गतिविधि, मूल्य तथा समीक्षाको जानकारी दिने डाइरेक्टरी तयार पारिएको छ । शिक्षा क्षेत्रमा शिक्षकले नोट, क्विज र गृहकार्य राख्न तथा विद्यार्थीले प्रयोग गर्न सक्ने डिजिटल प्लेटफर्मसमेत निर्माण गरिएको छ ।

डेमो डे पोखरास्थित व्यवसाय प्रवर्द्धन केन्द्र (बीपीसी) को सभागृहमा आयोजना गरिएको थियो । कार्यक्रममा पोखरा महानगरपालिकाका नगरप्रमुख धनराज आचार्य, प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल र व्यवसाय प्रवर्द्धन केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारी सहभागी थिए । प्रत्येक समूहले आफ्नो कार्यशील सफ्टवेयर अतिथिहरूको प्यानलसमक्ष प्रस्तुत गरेको थियो ।
कार्यक्रममा नगरप्रमुख आचार्यले एआईले युवाका लागि नयाँ अवसर सिर्जना गरिरहेको बताए । उनले युवालाई एआईको सिकाइ र प्रयोगमा लगानी गर्न तथा विश्व बजारमा उपलब्ध व्यवसाय र सीपका अवसर खोज्न आग्रह गरे ।
प्रविधिमा संलग्न युवाले सामाजिक र व्यावसायिक ज्ञानसमेत विकास गर्नुपर्ने उनको भनाइ थियो । पोखराबाटै विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने उत्पादन निर्माण गर्ने युवालाई महानगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।
कार्यक्रममा सिरियल उद्यमी तथा Veda र Karobar एपका संस्थापक निर्देश द्वाले एआईले सफ्टवेयर निर्माणको समय उल्लेख्य रूपमा घटाएको बताए । एआईका कारण महिनौँ लाग्ने उत्पादन विकासको काम केही दिनमै सम्भव हुन थालेको उनको भनाइ थियो ।
यद्यपि, वास्तविक व्यावसायिक ज्ञान उत्पादन निर्माण गरेर बजारमा पुर्याउने क्रममा मात्रै हासिल हुने उनले उल्लेख गरे । सही एआई उपकरणको प्रयोग र स्पष्ट लक्ष्यका साथ युवाका लागि व्यवसाय सुरु गर्ने अवसर सहज बनेको पनि उनले बताए ।

तालिमको नेतृत्व Leapfrog Connect का प्रमुख प्रशिक्षक अङ्कुर शर्मा, अनुपमा राई, प्रशान्त गायक र रसिक कोइरालाले गरेका थिए । सिरियल उद्यमी निर्देश द्वा र Leapfrog Connect का एकेडेमिक डाइरेक्टर किरण कुमार रेग्मीले पनि विशेष सत्र सञ्चालन गरेका थिए । ती सत्रमा एआईको प्रयोगबाट उत्पादन निर्माण गर्ने तथा एआईको युगमा आफ्नो पोर्टफोलियो र करियर विकास गर्ने विषयमा प्रशिक्षण दिइएको थियो ।
प्रशिक्षक प्रशान्त गायक र रसिक कोइरालाले छोटो अवधिमै सहभागीले देखाएको प्राविधिक क्षमता र कामको स्तरबाट आफूहरू प्रभावित भएको बताए । तालिमपछि पनि सफ्टवेयर निर्माणका क्रममा आउने प्राविधिक समस्यामा सहभागी समूहलाई सहयोग गर्न तयार रहेको उनीहरूले बताएका छन् ।
सहभागी अनुजा लामिछानेले तालिमले एआईमार्फत सफ्टवेयर विकास गर्ने व्यावहारिक ज्ञान हासिल गर्ने अवसर दिएको बताइन् । नयाँ विधि र उपकरण सिक्नुका साथै विचार आदानप्रदान गर्न र एआईले सफ्टवेयर विकास क्षेत्रमा ल्याइरहेको परिवर्तन बुझ्न तालिम उपयोगी भएको उनको भनाइ थियो ।
CODE परियोजनालाई युरोपेली संघको आर्थिक सहयोग रहेको छ । Swisscontact, Restless Development र Robotics Association of Nepal (RAN) ले परियोजनामा सहकार्य गरिरहेका छन् । तालिमका लागि ला ग्रान्डी इन्टरनेसनल कलेजले स्थल साझेदारी गरेको थियो भने पोखरा महानगरपालिका र व्यवसाय प्रवर्द्धन केन्द्र स्थानीय साझेदारका रूपमा रहेका थिए ।
यसअघि यही परियोजनाअन्तर्गत पहिलो संस्करणको तालिम वीरगञ्जमा सञ्चालन गरिएको थियो । पोखरामा सम्पन्न कार्यक्रम उक्त तालिमको दोस्रो संस्करण हो ।
आईसीटी समाचार