कीवर्डहरू -

दूरसंचार

निषेधाज्ञामा इन्टरनेट खपत बढ्यो, पिक आवरमा एक टीबीपीएससम्म इन्टरनेट खपत

गत हप्तादेखि जारी निषेधाज्ञाका कारण इन्टरनेटको खपत बढेको छ । भौतिक रूपमा कार्यालय तथा विद्यालय सञ्चालन सम्भव नभएपछि अभौतिक गतिविधि बढ्दा इन्टरनेट ब्यान्डविथको खपत सामान्य दिनको तुलनामा ३० प्रतिशतले बढेको इन्टरनेट सेवाप्रदायक सङ्घ नेपाल (आईस्पान) का अध्यक्ष सुधिर पराजुलीले जानकारी दिए ।

घरमै बस्दा पनि अन्य समयको तुलनामा इन्टरनेटको प्रयोग बढ्ने हुनाले ब्यान्डविथ खपत बढिरहेको उनले बताए । उनका अनुसार दिनमै पनि अन्य दिनको पिक आवरजस्तै ब्यान्डविथ खपत भइरहेको छ ।

निषेधाज्ञाअघि पिक आवरभन्दा अन्य समयमा औसतमा छ सय जीबीपीएससम्म ब्यान्डविथ खपत हुने गरेकामा अहिले त्यस्तो खपत दिउँसो नै नौ सय जीबीपीएससम्म पुगेको पराजुलीले जानकारी दिए ।

पिक आवरमै भने एक टीबीपीएससम्म इन्टरनेट खपत भइरहेको छ । सामान्यतः साँझ ७ बजेदेखि राति १० बजेसम्मको समयलाई नेपालको इन्टरनेट प्रयोगका हिसाबले पिक आवर मानिन्छ । सामान्य दिनमा यो समयमा इन्टरनेटको प्रयोग दिउँसोभन्दा अत्यधिक बढी हुन्छ ।

सरकारले वैशाख १६ गतेयता काठमाडौँ उपत्यकामा निषेधाज्ञा घोषणा गरेको छ । यसबाहेक देशका विभिन्न जिल्लामा पनि निषेधाज्ञा जारी भइरहेको छ । कोरोना सङ्क्रमणको गति बढिरहँदा निषेधाज्ञा बढ्न सक्ने सम्भावनाका आधारमा इन्टरनेटको खपत पनि त्यहीअनुसार बढ्ने देखिन्छ ।

अनलाइनबाटै पढाइ तथा कार्यालयका काम, गेमिङ तथा भिडियो कन्टेन्टको प्रयोग बढ्दा ब्यान्डविथ खपत पनि त्यसैअनुसार बढेको हो ।

गत वर्ष कोरोना सङ्क्रमणका कारण जारी बन्दाबन्दीमा पनि नेपालमा इन्टरनेटको प्रयोग अत्यधिक बढेको थियो । त्यतिबेला अर्थात् बन्दाबन्दी जारी भएकै दिन २०७६ चैत ११ गते इन्टरनेटको प्रयोग दोब्बर बढेको थियो ।

ब्यान्डविथ अत्यधिक प्रयोग हुँदा सेवा प्रदायकहरूले मनोरञ्जनात्मक गतिविधिका लागि इन्टरनेटको प्रयोग घटाउन आग्रह नै गर्नुपरेको थियो ।

इन्टरनेटका लागि आवश्यक ब्यान्डविथ नेपालले भारतबाट आयात गर्छ । भारतका टाटा, एयरटेलजस्ता क्यारियरमार्फत ब्यान्डविथ खरिद गर्दै आएको छ । यस्तो ब्यान्डविथ केही सेवा प्रदायकले नेपाल भित्राएर अन्य सेवा प्रदायकलाई बिक्री गर्दै आएका छन् ।

नेपाल टेलिकम र वर्ल्डलिंक नेपालमा इन्टरनेट ब्यान्डविथ भित्र्याउने ठूला सेवा प्रदायक हुन् । नेपालले वार्षिक करिब दुई अर्बको ब्यान्डविथ आयात गर्छ ।

नेपालका नेटवर्क सेवा प्रदायक समूहको तथ्याङ्कअनुसार नेपालभित्र खपत हुने कुल इन्टरनेटमध्ये करिब ८० प्रतिशत ब्यान्डविथ गुगल र फेसबुक प्रयोगमै हुन्छ । गुगलको प्रयोगमा करिब ५० प्रतिशत र फेसबुकमा ३० प्रतिशत ब्यान्डविथ खपत भइरहेको छ ।

यसबाहेक समाचारजन्य अनलाइन सामग्रीमा ८ प्रतिशत, टिकटक, अकामाई र इन्टरनेट सेवा प्रदायकको कन्टेन्टमा २÷२ प्रतिशत ब्यान्डविथ खपत हुने पाइएको छ ।

अन्तर्राष्ट्रिय इन्टरनेट ट्राफिकमा पनि गुगल र फेसबुक प्रयोगमै बढी ब्यान्डविथ खपत भएको समूहको तथ्याङ्क छ । कुल ब्यान्डविथमध्ये गुगलमा ३२ प्रतिशत, फेसबकुमा २४ प्रतिशत खपत हुने पाइएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको मङ्सिरसम्मको तथ्याङ्कअनुसार देशको कुल जनसङ्ख्यामध्ये दुई करोड ५४ लाख व्यक्ति इन्टरेटको पहुँचमा छन् ।

त्यसमध्ये एक करोड ८५ लाखले मोबाइलबाट इन्टरनेटको प्रयोग गर्छन् । त्यस्तै ६० लाखले फिक्स्ड ब्रोडब्यान्ड प्रयोग गर्छन् । फोरजी प्रयोग गर्नेको सङ्ख्या ७० लाख नाघेको छ । गोरखापत्र

दूरसंचार

भायनेटले ग्राहकलाई दियो यस्ता सुझाब, मोबाइल एप र डिजिटल भुक्तानी प्रयोग गर्न आग्रह 

निषेधाज्ञाको बेला भौतिक उपस्थितिभन्दा आफ्नो मोबाइल एप र कम्पनीले उपलब्ध गराएका भुक्तानी प्रणालीको प्रयोग गर्न इन्टरनेट …

वर्ल्डलिंकले अब जुम पनि उपलब्ध गराउने, यस्ता छन् प्याकेज

नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले भिडियो कन्फेरेन्सिङ प्…

के स्मार्ट टेलिकमको सेयर जापानी कम्पनी ओसीसीले किन्न लागेको हो ? यस्तो छ उसको प्रतिक्रिया 

नेपालको स्मार्ट टेलिकम कम्पनीको बहुमत सेयर जापानी कम्पनी ओसियन केवल एण्ड कम्युनिकेशन (ओसीसी कर्पोरेशन)ले किन्न लागेक…

प्राधिकरणको निर्देशन पालना भएन, अझै पनि सबै इन्टरनेट कम्पनीले राखेनन् टोल फ्री नम्बर 

नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले दश महिना अघि इन्टरनेट सेवा प्रदायकहरुलाई अनिवार्यरुपमा ‘टोल फ्री’ नम्बर रा…