कीवर्डहरू -

स्टार्टअप उद्यम कर्जाका लागि ३९४ प्रस्ताव मात्रै योग्य, बाँकी प्रस्ताव किन भए अयोग्य ?

स्टार्टअप उद्यम कर्जाका लागि ३९४ प्रस्ताव मात्रै योग्य, बाँकी प्रस्ताव किन भए अयोग्य ?

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जाका लागि योग्य सूचीमा परेका ३९४ प्रस्तावहरू सार्वजनिक गरेको छ । गत माघ १९ गतेदेखि फागुन १० गतेसम्म प्रतिष्ठानले आह्वान गरेकोमा प्राप्त प्रस्तावहरू मध्येबाट ३९४ प्रस्तावहरू योग्य सूचीमा परेका हुन् । 

स्टार्टअप उद्यम कर्जाका लागि १६५८ वटा प्रस्ताव प्राप्त भएका थिए । १६५८ वटा प्रस्तावबाट योग्य सूचीमा परेका ३९४ वटा परियोजनाहरूलाई व्यवसायीक प्रस्तुतिकरणको लागि बोलाइएको छ । 
वैशाख १७ गतेदेखि जेठ ३ गतेसम्म योग्य प्रस्तावकहरूको व्यवसायीक प्रस्तुतिकरणको समय तोकिएको छ । आफ्नो प्रस्तुतिकरण तोकिएको समय र मिति समयमा गएर गर्न सकिने छ ।  

योग्य सूचीमा परेका प्रस्तावका प्रस्तावकहरूले प्रस्तुतीकरण गर्दा संलग्नबमोजिमको ढाँचामा केन्द्रित भई प्रस्तुतीकरण गर्नुपर्नेछ । प्रस्तुतीकरण सकेसम्म प्रस्ट, बुँदागत र स्र्टाटअप उद्यम कर्जाका लागि पेश गरिएको परियोजना प्रस्ताव अनुसार हुनुपर्ने प्रतिष्ठानले जनाएको छ ।

प्रस्तुतीकरण पावरप्वाइन्टका माध्यमबाट वा कागजमा लेखेर गर्न सकिनेछ । प्रस्तुतीकरणको एक प्रति मूल्याङ्कन समितिलाई बुझाउनुपर्नेछ । प्रस्तुतीकरणका लागि बढीमा १० मिनेट समय दिइनेछ भने प्रस्तुतीकरणका लागि प्रकाशित सूचनाअनुसार तोकिएको मिति र समयमा उपस्थित भई प्रस्तुतीकरण गर्नुपर्नेछ । 

सूचनामा दिइएको प्रस्तुतीकरण समय तालिका (मिति र समय) यकिन गरी आफूले प्रस्तुतीकरण गर्ने दिन र समयको ठिक आधा घण्टाअघि औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, त्रिपुरेश्वरमा नाम दर्ता र हस्ताक्षर गरिसक्नुपर्नेछ । 

यदि कुनै कारणवश तोकिएको मिति र समयमा उपस्थिति हुन नसकेमा अर्को व्यवस्था हुने छैन । प्रस्तुतीकरणका लागि आधिकारिक प्रस्तावक स्वयं उपस्थित हुनुपर्नेछ । 
यदि आधिकारिक (प्रस्तावकले प्रस्तुतीकरण गर्न नसक्ने मनासिव कारण देखाएमा आधिकारिक प्रस्तावकको उपस्थितिमा उक्त परियोजनामा प्रत्यक्ष संलग्न व्यक्ति (प्रतिनिधि) लाई प्रस्तुतीकरण गर्ने मौका दिइने छ ।

प्रस्तुतीकरणका समयमा व्यवसाय दर्ता र नवीकरणको सक्कल प्रमाणपत्र, PAN/VAT दर्ताको सक्कल प्रमाणपत्र, करचुक्ता २०७९/८० को सक्कल प्रमाणपत्र (नयाँ दर्ता भएका व्यवसायका लागि आवश्यक नपर्ने), आधिकारिक प्रस्तावकको नागरिकता प्रस्तुतीकरणको १ प्रति कागजात लिएर आउनु पर्नेछ । 

प्रस्तुतीकरणका लागि आउने-जाने लगायत अन्यं सम्पूर्ण खर्च प्रस्तुतकर्ता स्वयंले बेहोर्नुपर्ने प्रतिष्ठानको भनाइ छ । परियोजना छनोटका लागि प्रभावमा पार्न मूल्याङ्कन समितिलाई विभिन्न प्रकारका धाकधम्की, प्रलोभन, अनुरोध आदिको प्रयास गरी बारम्बार फोन, सम्पर्क, सामाजिक सञ्जाल मार्फत सूचना सम्प्रेषण गरेको पाइएमा त्यस्ता परियोजना प्रस्ताव स्वत रद्ध हुने समेत बताइएको छ ।

किन भए अन्य प्रस्ताव अयोग्य ? 

स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८० बमोजिम प्रतिष्ठानले मापदण्ड नपुगेका प्रस्तावहरूलाई अयोग्य सूचीमा राखिएको थियो । 

कुनै वस्तु वा सेवाको उत्पादन वा सञ्चालन वा वितरण प्रक्रियामा नवीन प्रविधि एवम् सृजनशील सोचको प्रयोग नदेखिएको र व्यवसाय दर्ता गर्ने निकायको रूपमा कानुनबमोजिम उद्योग विभाग, प्रदेश उद्योग दर्ता गर्ने निकाय र स्थानीय तहले काम सम्पादन गर्ने भएकाले उल्लिखित निकायबाट दर्ता नभएका प्रस्ताव योग्य सूचीमा नपरेको प्रतिष्ठानले जानकारी दिएको छ । 

यस्तै उल्लेखित प्रस्तावको साथमा संलग्न गर्नुपर्ने कागजातमध्ये ‘उद्योगको दर्ता/नवीकरणको प्रमाणपत्र प्रतिलिपि’, ‘स्थायी लेखा नम्बरको प्रमाणपत्रको प्रतिलिपि’, ‘अघिल्लो आ.व. २०७९/८० को करचुक्ता प्रमाणपत्रको प्रतिलिपि’ रहेकोमा सो बमोजिम कागजात संलग्न नगरेको प्रस्ताव योग्य सूचीमा परेका छैनन् । 

पूँजी नखुलेको, रितपूर्वक प्रस्ताव फाराम नभरेको वा आंशिक भरेको, एक उद्यमीले एकभन्दा वढी प्रस्ताव पेश गरेको, मूल्याङ्कनकर्ताले प्रस्ताव उपर अध्ययन गर्दा प्रस्तावका विवरण/उद्देश्य स्पष्ट नखुलेको, विगतमा गरेको कार्य कतै उल्लेख नभएको र पेश गरेको कागजातमा कारोवार गरिरहेको नदेखिएको प्रस्ताव योग्य सूचीमा नपरेको प्रतिष्ठानले स्पष्ट पारेको छ । 

कसरी हुन्छ कर्जा सिफारिस ? 

छनौट भएका योग्य प्रस्तावहरूले आफ्नो परियोजनाको व्यवसायीक प्रस्तुतीकरण दिनुपर्नेछ ।

प्रस्तुतीकरण गरेका परियोजनाहरूलाई बैङ्कमार्फत क्रेडिट अप्राइजल गरी पचास अङ्कभन्दा बढी ल्याउनेलाई अङ्कको आधारमा कर्जाको लागि सिफारिस गरिने छ ।

सिफारिसमा परेका उद्यमीहरूले राष्ट्रिय वाणिज्य बैङ्कसँग सम्झौता गरी बैङ्कको नियमानुसार साँवा र ब्याज रकम तोकिएको समयमा ऋण चुक्ता गरिसक्नुपर्ने छ । 

सिफारिस भएका उद्यमीले ३ प्रतिशत ब्याजदरमा २५ लाखसम्म कर्जाको सुविधा पाउने छन् । 

यस्ता छन् योग्य प्रस्तावहरू