कीवर्डहरू -

कम्प्युटर स्लो चलिरहेको छ ? यस्तो हुन सक्छ कारण र समाधान

कम्प्युटर स्लो चलिरहेको छ ? यस्तो हुन सक्छ कारण र समाधान

काठमाडौं । कम्प्युटर अन गरेपछि लामो समयसम्म खुल्नै नमान्ने, सफ्टवेयर चलाउन समय लाग्ने वा सामान्य काम गर्दा पनि सिस्टम सुस्त महसुस हुने समस्या धेरै प्रयोगकर्ताले भोगिरहेका हुन्छन् । यसको एउटा कारण कम्प्युटर सुरु हुनेबित्तिकै स्वचालित रूपमा चल्न थाल्ने स्टार्टअप प्रोग्राम पनि हुन सक्छ ।

स्टार्टअप प्रोग्राम भनेका कम्प्युटर अन हुनेबित्तिकै आफैं चल्ने सफ्टवेयर हुन् । आवश्यक प्रोग्रामसँगै अनावश्यक एप्लिकेसन पनि स्टार्टअपमा राखिएको छ भने कम्प्युटर सुरु हुँदा एकैपटक धेरै प्रोग्राम सक्रिय हुन्छन् । यसले सिस्टमको मेमोरी र अन्य स्रोतमा अतिरिक्त भार पार्न सक्छ ।

त्यसैले कम्प्युटर सुरु हुना साथ चल्नैपर्ने प्रोग्राम मात्र स्टार्टअपमा राख्नु उपयोगी हुन्छ । प्रयोगमा नआउने सफ्टवेयरलाई स्टार्टअपबाट हटाउँदा कम्प्युटर बुट हुने समय घट्न र समग्र प्रदर्शनमा सुधार आउन सक्छ ।

स्टार्टअपमा कुन प्रोग्राम चलिरहेका छन् भनेर कसरी हेर्ने ?
विन्डोजका विभिन्न संस्करणमा स्टार्टअप व्यवस्थापन गर्ने तरिका फरक हुन सक्छ । नयाँ विन्डोज संस्करणमा यसको सबैभन्दा सजिलो उपाय Task Manager प्रयोग गर्नु हो ।

यसका लागि:
- Ctrl + Shift + Esc थिचेर Task Manager खोल्नुहोस् ।
- Startup apps विकल्पमा जानुहोस् ।
- कम्प्युटर सुरु हुँदा स्वचालित रूपमा चल्ने एपहरूको सूची हेर्नुहोस् ।
- आवश्यक नपर्ने र आफूले चिनेका एपमा दायाँ क्लिक गरी Disable चयन गर्नुहोस् ।

कुनै एप स्टार्टअपमा कति प्रभाव पारिरहेको छ भन्ने जानकारी पनि केही विन्डोज संस्करणमा Startup impact का रूपमा देख्न सकिन्छ । ‘High impact’ भएका अनावश्यक एपले कम्प्युटर सुरु हुने प्रक्रियामा तुलनात्मक रूपमा बढी समय लिन सक्छन् ।

सबै प्रोग्राम डिसेबल गर्नु भने हुँदैन
स्टार्टअप सूची देखियो भन्दैमा सबै एप बन्द गर्नु उचित हुँदैन । सुरक्षा सफ्टवेयर, हार्डवेयर ड्राइभर वा सिस्टम सञ्चालनका लागि आवश्यक एपलाई अनावश्यक रूपमा डिसेबल गर्दा समस्या आउन सक्छ ।

आफूलाई थाहा नभएको प्रोग्रामलाई हटाउनुअघि त्यसले के काम गर्छ भन्ने बुझ्नु आवश्यक हुन्छ । विशेष गरी एन्टिभाइरस, ड्राइभर र सिस्टमसँग सम्बन्धित एपलाई सावधानीपूर्वक मात्र व्यवस्थापन गर्नुपर्छ ।

त्यसैगरी, कुनै एपलाई स्टार्टअपबाट Disable गर्नु भनेको त्यसलाई कम्प्युटरबाट अनइन्स्टल गर्नु होइन । आवश्यकता परेमा उक्त एपलाई पछि पुन: स्टार्टअपमा Enable गर्न सकिन्छ ।

त्यसैले कम्प्युटर सुस्त भएको अवस्थामा नयाँ सफ्टवेयर थप्नुभन्दा पहिले स्टार्टअपमा अनावश्यक रूपमा चलिरहेका एपको सूची जाँच गर्नु पनि उपयोगी उपाय हुन सक्छ ।