कीवर्डहरू -

सचिव प्रमिलादेवी शाक्य बज्राचार्य अनिवार्य अवकाशमा, डिजिटल ई-पेन्सन सेवा प्राप्त

सचिव प्रमिलादेवी शाक्य बज्राचार्य अनिवार्य अवकाशमा, डिजिटल ई-पेन्सन सेवा प्राप्त

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयकी सचिव प्रमिलादेवी शाक्य बज्राचार्य पाँच वर्षे सचिव पदको कार्यकाल पूरा गरी मङ्गलबारदेखि अनिवार्य अवकाशमा गएकी छन् । नेपालको निजामती सेवा व्यवस्थाअनुसार सचिव पदमा पाँच वर्षको कार्यकाल पूरा गरेपछि उनी अनिवार्य अवकाशमा गएकी हुन् ।

इन्जिनियरिङ क्लस्टरबाट सचिव पदमा पुगेकी बज्राचार्यले आफ्नो कार्यकालको उत्तरार्धमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नेतृत्व गरेकी थिइन् । यसअघि उनले खानेपानी मन्त्रालयमा समेत लामो समय विभिन्न जिम्मेवारी सम्हालेकी थिइन् ।

अवकाशसँगै बज्राचार्यले राष्ट्रिय किताबखानाले विकास गरी सञ्चालनमा ल्याएको ई-पेन्सन मोड्युलमार्फत वन टाइम एक्सेस प्रयोग गरी डिजिटल माध्यमबाट ई-पेन्सन सेवा प्राप्त गरेकी छन् । यस प्रणालीमार्फत पेन्सनसम्बन्धी सेवा थप सहज, छिटो र कागजरहित रूपमा उपलब्ध गराउने उद्देश्य राखिएको राष्ट्रिय किताबखानाले जनाएको छ ।

राष्ट्रिय किताबखानाले आफ्ना अधिकांश सेवालाई डिजिटल तथा फेसलेस प्रणालीमा रूपान्तरण गर्दै आएको छ । ई-पेन्सन सेवा पनि सोही डिजिटल रूपान्तरण अभियानअन्तर्गत सञ्चालनमा ल्याइएको सेवा हो, जसले अवकाश प्राप्त कर्मचारीलाई कार्यालयमा धाउनुपर्ने झन्झटबाट मुक्ति दिने अपेक्षा गरिएको छ ।

बज्राचार्य सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको प्रवर्द्धनमा पनि सक्रिय रहँदै आएकी थिइन् । बज्राचार्य आईसीटी अवार्डको सल्लाहकारका रूपमा समेत आबद्ध रहेर नेपालको डिजिटल रूपान्तरण, प्रविधिमैत्री नीति र नवप्रवर्तन प्रवर्द्धनमा योगदान दिँदै आएकी थिइन् ।