कीवर्डहरू -

१५ सय तिर्न नसकेर स्कूलबाट निकालिए, पेपाल र एप्पलको हेडक्वार्टरमा काम पाए

कामसँगै समाजिक सेवामा समर्पित

१५ सय तिर्न नसकेर स्कूलबाट निकालिए, पेपाल र एप्पलको हेडक्वार्टरमा काम पाए

कल्पना गर्नुस् त, १५ सय शुल्क तिर्न नसकेर विद्यालयबाट निकालिएको एउटा व्यक्ति विश्वप्रशिद्ध प्रविधि कम्पनी एप्पलमा काम गर्न सक्छ होला ? झट्ट सुन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । सम्भव होला र ? जस्तो लाग्छ । तर, काठमाडौंका क्षितिजराज लोहनी को हकमा भने यो सम्भव भइदियो ।

कुनै समय १५ सय शुल्क तिर्न नसकेर विद्यालयबाट निकालिएका क्षितिज अहिले एप्पलमा सफ्टवेयर इन्जिनियरको रूपमा कार्यरत छन् । एप्पल विश्वको नम्बरवान प्रविधि कम्पनी हो, जहाँ सूचना प्रविधिमा चासो राख्ने जो कोहीलाई काम गर्ने इच्छा हुन्छ ।

एलन मस्कले स्थापना गरेको पेपालमा पनि क्षितिजले काम गरेका थिए । सानैदेखि पढाइमा खासै रूची नराख्ने क्षितिजको एप्पलसम्मको यात्रा साच्चिकै प्रेरणादायी छ । यो बीचमा उनले धेरै आरोह अवरोह छिचोलेका छन् ।

आफ्नो अनुभव अरूलाई बाँड्न पाउँदा क्षितिज खुसीको अनुभूति गर्छन् । समाजसेवामा खास रूची राख्ने उनी धेरै नेपालीका लागि प्रेरणाको स्रोत र भरोसाको केन्द्रविन्दु हुन् ।

शुल्क तिर्न नसकेर विद्यालयबाट निकालिए

क्षितिजको पुर्खौली घर नुवाकोट हो । तर, उनी भने काठमाडौं र विराटनगरमा हुर्किए । विराटनगर उनको मामाघर हो । मध्यम आय स्तर भएको परिवारमा जन्मिएका क्षितिजले स्नातकसम्मको अध्ययन गरेका छन् ।

क्षितिजको बाल्यकाल सुख र दुख दुवै तरिकाले बित्यो । पढाइमा भने उनको सधैं उतार-चढाव रह्यो । स्नातक तहसम्मसम्म उनले ८ वटा विद्यालय परिवर्तन गरिसकेका थिए । कुनै विद्यालयबाट आफै निक्लिए भने कुनै विद्यालयबाट शुल्क तिर्न नसकेर निकालिएँ ।

मध्यम स्तरको परिवार भए पनि बीचमा समस्या आउँदा उनीसँग विद्यालयको १५ सय शुल्क तिर्न सक्ने पैसा थिएन । शुल्क तिर्न नसकेर विद्यालयबाट निकालिएको घटना अझै पनि मानसपटलमा घुमिरहेको लोहनी बताउँछन् । त्यो बेला उनी कक्षा ६ मा पढिरहेका थिए ।

‘विद्यालयमा शुल्क तिर्न बाँकी थियो। एकदिन सहायक प्रधानध्यापकले फोन गरेर तिम्रो शुल्क तिर्न बाँकी छ भन्नुभयो,’ त्यो दिन सम्झिदै उनी भन्छन्, ‘यदि शुल्क तिर्न नसक्ने भए परीक्षा दिन नआए हुन्छ भनेर भन्नुभयो । त्यसपछि परीक्षा दिन गइन्, घरमै बसे । किनकी मसँग शुल्क तिर्ने पैसा थिएन ।’

त्यसपछि पढाइमा उनको रूची कम हुन थाल्यो । तर परिवारको सपोर्ट भने राम्रो थियो । पढाइमा राम्रो नभए पनि अरूमा राम्रो गर्न सक्छ भन्ने मान्यता परिवारको थियो ।

काम गर्दै क्षितिजराज लोहनी

पढाइमा रूची नगएकोप्रति उनी कहिलेकाँही पछुतो मान्छन् । पढाइ बाहेक प्राय सबै काम गरेका छन् । तेक्वान्डो, कराते, जिम्न्यास्टिक, डान्सलगायत सिकेका छन् । उनी अगाडि भन्छन्, ‘बाल्यकालको पछुतो केही पनि छैन । दु:ख पनि देख्न पाइयो, सुख पनि भोग्न पाइयो ।’

शुल्क तिर्न नसक्ने भए परीक्षा दिन नआए हुन्छ भनेर सहायक प्रधानध्यापकले भनेपछि क्षितिज परीक्षा दिन गएनन् । घरमै बसे । घरमा बसिरहेकै बेला स्मरणशक्ति बढाउने तालिम लिए । धेरै शब्द स्मरण गरेर राष्ट्रिय रेकर्ड राख्ने योजना बनाए । त्यसपछि २०६१ सालमा एक पटक सुनेर १२५ वटा शब्द स्मरण गरेका थिए ।

तत्कालिन नेपाल राजकीय विज्ञान तथा प्रविधि प्रतिष्ठानका उपकुलपति स्व. प्रा. डा. दयानन्द बज्रचार्यको सुपरीवेक्षणमा करिब १०० जनाको उपस्थितिमा उक्त कीर्तिमानी राख्न सफल भएका थिए ।

जब उनले १२५ शब्द स्मरण गरेर राष्ट्रिय कीर्तिमानी राखे तब नोबेल एकेडेमीका डा. जयराज आचार्यले क्षितिज र उनको बहिनीलाई निःशुल्क छात्रवृत्ति दिने बताए ।

‘यस्तो ट्यालेन्टलाई खेर जान दिनु हुँदैन् भनेर बहिनी र मलाई निःशुल्क पढाउने योजना जयराज सरले सुनाउनु भयो । त्यसपछि नोबेलमा कक्षा ९ र १० पूर्ण छात्रवृत्तिमा पढ्यौं । मेरो लागि जयराज सर ‘गड फादर’ नै हुनुहुन्छ,’ क्षितिज सुनाउँछन् ।

लोहनीले राष्ट्रिय कीर्तिमानी कायम गरेको प्रमाणपत्र

१८ वर्ष अगाडि नै १२५ शब्द स्मरण गरेर राष्ट्रिय कीर्तिमानी राखेका उनलाई कता-कता वर्ल्ड च्याम्पियनशीपसम्म जानुपर्थ्यो की जस्तो लागेको थियो ।

३ करोड बढीको छात्रवृत्ति

नोबेलमा ९ र १० कक्षासम्मको अध्ययन पूरा गरेपछि क्षितिज छात्रवृत्तिमै ए लेभल पढ्न चेल्सी कलेज गए । चेल्सीमा पढ्दा-पढ्दै उनले पूर्ण छात्रवृत्तिका लागि अमेरिकाको नर्थ इस्टर्न विश्वविद्यालयमा पूर्ण छात्रवृत्तिका लागि आवेदन दिए । पूर्ण छात्रवृत्तिका लागि आवेदन दिदाँ उनले एक रूपैयाँ पनि दिन सक्दिन्न भनेर भनेका थिए ।

त्यसो त कक्षा १० उतीर्ण भएपछि क्षितिजले ट्युसन पढाएर आफै पैसाको जोहो गर्न थालिसकेका थिए । नर्थइस्टर्नमा विश्वभरबाट छात्रवृत्तिका लागि ६०-७० हजार जनाको आवेदन परेको थियो । पूर्ण छात्रवृत्ति एउटा महादेशबाट एकजनालाई दिन्थ्यो। सौभाग्‍यवस ! एशियाबाट उक्त छात्रवृति लोहनीले पाए ।

छात्रवृत्तिको लागि आवेदन दिदाँ उनले लेखेको निबन्ध नर्थइस्टर्न यूनिभर्सिटीमा अझै पनि चर्चा छ । क्षितिजले स्नातकमा छात्रवृत्ति पाएपछि मलाई किन छनौट गरेको भनेर विश्वविद्यालयमा सोधेका थिए । त्यसपछि विश्वविद्यालयका अधिकारीले तिम्रो आवेदन अरुको भन्दा फरक भएको र भविष्यमा केही बन्छौं भनेर छात्रवृत्तिमा छनौट गरेको जवाफ दिएका थिए ।

आउने जाने प्लेन टिकट बाहेक छात्रवृत्तिमा सबै कुरा सेमेटिएको थियो । पढ्ने, खाने, फोन गर्ने, यातायातलगायत सबै सुविधा छात्रवृत्तिमै समेटिएको थियो ।

माइजुको सुन बेचेर ‘प्लेन टिकट’

लोहनीले नर्थ नर्थइस्टर्न यूनिभर्सिटीमा स्नातक तहमा पूर्ण छात्रवृत्ति त पाए । तर, उनीसँग त्यहाँसम्‍म जाने प्लेट टिकटको खर्च भने थिएन । लोहनी फेरि समस्यामा परे ।

उनी सम्झिन्छन्, ‘छात्रवृति त पाए । तर प्लेन टिकट काट्ने पैसा आफूसँग छैन । त्यसबेला माइजुले साथ दिनुभयो मलाई । उहाँको सुन धितो राखेर म अमेरिका आएको हुँ ।’

बल्लतल्ल प्लेनको टिकट काट्ने पैसा त जुट्यो तर अर्को समस्या थपियो कपडाको । उनीसँग कपडा किन्ने पैसासम्म थिएन । एकदिन चेल्सीका शिक्षक उपेन्द्र चन्दले क्षितिज अमेरिका जान लागेको थाहा पाए छन् ।

अमेरिका जान लागेको थाहा पाएपछि चन्दले सोधे, ‘क्षितिज लुगा किन्यौं’ क्षितिजको जवाफ थियो, ‘लुगा किनेको छैन स र। किन्ने पैसै छैन ।’ क्षितिजको यो जवाफ सुनेपछि चन्दले उनलाई कपडा किन्न ३० हजार रूपैयाँ दिए ।

‘मसँग लुगा किन्न पैसा नभएको थाहा पाएपछि उपेन्द्र सरले ३० हजार रूपैयाँ दिनुभयो,’ उनले त्यो तीतो अनुभव आइसिटी समाचारसँग बाँड्दै भने, ‘यदि उपेन्द्रले सरले कपडा किन्न पैसा नदिएको भए म पुरानै कपडा लिएर अमेरिका जान्थेँ । किनकी मसँग अर्को उपाय नै थिएन ।’ टिकट र कपडाको जोहो भएपछि क्षितिज अध्ययन गर्न सन् २०१० मा अमेरिका हानिए ।

कफी भेटका लागि प्रोफेसरलाई इमेल

अमेरिका पुगेपछि उनले विद्यावारिधि (पीएचडी)को प्रोफेसर कौशिक चौधरीलाई ‘भेटौं, म तपाईलाई कफी खुवाउँछु’ भनेर इमेल लेखे ।

मलाई खासै आउन त आउँदैन तर म तपाईलाई कफी खुवाउछु भनेर इमेल लेखेको स्मरण गर्दै अरू विद्यार्थीले त्यस्तो नलेख्ने गरेको लोहनीले बताए । तर, आत्मविश्वासले भरिएका क्षितिजले भने इमेल लेखेरै छाडे ।

‘गएको पहिलो महिना नै प्रोफेसरलाई कफी खुवाउँछु भनेर इमेल लेखेको थिए । त्यसरी कसैले पनि प्रोफेसरलाई नलेखेको रहेछ,’ लोहनीले भने, ‘त्यसपछि प्रोफेसरलाई पनि नयाँ लागेछ, भेट्न बोलाउनु भयो । उहाँको ल्याब देखाउनु भयो र कामको प्रस्ताव राख्नुभयो ।’

प्रोफेसरले क्षितिजलाई कफी भेटमा कामको प्रस्ताव राखे । कामको आशामा उनले भेट्न बोलाएका नै थिएनन । तर क्षितिजलाई ‘पशुपतिको जात्रा सिद्राको व्यापार’ भने जस्तै भयो । भेट्का लागि बोलोएको मान्छेले कामको प्रस्ताव राख्दा त्यतिबेला उनको खुसीको सीमा नै थिएन ।

राष्ट्रिय युवा अवार्ड पाएपछि फोटो खिचाउँदै लोहनी

कामको प्रस्ताव राखेपछि प्रोफेसरले तलब कति लिने भनेर क्षितिजलाई सोधे । क्षितिजले प्रतिघण्टा ८ डलर लिन्छु भन्न के लागेका थिए । उताबाट जवाफ आयो, ‘घण्टाको १५ डलर हुन्छ ? । क्षितिजलाई नहुने कुरै थिएन । उनले हतार हतार ‘हुन्छ’ भने ।

एउटा इमेलले उनलाई पहिलो महिनादेखि नै प्रोफेसरसँग काम गर्ने मौका जुरायो, जुन सबैको भाग्यमा हुँदैन । पीएचडी ल्याबमा काम गर्नुभन्दा अगाडि पीएचडीसम्मको अध्ययन गर्ने योजना बनाएको उनले बताए ।

‘ल्याबमा काम गर्नु अगाडि मैले पीएचडीसम्म पढ्ने योजना बुनेको थिए । तर ल्याबमा काम गर्न थालेपछि पीएचडी मेरो लागि होइन भन्ने थाहा पाए,’ उनले भने, ‘म कक्षाभन्दा पनि रिसर्चमा धेरै गए । ल्याबमै धेरै समय बिताए ।’

क्षितिजलाई पढ्न भनेपछि धेरै झ्याउ लाग्थ्यो तर रिसर्च, प्रोजेक्ट भनेपछि हुरूक्कै हुन्थे । कलेजबाट पनि रिसर्चका लागि उनले हरेक वर्ष ग्राण्ट लिन्थे । उनले प्रोफेसरको ल्याबमा करिब ३ वर्ष काम गरे ।

क्रिन्जल स्पेशको यात्रा

नर्थइस्टर्नमा पढ्दै गर्दा नेटवर्किङ कक्षामा सबैले आ-आफ्नो देशको स्पेशको बारेमा प्रस्तुति दिनुपर्ने थियो । तर उनले नासाको बारेमा दि ए। तिम्रो देशको खोई ? भनेर प्रोफेसरले प्रश्न गर्दा क्षितिजसँग उत्तर थिएन । त्यसपछि क्रिन्जल स्पेशको अवधारणालाई उनलाई आएको हो ।

वेदर बलुन प्रविधि प्रयोग गरेर चन्द्रमासम्म नभएपनि अन्तरिक्षसम्म पुर्‍याउने योजनासहित क्रिन्जल स्पेशमा काम गर्न थाले । सबै सामानहरू आफै जोहो गरेर १७ महिनाको समय लगाएर क्रिन्जल स्पेश तयार गरे ।

नेपालको झण्डा राखे । गोप्रो प्रयोग गरेको भए २ दिनमै बन्थ्यो । तर आफै गरौं भन्ने सोचका साथ इबेबाट बिग्रेको क्याननको क्यामेरा किने र त्यसमा कोडिङ गरे, जसले गर्दा समय बढी लाग्यो ।

पृथ्वीको सहतभन्दा ८० हजार फिट माथि पुगेको नेपालको झण्डासहितको क्रिन्जल स्पेश

सबै उपकरण तयार भयो तर पठाउने पैसा थिएन । एक दिन प्रोफेसर कौशिक चौधरीलाई लोहनीले क्रिन्जल स्पेशको अवधारणा सुनाए । अवधारणा सुनाउँदा कौशिकले लोहनीलाई भनेका थिए, ‘यो परियोजना सफल भयो भने तिम्रो ४ जीपीएभन्दा धेरै ठूलो कुरा हो ।’

कौशिकले हौसला दिएपछि क्षितिज झनै हौसिए । त्यसपछि उनी परियोजना सफल गराएरै छाड्ने अठोट लिए । अठोट त लिए । तर त्यसका लागि पनि ऊसँग आवश्यक पैसा थिएन । फेरि खुला ठाउँमा परीक्षण गर्नुपर्ने, बोस्टनमा खुला ठाउँ थिएन । अरू नै राज्य जानुपर्थ्यो । क्रिन्जल स्पेश परीक्षणका लागि प्रोफेसर चौधरीले क्षितिजलाई १ हजार डलर दिए । त्यसपछि उनी परीक्षण गर्न इन्डियाना स्टेटमा गएका थिए ।

क्रिन्जल स्पेशमा स्टार पनि राखिएको थियो । धेरैले आफ्ना प्रेमी-प्रमिकालाई आकाशको तारा झारेर ल्याइदिन्छु भन्छन्, सक्दैनन् । तर क्षितिजले भने वास्तविकतामै त्यसलाई देखाउन आकाशमा तारा पुर्‍याएर, तल झारे ।

उक्त बेलुन ८० हजार फिटसम्म माथि गएको थियो । माथि पुगेपछि नेपाली राष्ट्रिय गान बजेको उनी बताउँछन् । उनी खुसी हुँदै भन्छन्, ‘यदि ऊर्जालाई नष्ट गर्न सकिदैन भने त्यो ऊर्जा अझै पनि वायुमण्डलमा घुमिरहेको छ।’

क्षितिजको जीवनमा बिर्सनै नसकिने एउटा परियोजना हो, क्रिन्जल स्पेश । क्रिन्जल स्पेशले धेरै नेपालीलाई प्रेरणा दिएकोमा क्षितिज असाध्यै खुसी छन् । जयराज आचार्य, उपेन्द्र चन्द र कौशिक चौधरी तीनजनाले आफ्नो जीवन नै रूपान्तरण गरिदिएको उनी स्वीकार्छन् ।

क्रिन्जल स्पेशबापत उनले सन् २०१४ मा नेपाल सरकारबाट राष्ट्रिय युवा अवार्ड समते पाए । यस बाहेक अनलाई गैर आवासिय नेपाली संघ (एनआरएनए) ले देश तथा विदेशमा रहेर नेपाली समुदायलाई सहयोग गरेको भन्दै ‘स्पेशल अचिभमेन्ट अनर’सहित सम्मान गरेको थियो ।

पेपालदेखि एप्पलसम्म

क्षितिजले करिब ३ वर्षसम्म प्रोफेसरको ल्याबमा काम गरे । त्यसपछि प्रोफेसरले नै अब सिक्नुसम्म यहाँ सिक्यौं, अब नयाँ कामको अनुभव लिन अन्य ठाउँमा जाउ भने । अनि उनको यात्रा मोडियो पेपालतिर । इन्टर्सीपमा पेपाल छिरेका उनले १ वर्ष पेपालमा बिताए । पेपालमा हुँदा नै उनले वास्तवमा ‘रियल कोडिङ’ सिक्ने मौका पाए ।

‘जीन्दगीमा रियल कोडिङ सिकेको भनेको पेपालमा हो,’ उनी भन्छन्, ‘पेपालमा मैले जाभा प्रोग्रामिङ सिके । प्रोग्रामिङको बारेमा त्यहाँ पुगेपछि बल्ल थाहा पाए । युट्युबबाट हेरेर गर्नु र उद्योगमा गएर गर्नु फरक रहेछ ।’

त्यसो त पेपालमा इन्टर्सीपमा छिर्दाको अनुभव निक्कै नै रोचक छ । खासमा त्यो इन्टर्सनसीप मास्टर्सका लागि थियो । तर क्षितिजले भने सिभी पठाए । लेख्नेवाला इन्टरभ्यू थियो । २-३ वटा प्रश्नमा मास्टर्स लेभलको थियो, तर उनलाई कोड गर्न आउँदैन्थ्यो।

कोड गर्न आउँदैन तर यसरी गर्ने हो भने मलाई थाहा छ भनेर उनले फ्लोचार्ट बनाएर प्रश्नोत्तर लेखे । अन्तिममा पेपालले उनलाई पेड इन्टर्सीपको अवसर दियो । कोडिङ गर्न नआएपनि सबै प्रश्नको उत्तर दिएकाले नर्थइस्टर्नसीपमा छोनेको पेपालको भनाइ थियो ।

जब पेपाल छिरे, त्यहाँ उनको भेट कुस्याङ गज्जरसँग भयो । गज्जर कुस्याङ पेपालका म्यानेजर थिए । कुस्याङ आफ्नो जीवनको अर्को गज्जब मान्छे भएको क्षितिज बताउँछन् ।

कुस्याङले क्षितिजलाई ‘छोटे’ भनेर सम्बोधन गर्थे । पेपालमा उनलाई कुस्याङले मेन्टरशीपको काम गरेका थिए ।
‘पेपालबाट निस्कँदा सीभी पनि गज्जब बनेको थियो भने पैसा पनि दामी थियो,’ उनी खुसी हुँदै भन्छन्, ‘महत्वपूर्ण कुरा कोडिङ सिकियो र नयाँ अनुभव लिइयो । त्यसपछि मैले मेन्टरसीपको महत्त्व यहाँ आएर थाहा पाएँ ।’

पेपालमा करिब १ वर्ष काम गरेपछि क्षितिज गोल्डम्यान स्याकमा गए । त्यहाँ उनले पूरा समय काम गरे । जहाँ हाल बेलायतका प्रधानमन्त्री ऋषि सुनकले पनि काम गरेका थिए । उनी रिसर्च र एनालिष्टको रूपमा गोल्डम्यान स्याकमा ३ वर्ष काम गरेको उनको भनाइ छ ।

त्यसपछि मनमा कता-कता मास्टर्स पढ्न रहर थियो तर उद्योग छिरेपछि उनलाई फेरि पढ्न मन लागेन । उनी काममै रमाउन थाले ।

गोल्डम्यानमा काम गरेपछि उनलाई सिलिकन भ्याली जान मन लाग्यो । सिलिकन भ्याली विश्वको सूचना प्रविधिको हब हो । प्रविधिमा चासो राख्ने जो कोही पनि एक पटक सिलिकन भ्याली जान चाहन्छन् । क्षितिजलाई पनि उक्त चाहनाले लेखेट्न थाल्यो ।

यसपछि उनले एप्पलमा कामको लागि आवेदन दिए । आवेदन दिएपछि सबै चरण पार गरे र उनलाई एप्पलको क्लाउड, इन्टिग्रेटेड मिडिया र आइफोन ३ वटा टिमबाट काम गर्ने अफर आयो । तीन वटामध्ये उनले ‘आइफोन टिम’ रोजे ।

हाल उनी ५ वर्षदेखि अहिलेसम्म एप्पलको आइफोन टिममा रहेर काम गरिरहेका छन् । दत्तचित्त भएर निरन्तर काम गरेको ५ वर्ष पुगेपछि उनलाई हालै एप्पलले  प्रशंसापत्र समेत प्रदान गरेका थिए ।

एप्पलले लोहनीलाई प्रदान गरेको प्रशंशापत्र

सफ्टवेयर इन्जिनयरको रूपमा प्रवेश गरेका क्षितिज अहिले वरिष्ठ सफ्टवेयर इन्जिनियरको रूपमा कार्यरत छन् । आइफोनमा उनी डिजाइन, सप्लाइ चेन ,हार्डवेयर र सफ्टवयेर इन्टिग्रेसनमा काम गर्छन् । एप्पलमा यतिसम्म ‘सिक्रेट’ छ की अन्य प्रडक्टबारे अरू टिमलाई थाहा हुँदैन ।

‘आइफोनलाई आइफोनको मात्रै थाहा हुन्छ, म्याकबुकको थाहा हुँदैन । सार्वजनिक भएपछि मात्रै अरू प्रडक्टबारे थाहा हुन्छ । कार्यालय प्रवेश गर्दा पनि जुन फ्लोरमा कार्यालय हो, त्यहीको मात्रै ढोका खुल्छ,’ उनी भन्छन् ।

एप्पलमा क्षितिजले तलब, स्टक र बोनस गरेर राम्रो सेवा सुविधा पाइरहेका छन् । स्यालरीभन्दा पनि आफूले स्टकमा बढी ध्यान दिने उनी बताउँछन् ।

सामाजिक सेवामा उत्तिकै समर्पित

क्षितिज एप्पलको मुख्यालयमा काम गर्छन् । विदेशमा बसे पनि सामाजिक कार्यमा भने उत्तिकै सक्रिय छन् । आफूले जस्तो समस्या कुनै पनि मानिसले भोग्नु नपरोस भनेर क्रिन्जल फाउन्डेसन नामक गैरनाफामुलक संस्थासमेत स्थापना गरेका छन् ।

सुरूमा नेपालमा मात्रै दर्ता भएको उक्त संस्था केही समय अगाडि अमेरिकामा समेत आईएनजीओको रूपमा दर्ता भएको छ । क्रिन्जलले विशेष गरी शिक्षा र मानसिक स्वास्थ्यसँग काम गर्दै आएको छ । यसबाट ३ वटा परियोजनाहरू सञ्चालित छन् । पहिलो शिक्षा-दिक्षा, दोस्रो स्टिम नेपाल र तेस्रो पहिलो कदम ।

शिक्षादिक्षा छात्रवृत्ति दिने प्लेटफर्म हो । आफू जस्तै पैसा तिर्न नसकेर कुनै पनि विद्यार्थी शिक्षाबाट बञ्चित हुन नपरोस् भनेर शिक्षादिक्षा सुरू गरेको क्षितिज बताउँछन् । सन् २०२१ मा सुरू भएको शिक्षादिक्षाबाट हालसम्म ९० बढी विद्यार्थीले आर्थिक सहयोग पाएका छन् ।

शिक्षादिक्षाबाट छात्रवृत्ति पाएपछि विद्यार्थीसँग सामुहिक फोटो खिचाउँदै लोहनी

शिक्षादिक्षाबाट कुनै विद्यार्थीका लागि कसैले सहयोग रकम पठायो भने त्यो रकम सबै उक्त विद्यार्थीलाई जान्छ । क्रिन्जलले कुनै कमिसन खाँदैन । शिक्षादिक्षाबाट यो वर्ष ५०० बढीलाई छात्रवृत्ति प्रदान गर्ने योजना छ । शिक्षादिक्षालाई भारत र बंगलादेशमा विस्तार गर्ने तयारी अगाडि बढाइएको छ ।

क्रिन्जलबाट सञ्चालित दोस्रो परियोजना हो, पहिलो कदम ।  पहिलो कदमबाट मनोपरामर्स सेवा उपलब्ध हुँदै आएको छ । आफूले जस्तो मानसिक समस्या कसैले भोग्नु नपरोस् भनेर पहिलो कदमको सुरू भएको हो ।

सुरूका केही सेसन निःशुल्क उपलब्ध भए पनि त्यसपछि भने शुल्क तिर्नु पर्ने उनको भनाइ छ। यसमा मनोविदहरूको डाटाबेस समेत राखिएको छ ।

त्यस्तै अर्को परियोजना हो, टेक्कि नेपाल । ९ देखि १२ कक्षासम्मका विद्यार्थीहरूमा स्टिम (विज्ञान, प्रविधि, इन्जिनियरिङ, गणित) सीप विकास गरिन्छ । टेक्की नेपाल कार्यक्रमलाई अमेरिकी दूतावासको समेत सहयोग रहेको छ । स्टिम कोर्ष ३ महिनाको हुन्छ ।

‘अमेरिका २-३ मा पढ्ने बच्चाहरूलाई प्रोग्रामिङको बारे थाहा हुन्छ तर नेपालमा हुँदैन,’ क्षितिज भन्छन्, ‘केही समय अगाडि गोरखाको एउटा स्कुलमा माउस चलायो भने पोइन्टर हल्लिन्छ भनेर विद्यार्थीले पहिलो पटक थाहा पाएका थिए । यस्तो छ नेपालको अवस्था।’

स्टिम कोर्ष विशेष गरी काठमाडौं बाहिरका विद्यालयमा गरिने छ । धेरै जसो विद्यालयमा कम्प्युटरको शिक्षक नै हुँदैनन् । त्यसकारण टेक्कि नेपालले टिचरलाई नै ट्रेनिङ दिएर विद्यार्थीलाई सिकाइ रहेको छ ।

‘नेपाल भन्ने बित्तिकै काठमाडौं मात्रै सोच्छन् । बाहिर बालबालिकाहरूको घरमा कम्प्युटर नै हुँदैन,’ उनी भन्छन्, ‘स्कुलमा केही थान हुन्छ तर त्यो त्यहाँ भएका बालबालिका र विद्यार्थीहरुलाई अपुग हुन्छ । सुरू गरेको पहिलो वर्षमा के के चाहिने रहेछ, त्यसको डेटा कलेकशनमै बितेको छ । इच्छा देखाउनेलाई मेन्टरिङ पनि दिन्छौं।’

देश तथा विदेशमा वक्ता

क्षितिजले पेपालदेखि एप्पलसम्मको अनुभव नयाँ पुस्तालाई बाँडिरहेका छन् । उनीहरूलाई प्रेरित गरिरहेका छन्, सिकाइरहेका छन् ।

मार्गदर्शन गरिरहेका छन् । क्षितिज बेला बेला नेपाल आउँछन् । नेपाल आउँदा नयाँ पुस्तालाई प्रेरित गर्न वक्ताको रूपमा विभिन्न कलेज तथा कार्यक्रममा गइरहन्छन् ।

उनी नेपालमा मात्रै होइन संयुक्त राष्ट्र संघमा समेत २ पटक वक्ताको रूपमा गइसकेका छन । त्यहाँ गएर मेसिन लर्निङ र एआईको बारेमा मन्त्व्य दिएका थिए ।

संयुक्त राष्ट्र संघमा वक्ताको रूपमा गएपछि ग्रुप फोटोमा क्षितिज

संयुक्त राष्ट्र संघमा उपस्थिति भएका दर्शहरूले अहिले पनि उनलाई म्यासेज गरिरहेका हुन्छन् । त्यहाँ आएका मान्छे कुनै न कुनै उद्देश्य लिएर आएको क्षितिजको अनुभव छ ।

संयुक्त राष्ट्र संघको युवा सम्मेलनमा पनि क्षितिजको आईडिया विश्वभरबाट उत्कृष्ट १० मन पर्न सफल भएको थियो । उनले त्यहाँ प्रविधिको प्रयोगमार्फत मानसिक, भावनात्मक र यौन शिक्षा प्रवर्द्धन गर्ने आईडिया प्रस्तुत गरेका थिए ।

१० वर्षपछि नेपाल फर्किने योजना

नेपालको विकासमा कर्मभूमिबाटै योगदान दिँदै आएका क्षितिजलाई नेपालमै आएर काम गर्ने मन छ । तर तुरून्तै फर्किने योजना नभएको उनी बताउँछन् ।

‘नेपाल फर्किने योजना छ, तर तुरून्तै फर्किने योजना छैन । भावानात्मक भएर के गर्नु रियालिस्टिक भएर सोच्नुपर्छ,’ उनी गम्भीर हुँदै भन्छन्, ‘अहिले शिक्षा दिक्षाका लागि स्पोन्सर ल्याइरहेको छु । स्टार्टअपहरूलाई जोडिरहेको छु । अहिले मेरो देशलाई खाँचो यहाँनेर छ । त्यही भएर केही वर्ष अमेरिकामै बस्छु ।’

लोहनी आईडिया विश्वका उत्कृष्ट १० मा परेपछि राष्ट्र संघको युवा सम्मेलनमा फोटो खिचाउँदै

अबको १० वर्षपछि नेपाल फर्किने उनको योजना छ । उमेर ६०-७० वर्ष पुगेको फर्किने योजना उनीमा छैन । १० वर्षपछि फर्किए पनि नेपाल पटक-पटक आइरहने र सक्रियता अझै बढाउने क्षितिज बताउँछन् ।

नेपालको नीति निर्माण र पूर्वाधारको विकासमा योगदान बढी दिने उनको सोचाइ छ । उनको इच्छा राजनीतिमा छ । तर राजनीतिमा आउनु भन्दा अगाडि नागरिक समाजमा संलग्न हुने लोहनीको भनाइ छ।

‘अहिलेसम्म कुनै पनि पार्टीको सदस्यता लिएको छैन । एजेन्डाको आधारमा जो कोहीलाई पनि सहयोग गर्छु,’ क्षितिज आत्मविश्वासका भन्छन् ।

आगामी योजना

पहिलो पटक क्रिन्जल फाउन्डेसन आईएनजीओको रूपमा अमेरिकामा दर्ता भएको छ । यसअघि नेपालमा मात्रै दर्ता थियो । संस्थाले विभिन्न सामाजिक कामहरू गरिरहेको छ । अहिले ५ जनाले क्रिन्जल फाउन्डेसनमा रोजगारी पाएका छन् ।

अर्को वर्ष थप ५ जनालाई रोजगारी दिने क्षितिजको चाहना छ । अब नेपालमा कसरी धेरैभन्दा धेरै रोजगारी सृजना गर्ने भन्‍नेमा आफ्नो ध्यान केन्द्रित हुने उनले बताए ।

यस बाहेक शिक्षा र प्रविधिमा सबल लोकतन्त्र र पूर्वाधार विकासमा काम गर्ने योजना उनले राखेका छन् । क्षितिज भन्छन्, ‘नेपाली प्रतिभाहरू विश्वस्तरीय छन् । तर, उनीहरूलाई आफू विश्वस्तरीय हो भन्ने थाहा छैन । त्यसकारण अब विश्वस्तरीय नेपाली प्रतिभाहरूलाई विश्वसँग जोड्ने काममा लाग्छु ।’