काठमाडौं । आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट तर्जुमा प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा ल्याएको छ ।
आगामी सोमबार सार्वजनिक हुने नीति तथा कार्यक्रममा जनताका वास्तविक आवश्यकता, सुझाव र मौलिक अपेक्षाहरू समेट्ने उद्देश्यले उक्त डिजिटल प्लेटफर्म सुरु गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
सरकारका अनुसार अब देश तथा विदेशमा रहेका नेपाली नागरिक, विषयविज्ञ, नीति निर्माता र सरोकारवालाहरूले विकासका प्राथमिकता, बजेट विनियोजन तथा सुधारका विषयमा आफ्ना महत्वपूर्ण राय–सुझावहरू सिधै सरकार समक्ष पेश गर्न सक्नेछन् ।
प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले सरकारको नीति निर्माण प्रक्रियालाई प्रशासनिक सीमाभित्र मात्र सीमित नराखी नागरिकको भावना र विज्ञताको सम्मान गर्ने प्रधानमन्त्रीको सोचअनुसार यो पहल गरिएको बताइन् ।
उनका अनुसार उक्त पोर्टलले नागरिक र राज्यबीचको दूरी घटाउँदै सुशासनको नयाँ अभ्यास स्थापित गर्ने अपेक्षा गरिएको छ । साथै प्राप्त सुझावहरूलाई सम्बन्धित प्रशासनिक तहमा गम्भीरतापूर्वक समीक्षा गरी नीतिगत रूपमा कार्यान्वयनमा लैजाने तयारी गरिएको पनि बताइन् ।
यस प्रणालीमा ‘सुझाव ट्र्याक’ गर्ने विशेष सुविधा समेत राखिएको छ । जसमार्फत नागरिकहरूले आफूले दिएका सुझावको पछिल्लो अवस्था र त्यसमा सरकारले चालेका कदमबारे जानकारी लिन सक्नेछन् ।
सरकारले ‘समृद्ध नेपाल’ निर्माणको अभियानमा सक्रिय सहभागिता जनाउन सम्पूर्ण नेपालीलाई आग्रह गरेको छ । नागरिकहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेबसाइटमार्फत पोर्टल प्रयोग गरी आफ्ना सुझावहरू सिधै प्रधानमन्त्रीको सचिवालयसम्म पुर्याउन सक्नेछन् । सुझाव https://suggestions.opmcm.gov.np मार्फत दिन सकिनेछ ।
आईसीटी समाचार