कीवर्डहरू -

यी हुन् विश्वका ठूला आईटी कम्पनी हाँक्ने सीईओ, कति लिन्छन् तलब ?

यी हुन् विश्वका ठूला आईटी कम्पनी हाँक्ने सीईओ, कति लिन्छन् तलब ?

अहिलेको युग सूचना प्रविधिको युग हो । यो युगमा हरेक कामलाई प्रविधिमैत्री बनाउन विभिन्न प्रविधि कम्पनीहरूले महत्वपूर्ण भूमिका खलेका छन् । 

विश्वका ठूला र उत्कृष्ट आईटी कम्पनीको नाम लिँदा एप्पल, गूगल, मेटा, माइक्रोसफ्ट, अमेजन जस्ता कम्पनीको नाम अग्रपंक्तिमा आउँछ । यी कम्पनीलाई उत्कृष्ट बनाउन कम्पनीका सीईओको योगदान उल्लेख्य छन् । 

त्यसै सन्दर्भमा आज हामी विश्वका ठूला पाँच आईटी कम्पनी हाँक्ने सीईओ कस्ता छन् र उनीहरूले कति तलब लिन्छन् ? भन्ने बारे जानकारी दिदैछौं ।  

१. टिम कुक (एप्पल)

null

टिम कुक चर्चित प्रविधि कम्पनी एप्पलका प्रमुख कार्यकारी अधिकृत अर्थात सिईओ हुन् । ६३ वर्षीय कुक सन् २०११ देखि एप्पलको सिईओको जिम्मेवारी सम्हालीरहेका छन् । एप्पलका पूर्व सिईओ स्टिभ जब्सको मृत्युपश्चात् उनले यो जिम्मेवारी सम्हालेका हुन् ।

कुकले एप्पलको खस्किँदो बजारलाई माथि उकास्नका लागि मुख्य भूमिका खेलेका छन् । विशेष गरी उनको कन्सेप्टअनुसार बनेका ठूला फोनहरु र वाचहरुले राम्रो बजार पाउँदै गएका छन् । 

कुक सन् २०११ मा फोर्ब्रस पत्रिकामा विश्वका सबैभन्दा शक्तिशाली व्यक्तिहरूमध्ये एक भनेर घोषितसमेत भएका थिए । त्यस्तै सन् २०१२ मा द न्युयोर्क टाइम्सको एक लेखमा सबैभन्दा बढी तलब हुने सीईओका रूपमा समेत उनको चर्चा चुलिएको थियो । सन् २०२२ टिमले तलब, स्टक र अन्य गरी कुल ९९.५ मिलियन अमेरिकी डलर रकम लिएका थिए । 

२.सुन्दर पिचाइ (गूगल)

null

सुन्दर पिचाइ विश्वका प्रभावशाली आईटी कम्पनीको प्रमुख कार्यकारी अधिकृतमध्ये एक हुन । ५१ वर्षीय पिचाइ सन् १९७२ मा भारतको तमिलनाडुमा जन्मिएका हुन्  । एमबीए सम्मको अध्ययन गरेका पिचाइ एक आईटी इन्जिनियर हुन् ।

सन् २००४ मा व्यवस्थापन कार्यकारी प्रमुखका रूपमा गुगलमा प्रवेश गरेका पिचाइ गुगलको प्रोडक्ट चिफ हुँदै सन् २०१५ मा गूगलको प्रमुख कार्यकारी अधिकृत (सिईओ) बन्न सफल भए । पिचाइले गुगललाई माथि उठाउनका लागि कम्पनीको व्यवस्थापनका लागि परामर्शसम्बन्धी काम गरे ।

उनले गुगलको गुगल क्रोम, गुगल ड्राइभ, जिमेल तथा गुगल नक्सा क्रोम ओएसलगायत अन्य सफ्टवेयर उत्पादनका लागि मुख्य भूमिका खेलेका छन् । उनी सन् २०१९ को डिसेम्बरमा गुगलको अर्को कम्पनी अल्फाबेटको प्रमुख समेत बने  । सुन्दर पिचाइले सन् २०२२  मा कुल तलब प्याकेज, स्टक पुरस्कार र प्रोत्साहन भत्तासहित २२६ मिलियन डलर लिएका थिए । 

३.सत्य नाडेला (माइक्रोसफ्ट)

null

सत्य नाडेला चर्चित सफ्टवेयर कम्पनी माइक्रोसफ्ट कम्पनीको प्रमुख कार्यकारी अधिकृत हुन् । उनी भारतीय अमेरिकी व्यापारिक कार्यकारी हुन् ।

नाडेला सन् १९६७ मा भारतको हैदराबादमा जन्मिएका नाडेला सन् २०१४ मा माइक्रोसफ्टको सीईओमा नियुक्त भएका थिए । ५६ वर्षीय नाडेला माइक्रोसफ्टको सीईओ हुनुपूर्व उनी माइक्रोसफ्टको क्लाउड एन्ड इन्टरप्राइज समूहमा कार्यकारी उपाध्यक्षका रूपमा काम गर्थे ।

उनी सन् १९९२ मा यसको टेक्नोलोजी स्टाफका रूपमा प्रवेश गरेका थिए । उनले सन् २०२२ तलब, स्टक लगायत अन्य गरेर कुल ५५ मिलियन डलर तलब लिएका छन् ।

४. मार्क जुकरबर्ग (मेटा)

null

३९ वर्षिय जुकरबर्गले बनाएको ‍मेटा संसारकै ठूलो मध्येको एक प्रविधि कम्पनी हो । मेटा अन्तर्गत फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप सामाजिक सञ्जाल छन् । मेटाका सीईओ हुन् मार्क जुकरबर्ग ।

उनले १९ वर्षको उमेरमा सन् २००४ मा हार्वर्ड विश्वविद्यालयमा अध्ययनको क्रममा बनाएको फेसबुक एप्लिकेसन अहिले सामाजिक मिडिया प्लेटफर्मको रूपमा चिनिन्छ ।

उनी सन् १९८४ मे १४ मा अमेरिकाको न्युयोर्कमा जन्मिएका हुन् । फेसबुककै कारण  २३ वर्षको उमेरमा नै विश्वको सबैभन्दा कान्छो अर्बपतिका रूपमा उनले परिचयसमेत बनाएका थिए ।

मार्क जुकरबर्गले तलब १ डलर मात्रै रहेको छ । तर अन्य सुविधा वापत उनले सन् २०२२ मा २७ मिलियन अमेरिकी डलर रकम मेटाबाट बुझेका थिए । 

५.एन्डी जस्सी (अमेजन) 

null

अमेजन कम्पनीको सिईओको पद अहिले एन्डी जस्सीले सम्हालिरहेका छन् । जेफ बेजोसले २०२१ मा राजिनामा दिएसँगै हाल सिईओमा जस्सी छन् । 

५५ वर्षीय जस्सी एमेजनको सिईओ पद सम्हाल्नु अघि अमेजनको क्लाउड कम्प्युटिङ विजनेस सम्हालिरहेका थिए । उनी सन् १९९७ मा कम्पनीमा जोडिएका हुन् । 

एन्डीले हार्वर्ड बिजनेस स्कुलबाट एमबीए गरेका छन् । उनले सन् २०२२ मा तलब र अन्य सेवा गरेर जम्मा १.३ मिलियन अमेरिकी डलर रकम लिएका थिए ।