काठमाडौं । प्रेसिडेन्सियल ग्राजुएट स्कुलको आयोजनामा काठमाडौंमा ‘प्रेसिडेन्सियल इन्नोभिस्टा २.०, २०२६’ सुरु भएको छ । विद्यार्थीको प्राविधिक सिर्जनशीलता, नवप्रवर्तन क्षमता र उद्यमशील सोचलाई एकै स्थान प्रस्तुत गर्ने उद्देश्यले कार्निभल आयोजना गरिएको हो । यस टेक तथा बिजनेस कार्निभलमा कृत्रिम बौद्धिकता, रोबोटिक्स, साइबर सुरक्षा, सफ्टवेयर, आइओटी र डिजिटल इनोभेसनसम्बन्धी ५५ भन्दा बढी परियोजना प्रदर्शनमा राखिएका छन् । करिब १७० विद्यार्थी सहभागी भइ तयार पारिएका परियोजना केवल शैक्षिक अभ्यासमा सीमित नभई बजार, उद्योग, लगानीकर्ता र स्टार्टअप अवसरसँग जोडिन सक्ने सम्भावना रहेको जनाइएको छ । यही सन्दर्भमा केन्द्रित रहेर प्रेसिडेन्सियल ग्राजुएट स्कुलका संस्थापक एवम् अध्यक्ष लक्ष्मण केसीसँग गरिएको कुराकानीको सम्पादित अंश ।
प्रश्नः प्रेसिडेन्सियल इन्नोभिस्टा २.०, २०२६ आयोजना गर्नुको मुख्य उद्देश्य के हो ?
लक्ष्मण केसीः प्रेसिडेन्सियल इन्नोभिस्टा २.० विद्यार्थीहरुको प्रतिभा प्रदर्शनी गर्ने उद्देश्यले आयोजना गरिएको हो । प्रदर्शनी विद्यार्थीको सोच, सीप र सम्भावनालाई बजारसँग जोड्ने प्लेटफर्म हो । यसपटक विद्यार्थीले कृत्रिम बौद्धिकता, रोबोटिक्स, साइबर सुरक्षा, सफ्टवेयर, आइओटी र डिजिटल इनोभेसनसम्बन्धी ५५ भन्दा बढी परियोजना प्रदर्शनी गर्नेछन् । विद्यार्थीले कक्षा कोठामा सिकेका ज्ञानलाई वास्तविक समस्याको समाधानमा प्रयोग गर्न सक्छन् भन्ने देखाउनु हो ।
प्रश्नः यस वर्षको प्रदर्शनीमा कुन कुन क्षेत्रका परियोजना विशेष रूपमा केन्द्रित छन् ?
लक्ष्मण केसीः यस वर्ष हामीले पाँच प्रमुख क्षेत्रलाई प्राथमिकता दिएका छौँ । कम्प्युटर भिजन तथा कृत्रिम बौद्धिकता, आइओटी तथा रोबोटिक्स, साइबर भिलेज, सफ्टवेयर र टेक्नोभर्सिटी मुख्य क्षेत्र हुन् । यी विधामार्फत विद्यार्थीले दैनिक जीवन, सुरक्षा, कृषि, पर्यटन, व्यवसाय र डिजिटल सेवासँग प्रत्यक्ष सम्बन्ध राख्ने परियोजना बनाएका छन् ।
प्रश्नः प्रदर्शनीमा राखिएका परियोजनामध्ये तपाईंलाई विशेष सम्भावना बोकेका परियोजना कुन कुन लाग्छन् ?
लक्ष्मण केसीः सबै परियोजना विद्यार्थीको मेहनत र अनुसन्धानबाट बनेका छन् । तर, केही परियोजनाले तत्काल बजार सम्भावना देखाएका छन् । उदाहरणका लागि स्मार्ट सिँचाइ प्रणाली कृषि क्षेत्रमा उपयोगी हुन सक्छ, ग्यास लिक हुँदा अलार्म र स्वचालित कट प्रणालीसहितको स्मार्ट होम सिस्टम घरेलु सुरक्षासँग सम्बन्धित छ, साइबर सुरक्षा परियोजनाले अनलाइन ठगी, डाटा लिक र बैंक खाता सुरक्षाजस्ता समस्या सम्बोधन गर्छन् । त्यस्तै, एआईमा आधारित आइएलटीस प्रेप र पर्सनल लर्निङ म्यापिङ सिस्टम, एआईमार्फत अनुहारको भाव बुझेर संगीत सिफारिस गर्ने प्रणाली, ३६० डिग्री क्यामेरासहित एटोमेसनमा सेल्फ ड्राईभिङ गाडी, र एफपीभी ड्रोनजस्ता परियोजनाले विद्यार्थीको प्राविधिक क्षमता देखाउँछन् ।
प्रश्नः यी परियोजनाहरू प्रदर्शनीपछि के हुन्छन् ?
लक्ष्मण केसीः हामी विद्यार्थीका परियोजनालाई केवल प्रदर्शनीमै सीमित राख्न चाहँदैनौँ । प्रेसिडेन्सियल ग्राजुएट स्कुलको बिजनेस इन्क्युबेसन सेन्टरमार्फत सम्भावना भएका परियोजनालाई थप विकास गर्ने, व्यापारिक मोडल बनाउने, लगानीकर्ता र उद्योगसँग जोड्ने योजना छ । आईटी र बिजनेस पढिरहेका विद्यार्थीबीचको सहकार्यबाट परियोजनालाई उत्पादन, सेवा वा स्टार्टअप मोडलमा लैजान सकिन्छ भन्ने हाम्रो विश्वास छ ।
प्रश्नः नेपालमा विद्यार्थीले बनाएका टेक परियोजनालाई स्टार्टअपमा रूपान्तरण गर्न कस्ता चुनौती छन् ?
लक्ष्मण केसीः मुख्य चुनौती तीनवटा छन् । पहिलो, राम्रो आइडियालाई बजार योग्य उत्पादन बनाउने क्षमता, दोस्रो, मेन्टरसीप र लगानीसम्म पहुँच र तेस्रो, उद्योगसँगको निरन्तर सम्पर्क । नेपालमा प्रतिभा छ, समस्या समाधान गर्ने सोच छ, तर त्यसलाई सही दिशामा अघि बढाउन शैक्षिक संस्था, उद्योग, लगानीकर्ता र नीति निर्माताबीच सहकार्य आवश्यक छ । इन्नोभिस्टा त्यही सहकार्यको सुरुवाती पुल हो ।
प्रश्नः प्रेसिडेन्सियल ग्राजुएट स्कुलले विद्यार्थीलाई उद्योगसँग कसरी जोडिरहेको छ ?
लक्ष्मण केसीः हाम्रो शैक्षिक दृष्टिकोण केवल सैद्धान्तिक ज्ञानमा आधारित छैन । कलेजको आधिकारिक विवरणअनुसार प्रेसिडेन्सियल ग्राजुएट स्कुलले व्यावहारिक, अनुसन्धानमुखी र सीपमा आधारित सिकाइलाई प्राथमिकता दिँदै उद्यमशीलता, नवप्रवर्तन र रोजगारी सिर्जनामा योगदान गर्ने लक्ष्य राखेको छ । त्यसैले हामी विद्यार्थीलाई परियोजना, वर्कसप, उद्योगसँगको अन्तरक्रिया, करियर सपोर्ट र इन्क्युबेसनमार्फत वास्तविक कामको वातावरणसँग जोड्छौँ ।
प्रश्नः वेस्टक्लिफ युनिभर्सिटीसँगको सम्बन्धनले विद्यार्थीलाई के फरक अवसर दिन्छ ?
लक्ष्मण केसीः वेस्टक्लिफ युनिभर्सिटीसँगको सम्बन्धनले विद्यार्थीलाई नेपालमै अन्तर्राष्ट्रिय स्तरको डिग्री र पाठ्यक्रमको अवसर दिन्छ । विश्व प्रसिद् डव्लुएससीयुसी (WSCUC Accredited Institution) एक्रिडेसन प्राप्त प्रेसिडेन्सियल ग्राजुएट स्कुललाई वेस्टक्लिफ युनिभर्सिटीको नेपालस्थित आधिकारिक सम्बन्धनप्राप्त क्याम्पस हो । जहाँ व्यवहारिक सिकाइ र सृजनशील सोचलाई जोड दिइएको छ । यसले विद्यार्थीलाई नेपालमै बसेर विश्वस्तरीय सिकाइ, करियर तयारी र भविष्यमा अन्तर्राष्ट्रिय अवसरतर्फ अघि बढ्ने आधार दिन्छ ।
प्रश्नः अहिले नेपालका युवामा आईटी र एआईप्रति आकर्षण बढिरहेको छ । तपाईं यसलाई कसरी हेर्नुहुन्छ ?
लक्ष्मण केसीः यो निकै सकारात्मक संकेत हो । अब आईटी केवल सफ्टवेयर बनाउने क्षेत्र मात्र रहेन । कृषि, पर्यटन, वित्तीय सेवा, शिक्षा, स्वास्थ्य, सुरक्षा र सार्वजनिक सेवासम्म यसको प्रभाव छ । कृत्रिम बौद्धिकता, साइबर सुरक्षा, डाटा एनालिटिक्स र सफ्टवेयर इन्जिनियरिङजस्ता क्षेत्रमा नेपाली विद्यार्थीले विश्व बजारसँग प्रतिस्पर्धा गर्न सक्छन् । सही मार्गदर्शन, प्रयोगात्मक सिकाइ र उद्योगसँगको सम्पर्क भयो भने नेपालबाटै विश्वस्तरीय समाधान विकास गर्न सकिन्छ ।
प्रश्नः इन्नोभिस्टामा प्लस टु सकेका विद्यार्थीलाई पनि सहभागी गराउनुको कारण के हो ?
लक्ष्मण केसीः हामीले टेक्नोभर्सिटी प्याभिलियनमार्फत प्लस टु सकेका विद्यार्थीलाई पनि स्थान दिएका छौँ । उनीहरूले एक सातासम्म हाम्रा विद्यार्थीको मेन्टरसीपमा परियोजना तयार गरेका छन् । यसको उद्देश्य युवा विद्यार्थीलाई चाँडै नै इनोभेसन, समस्या समाधान र टेक्नोलोजीको प्रयोगतर्फ प्रेरित गर्नु हो । उच्च शिक्षा रोज्नु अघि नै उनीहरूले आफ्नो रुचि र क्षमता परीक्षण गर्न पाउनु ठूलो कुरा हो ।
प्रश्नः प्रेसिडेन्सियल ग्राजुएट स्कुलमा बिजनेस र टेक्नोलोजी दुवै क्षेत्रलाई सँगै अगाडि बढाउनुको कारण के हो ?
लक्ष्मण केसीः आजको बजारमा प्रविधि र व्यवसाय अलग–अलग रहन सक्दैनन् । राम्रो प्रविधि समाधान भए पनि त्यसको बजार, ग्राहक, लगानी र बिजनेस मोडल नबनेसम्म दिगो हुँदैन । त्यसैले आईटी विद्यार्थीले प्रविधि बनाउँछन्, बिजनेस विद्यार्थीले त्यसको बजार सम्भावना, वित्तीय योजना र व्यापारिक मोडल विकास गर्न सहयोग गर्छन् ।
प्रश्नः कलेजको वेबसाइटमा करियर सेन्टर र जब प्लेसमेन्ट सेलको पनि उल्लेख छ । यसले विद्यार्थीलाई कसरी सहयोग गर्छ?
लक्ष्मण केसीः विद्यार्थीलाई डिग्री दिएर मात्र हाम्रो जिम्मेवारी पूरा हुँदैन । वेस्टक्लिफको पृष्ठमा प्रेसिडेन्सियल ग्राजुएट स्कुलका क्याम्पसको मुख्य बुँदामा करिअर सेन्टर, जब प्लेसमेन्ट सेल, व्यावसायिक विकास, इन्टर्नसिपको अवसर जस्ता विषय समावेश गरिएका छन् । यी संरचनाले विद्यार्थीलाई रिजुमे तयारी, अन्तर्वार्ता सीप, करियर योजना, उद्योगसँगको सम्पर्क, इन्टर्नसिप र रोजगारी अवसरसँग जोड्न सहयोग गर्छन् ।
प्रश्नः हालै प्रेसिडेन्सियल ग्राजुएट स्कुलको १० औँ दीक्षान्त समारोह पनि सम्पन्न भयो । त्यसले संस्थाको यात्रालाई कसरी देखाउँछ ?
लक्ष्मण केसीः १० औँ दीक्षान्त समारोह हाम्रो लागि महत्वपूर्ण उपलब्धि हो । हालैको समाचारअनुसार प्रेसिडेन्सियल ग्राजुएट स्कुलले मे ३०, २०२६ मा १० औँ दीक्षान्त समारोह आयोजना गरी बिजनेस र आईटी कार्यक्रमका ३१५ विद्यार्थीलाई दीक्षित गरेको थियो । यसले हामीले वर्षौँदेखि गरिरहेको शैक्षिक लगानी, विद्यार्थीको विश्वास र अन्तर्राष्ट्रिय शिक्षालाई नेपालमै उपलब्ध गराउने प्रयासलाई प्रमाणित गर्छ ।
प्रश्नः आगामी दिनमा इन्नोभिस्टालाई कस्तो स्वरूपमा विकास गर्ने योजना छ ?
लक्ष्मण केसीः हामी इन्नोभिस्टालाई वार्षिक टेक तथा बिजनेस कार्निभलका रूपमा अझ ठूलो बनाउने योजनामा छौँ । आगामी वर्षहरूमा उद्योगी, लगानीकर्ता, स्टार्टअप फाउन्डर, प्रविधि कम्पनी, विद्यालय–कलेज र नीति निर्माण क्षेत्रका सरोकारवालालाई अझ व्यापक रूपमा सहभागी गराइनेछ । हाम्रो लक्ष्य विद्यार्थीको परियोजना हेर्ने कार्यक्रम मात्र होइन, नेपालमा इनोभेसन इकोसिस्टम निर्माण गर्ने प्लेटफर्म बनाउनु हो ।
प्रश्नः अन्त्यमा, विद्यार्थी, अभिभावक, उद्योगी र लगानीकर्तालाई तपाईंको सन्देश के छ ?
लक्ष्मण केसीः विद्यार्थीहरुलाई म के भन्न चाहन्छु भने, तपाईंहरूको आइडिया सानो छैन । सही मेहनत, सही मेन्टरसीप र सही प्लेटफर्म पाएपछि त्यो आइडिया व्यवसाय, रोजगारी र सामाजिक समाधान बन्न सक्छ । अभिभावकलाई भन्न चाहन्छु, प्रविधि र व्यवसायमा भविष्य छ, आफ्ना छोराछोरीलाई प्रयोगात्मक सिकाइतर्फ प्रोत्साहन गर्नुहोस् । उद्योगी र लगानीकर्तालाई आग्रह छ, नेपाली विद्यार्थीका परियोजनालाई नजिकबाट हेर्नुहोस् । यहाँ सम्भावना छ, प्रतिभा छ र भविष्यका स्टार्टअपहरू जन्मिने आधार छ ।
आईसीटी समाचार