कीवर्डहरू -

व्हाट्सएपले ल्यायो स्मार्ट ग्रुप च्याट फिचर, अब पोलमा समयसीमा पनि राख्न मिल्ने

व्हाट्सएपले ल्यायो स्मार्ट ग्रुप च्याट फिचर, अब पोलमा समयसीमा पनि राख्न मिल्ने

काठमाडौं । व्हाट्सएपले ग्रुप च्याटलाई थप व्यवस्थित, प्रभावकारी र प्रयोगमैत्री बनाउन नयाँ अपडेट सार्वजनिक गरेको छ । कम्पनीका अनुसार नयाँ सुविधाले समूहमा हुने छलफललाई सहज बनाउनुका साथै छिटो निर्णय लिन र महत्वपूर्ण सन्देश छुट्न नदिन सहयोग गर्नेछ ।

नयाँ अपडेटअन्तर्गत पहिलेदेखि उपलब्ध @all र Polls फिचरमा सुधार गरिएको छ । साथै, पुरानो ग्रुपबाटै सजिलै नयाँ ग्रुप सिर्जना गर्न सकिने सुविधा पनि थपिएको छ । व्हाट्सएपले पोल फिचरलाई थप उपयोगी बनाउँदै प्रयोगकर्ताले अब मतदानका लागि समयसीमा (टाइमर) निर्धारण गर्न सक्ने व्यवस्था गरेको छ । तोकिएको समय सकिएपछि मतदान स्वत: बन्द हुनेछ ।

साथै, पोलमा कसले कुन विकल्पमा मतदान गर्‍यो भन्ने विवरण गोप्य राख्ने विकल्प पनि उपलब्ध हुनेछ । पोल सिर्जना गरेको १५ मिनेटभित्र प्रश्नमा भएका त्रुटि सच्याउन वा सम्पादन गर्न पनि सकिने कम्पनीले जनाएको छ ।

त्यसैगरी, @all मेन्सन फिचरमा पनि परिवर्तन गरिएको छ । अब ३२ जनाभन्दा बढी सदस्य भएका ठूला ग्रुपमा @all प्रयोग गर्ने अधिकार ग्रुप एडमिनलाई मात्र हुनेछ । साथै, प्रयोगकर्ताले नोटिफिकेसन सेटिङमार्फत @all बाट आउने सूचना नियन्त्रण वा म्युट गर्न सक्नेछन् ।

कम्पनीले अर्को महत्वपूर्ण सुविधा पनि थपेको छ, जसअन्तर्गत पुरानो ग्रुपबाटै सजिलै नयाँ सानो ग्रुप बनाउन सकिनेछ । यसका लागि सदस्यहरूलाई फेरि एक एक गरी थप्नुपर्ने झन्झट रहने छैन । ठूलो ग्रुपभित्र कुनै विशेष विषयमा छुट्टै छलफल गर्नुपर्ने अवस्थामा यो सुविधा उपयोगी हुने व्हाट्सएपको विश्वास छ ।

कम्पनीका अनुसार यी नयाँ फिचरहरूले ग्रुप व्यवस्थापनलाई अझ सहज बनाउने, अनावश्यक सूचनाको चाप घटाउने र समूहभित्रको सञ्चारलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।