कीवर्डहरू -

सेवा प्रवाहमा डिजिटल सुधार : ललितपुर महानगरको नयाँ मोडल चर्चामा

सेवा प्रवाहमा डिजिटल सुधार : ललितपुर महानगरको नयाँ मोडल चर्चामा

ललितपुर । ललितपुर महानगरपालिकाले सञ्चालनमा ल्याएको एकद्वार सेवा केन्द्र प्रभावकारी बन्दै गएको छ । नागरिकलाई सहज, छिटो र प्रविधिमैत्री सेवा उपलब्ध गराउने उद्देश्यले २०८१ पुस २ गतेदेखि सुरु गरिएको सेवा केन्द्रले सेवाग्राहीको भौतिक उपस्थिति समेत घटाएको महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाले सेवा प्रवाहलाई झन्झटरहित बनाउँदै एउटै स्थानबाट विभिन्न सेवा उपलब्ध गराउन थालेपछि सेवाग्राहीले पटक–पटक शाखा धाउनुपर्ने अवस्था हट्दै गएको छ । हाल विभिन्न सरकारी कार्यालयमा सेवाग्राहीको भिडभाड भइरहेका बेला ललितपुर महानगरपालिकाको यो प्रणाली प्रभावकारी नमुनाका रूपमा स्थापित हुँदै गएको छ ।

एकद्वार सेवा केन्द्रमा पूर्वाधार निर्माण, वित्तीय व्यवस्थापन तथा प्रशासनिक एवं अन्य गरी तीन वटा काउन्टर सञ्चालनमा छन् । सेवाग्राहीले आवश्यक कागजात एकपटक केन्द्रमा बुझाएपछि सम्बन्धित शाखासम्म फाइल पुर्याउने काम महानगरपालिकाकै कर्मचारीले गर्ने व्यवस्था मिलाइएको छ ।

सेवा केन्द्रमार्फत फाइल कुन शाखामा पुगेको छ, काम सम्पन्न हुन कति समय लाग्नेछ लगायतका जानकारी प्रणालीमै अद्यावधिक हुने व्यवस्था गरिएको छ । काम सम्पन्न भएपछि सेवाग्राहीलाई सन्देशमार्फत जानकारी दिने प्रणालीसमेत लागू गरिएको महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाको एकद्वार सेवा केन्द्र प्रभावकारी बन्दै गएपछि अन्य स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारी समेत अध्ययन भ्रमणका लागि आउने गरेका छन् ।