कीवर्डहरू -

‘ह्याक फर सेफ्टी’ आयोजना गर्दै नेपाल प्रहरी, देशभरका टेक प्रतिभालाई सहभागी हुन आह्वान

‘ह्याक फर सेफ्टी’ आयोजना गर्दै नेपाल प्रहरी, देशभरका टेक प्रतिभालाई सहभागी हुन आह्वान

काठमाडौं । नेपाल प्रहरीले पहिलो पटक सरकारी स्तरमै प्रविधिमा आधारित ‘ह्याकाथन’ प्रतियोगिता आयोजना गर्ने भएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयले आगामी ३० र ३१ जेठमा बुटवलस्थित प्रहरी तालिम केन्द्रमा ३६ घण्टे ‘ह्याक फर सेफ्टी’ कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको हो ।

नेपालमै सरकारी निकायबाट पहिलो पटक हुन लागेको यस कार्यक्रममार्फत प्रविधिको प्रयोग गरी सार्वजनिक सुरक्षालाई अझ प्रभावकारी बनाउने तथा प्रहरी र समुदायबीचको विश्वासलाई सुदृढ गर्ने लक्ष्य लिइएको प्रहरीले जनाएको छ ।

प्रतियोगितामा देशभरका डेभलपर, प्रोग्रामर, आईटी विद्यार्थी तथा प्रविधिमा रुचि भएका व्यक्तिहरूले निःशुल्क सहभागी हुन सक्नेछन् । सहभागीहरूले तीनदेखि चार सदस्यीय टोली बनाएर प्रतिस्पर्धा गर्नुपर्ने व्यवस्था गरिएको छ । व्यक्तिगत रूपमा आवेदन दिनेहरूलाई पनि आयोजकले टोली निर्माणमा सहजीकरण गर्ने बताइएको छ ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोलीलाई एक लाख रुपैयाँ नगद पुरस्कारसहित सरकारी प्रमाणपत्र प्रदान गरिनेछ । कार्यक्रम पूर्ण रूपमा भौतिक उपस्थितिमै सञ्चालन हुनेछ ।

आयोजकका अनुसार सहभागीहरूका लागि कार्यस्थल, खाना तथा खाजाको व्यवस्था प्रहरीले गर्नेछ । तर प्रतिस्पर्धीहरूले आफ्नो ल्यापटप तथा आवश्यक प्राविधिक उपकरण भने आफैं ल्याउनुपर्नेछ ।

प्रहरीले करिब २० देखि २५ टोली छनोट गर्ने तयारी गरेको जनाएको छ । कार्यक्रममा नेपाल प्रहरीको साइबर ब्युरो तथा प्रहरी प्रधान कार्यालयका विज्ञहरूले मेन्टरको भूमिका निर्वाह गर्नेछन् । साथै लुम्बिनी प्रदेश प्रहरीले कार्यक्रमसम्बन्धी जानकारी दिन छुट्टै वेबसाइट पनि सञ्चालनमा ल्याएको छ ।