कीवर्डहरू -

स्मार्टफोन ब्याट्रीलाई २० प्रतिशतदेखि ८० प्रतिशतसम्म मात्र चार्ज गर्ने नियम कति उपयोगी छ ?

स्मार्टफोन ब्याट्रीलाई २० प्रतिशतदेखि ८० प्रतिशतसम्म मात्र चार्ज गर्ने नियम कति उपयोगी छ ?

काठमाडौं । स्मार्टफोन प्रयोगकर्ताहरूबीच लामो समयदेखि एउटा सामान्य सल्लाह चल्दै आएको छ, फोनको ब्याट्रीलाई राम्रो अवस्थामा राख्न २० प्रतिशतदेखि ८० प्रतिशतको बीचमै चार्ज गर्नु राम्रो हुन्छ । धेरै मानिसहरूले यो नियमलाई कडाइका साथ पालना गर्छन् र आफ्नो फोनलाई कहिल्यै १०० प्रतिशतसम्म चार्ज नगर्ने बानी बसालिसकेका छन् ।

यो भनाइको आधारमा ब्याट्रीको लाइफ बढ्ने र यसको हेल्थ लामो समयसम्म राम्रो रहने विश्वास गरिन्छ । तर के यो नियम साँच्चै हरेक प्रयोगकर्ताका लागि लाभदायक छ ? यही प्रश्नको जवाफ खोज्नुपर्छ ।

एक्सपर्ट्स के भन्छन् ?

एक्सपर्ट्सका अनुसार ८० प्रतिशत चार्जिङ नियमको केही वैज्ञानिक आधार अवश्य छ । तर यसको अर्थ फोनलाई कहिल्यै १०० प्रतिशतसम्म चार्ज गर्नु हुँदैन भन्ने होइन । यदि तपाईंले दैनिक रूपमा फोनलाई केवल ८०% सम्म मात्र चार्ज गर्दै हुनुहुन्छ भने, सुरुदेखि नै तपाईंले ब्याट्रीको कुल क्यापासिटीको एक भाग प्रयोग नगरेको जस्तै हुन्छ ।

उदाहरणका लागि, ५०००mAh ब्याट्री भएको फोनलाई ८० प्रतिशतसम्म मात्र चार्ज गर्दा तपाईंले करिब ४०००mAh बराबरको मात्र उपयोग पाउनुहुन्छ ।

समयसँगै घट्दै जान्छ ब्याट्री हेल्थ

फोनमा प्रयोग हुने लिथियम-आयन ब्याट्रीहरू समयसँगै कमजोर हुँदै जान्छन् । चार्जिङ र डिस्चार्जिङका क्रममा हुने रासायनिक परिवर्तनका कारण ब्याट्रीको हेल्थ विस्तारै घट्दै जान्छ । त्यसैले केवल ८० प्रतिशतसम्म चार्ज गर्दैमा ब्याट्रीको गिरावट पूरै रोकिने होइन ।

यसका साथै, निरन्तर सीमित चार्जिङ गर्दा ब्याट्री प्रतिशतको सही गणना र सफ्टवेयर क्यालिब्रेशनमा पनि असर पर्न सक्छ । त्यसैले एक्सपर्ट्सले समय-समयमा फोनलाई १०० प्रतिशतसम्म चार्ज गर्न सुझाव दिने गर्छन्, ताकि ब्याट्री म्यानेजमेन्ट सिस्टम राम्रोसँग काम गरिरहोस् ।

समग्रमा भन्नुपर्दा, ब्याट्रीको हेरचाह गर्नु आवश्यक छ । तर त्यसका लागि फोनको पूरा क्षमता नै प्रयोग नगर्नु सधैं सबैभन्दा राम्रो उपाय होइन । सही चार्जिङ बानी, आवश्यकताअनुसार प्रयोग र समय-समयमा पूर्ण चार्ज गर्नु नै ब्याट्री व्यवस्थापनको सन्तुलित तरिका हुन सक्छ ।