काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई), रोबोटिक्स र कोडिङ क्षेत्रमा नेपाली विद्यार्थीले अन्तरराष्ट्रिय मञ्चमा उल्लेखनीय सफलता हासिल गरेका छन् । इन्डोनेसियाको राजधानी जाकार्तामा आयोजित विश्वस्तरीय प्रतियोगितामा नेपालका सहभागी टोलीहरूले विभिन्न विधामा पुरस्कार जित्दै देशको गौरव बढाएका हुन् ।
७० भन्दा बढी राष्ट्रका विद्यार्थीबीच भएको प्रतिस्पर्धामा नेपालबाट सहभागी ६ टोली पुरस्कृत हुन सफल भए भने थप तीन टोली उत्कृष्ट ३० भित्र स्थान बनाउन सफल भएका छन् । प्रतियोगितामा करिब १,५०० विद्यार्थीको सहभागिता रहेको आयोजकले जनाएको छ ।
विद्यार्थीहरूले वायु प्रदूषण नियन्त्रण, स्वच्छ खानेपानी, आधुनिक कृषि प्रविधि तथा औषधि व्यवस्थापन लगायत संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यसँग सम्बन्धित विषयमा नवप्रवर्तनात्मक परियोजना प्रस्तुत गरेका थिए । यिनै सिर्जनात्मक अवधारणाले नेपाली टोलीलाई अन्तरराष्ट्रिय स्तरमा सफलता दिलाएको हो ।
नेपालबाट प्रतियोगितामा सहभागी गराउने जिम्मा सूचना प्रविधि क्षेत्रमा सक्रिय नीमा एजुकेसन फाउन्डेसनले लिएको थियो । फाउन्डेसनले विभिन्न विद्यालयसँग सहकार्य गर्दै ८ देखि १८ वर्ष उमेर समूहका ९८ विद्यार्थीलाई प्रतियोगितामा सहभागी गराएको जनाएको छ ।
प्रतियोगिताबाट फर्किएका विद्यार्थी र विद्यालयलाई सम्मान गर्न आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा शिक्षा तथा सूचना प्रविधि क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा काठमाडौं विश्वविद्यालयका आइटी विभाग प्रमुख प्राध्यापक डा. सुदन झाले विश्व सूचना प्रविधिको नयाँ चरणमा प्रवेश गरिसकेको उल्लेख गर्दै एआई, रोबोटिक्स र कोडिङ अहिलेको पुस्ताका लागि अपरिहार्य सीप बन्दै गएको बताए । उनले विद्यालय तहदेखि नै सूचना प्रविधिमैत्री शिक्षा प्रणालीलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याए ।
फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत निश्चल प्रधान तथा निर्देशक किरणकुमार श्रेष्ठले नेपालमा प्रविधिमैत्री जनशक्ति उत्पादनका लागि विद्यालय र कलेजहरूसँग सहकार्य गर्दै प्रशिक्षण कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए । अन्तरराष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुन सक्ने क्षमता विकासका लागि नियमित तालिम र शैक्षिक गतिविधि सञ्चालन गरिँदै आएको उनीहरूको भनाइ थियो ।
फाउन्डेसनले आगामी वर्षको प्रतियोगितामा नेपालको उपलब्धिलाई अझ उचाइमा पुर्याउने लक्ष्यसहित नयाँ सिर्जनात्मक र नवप्रवर्तनात्मक कार्यक्रमहरू सञ्चालन गर्ने तयारी गरेको पनि जनाएको छ । नेपाली विद्यार्थीको पछिल्लो सफलता सूचना प्रविधि क्षेत्रमा देशको बढ्दो सम्भावना र अन्तरराष्ट्रिय प्रतिस्पर्धामा नेपाली युवाको क्षमताको उदाहरणका रूपमा हेरिएको छ ।
आईसीटी समाचार