काठमाडौं । क्यानडाले कृत्रिम बुद्धिमत्ता (एआई) च्याटबोट तथा सामाजिक सञ्जाल प्लेटफर्महरूलाई लक्षित गर्दै नयाँ नियमन कानुनको मस्यौदा संसद्मा दर्ता गरेको छ । पछिल्ला महिनामा प्रविधि प्रयोगसँग सम्बन्धित सुरक्षा चिन्ताहरू बढ्दै गएपछि सरकारमाथि कडा नियमनको दबाब बढेको थियो ।
यो कदम फेब्रुअरीमा ब्रिटिश कोलम्बियाको टम्बलर रिजस्थित एक विद्यालयमा भएको गोलीकाण्डपछि झन् तीव्र बनेको हो, जसमा ९ जनाको ज्यान गएको थियो । घटनाको अनुसन्धानका क्रममा मुख्य अभियुक्तले च्याटजीपीटीमार्फत हिंसात्मक सन्देशहरू आदान–प्रदान गरेको तथ्य सार्वजनिक भएको थियो ।
सो घटनाबारे शङ्कास्पद गतिविधि देखिँदा पनि ओपनएआईले प्रहरीलाई समयमै जानकारी नदिएको स्वीकार गरेपछि क्यानडामा व्यापक आक्रोश फैलिएको थियो । यही पृष्ठभूमिमा सरकारले बुधबार नयाँ विधेयक अघि सारेको हो ।
प्रस्तावित कानुनले डिजिटल सेवाहरूलाई नियमन गर्न एक स्वतन्त्र नियामक निकाय गठन गर्ने व्यवस्था गरेको छ । साथै, क्यानडाले अस्ट्रेलियाको अभ्यासलाई अनुसरण गर्दै १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने सम्भावना समेत अघि बढाएको छ ।
नयाँ कानुनले एआई च्याटबोटहरूलाई हानिकारक सामग्री खोज्ने वा त्यस्ता कुराकानी गर्ने प्रयोगकर्तालाई उच्च जोखिमको रूपमा पहिचान गर्नुपर्ने व्यवस्था गर्नेछ । आत्महत्या वा आत्म–हानिसम्बन्धी विषयमा संवाद हुँदा तत्काल ‘क्राइसिस इन्टरभेन्सन’ सहायता उपलब्ध गराउनुपर्ने दायित्व पनि तोकिनेछ ।
क्यानडाका पहिचान तथा संस्कृति मन्त्री मार्क मिलरले डिजिटल प्लेटफर्महरूलाई सुरक्षित बनाउनु सरकारको प्राथमिकता भएको बताएका छन् । उनका अनुसार घटनासम्बन्धी प्रारम्भिक संकेतहरू कम्पनीभित्रै चिन्हित भए पनि आवश्यक सूचना प्रहरीसम्म नपुग्नु गम्भीर कमजोरी हो ।
तर प्रस्तावित कानुनलाई लिएर प्राविधिक क्षेत्रका विशेषज्ञ र शिक्षाविद्हरूले मिश्रित प्रतिक्रिया दिएका छन् । उनीहरूले यसमा व्यवहारिक कार्यान्वयनका चुनौती र सम्भावित कानुनी कमजोरी रहेको औंल्याएका छन् ।
कतिपय विश्लेषकहरूले VPN जस्ता प्रविधिको प्रयोगले यस्ता प्रतिबन्धलाई सजिलै छल्न सकिने भएकाले यसको प्रभावकारितामाथि प्रश्न उठाएका छन् । प्रविधि कम्पनीहरूका तर्फबाट पनि फरक धारणा आएको छ ।
मेटाले सामाजिक सञ्जालमाथि कडा प्रतिबन्ध लगाउनु प्रभावकारी नहुने बताएको छ भने गुगलले बालबालिकाको अनलाइन सुरक्षाका लागि सरकारसँग सहकार्य गर्न तयार रहेको जनाएको छ ।
टिकटकले भने आफ्ना प्लेटफर्ममा पहिले नै सुरक्षा नियन्त्रण प्रणाली सक्रिय रहेको र अभिभावकले ‘फ्यामिली पेयरिङ’मार्फत निगरानी गर्न सक्ने व्यवस्था रहेको दाबी गरेको छ । ओपनएआईले यसअघि नै घटनासम्बन्धी सूचना ढिलाइ भएको स्वीकार गर्दै क्यानडाली अधिकारीहरूसँग माफी मागिसकेको छ ।
आईसीटी समाचार