कीवर्डहरू -

विदेशमा रहेका नेपाली विज्ञलाई नवप्रवर्तनमा जोड्न मन्त्री पुनको आह्वान

विदेशमा रहेका नेपाली विज्ञलाई नवप्रवर्तनमा जोड्न मन्त्री पुनको आह्वान

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले विदेशमा रहेका नेपाली वैज्ञानिक, अनुसन्धानकर्ता, शिक्षाविद् तथा पेशाकर्मीहरूको ज्ञान, सीप र अनुभवलाई नेपालको आर्थिक रूपान्तरणसँग जोड्नुपर्नेमा जोड दिएका छन् । उनले विश्वभर रहेका नेपाली विज्ञहरूलाई नेपालको नवप्रवर्तन अभियानमा सक्रिय रूपमा सहभागी हुन आह्वान गरेका हुन् ।

विज्ञ, अनुसन्धानकर्ता, शिक्षाविद् तथा विदेशमा कार्यरत नेपाली पेशाकर्मीहरूसँग आयोजित छलफल कार्यक्रममा मन्त्री पुनले नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय अहिले प्रारम्भिक चरणमा रहेको उल्लेख गर्दै यसको संस्थागत विकासका लागि स्वदेश तथा विदेशका नेपाली विज्ञहरूको सहकार्य अपरिहार्य रहेको बताए ।

उनले मन्त्रालयसँग हालसम्म समर्पित प्राविधिक जनशक्ति, स्पष्ट कार्यसंरचना तथा आवश्यक कानुनी आधार पूर्ण रूपमा तयार नभएको स्वीकार गर्दै आगामी तीन महिनाभित्र संस्थागत संरचना निर्माण गर्ने लक्ष्य रहेको जानकारी दिए । साथै, विश्वविद्यालयहरूमा हुने अनुसन्धानलाई व्यवहारमुखी र उत्पादनमूलक बनाउने योजनामा मन्त्रालय अघि बढिरहेको बताए ।

मन्त्री पुनले नेपाली विश्वविद्यालयहरूमा नवप्रवर्तन केन्द्र (Innovation Center) र उत्कृष्टता केन्द्र (Center of Excellence) स्थापना गर्ने आवश्यकता औँल्याउँदै गम्भीर अनुसन्धानमा संलग्न हुने अनुसन्धानकर्ताका लागि आवासीय सुविधासहितका अनुसन्धान केन्द्र स्थापना गर्ने तयारी भइरहेको जानकारी दिए ।

उनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) सम्बन्धी कानुन समयानुकूल परिमार्जन गर्न प्रक्रिया सुरु भइसकेको बताउँदै सूचना प्रविधि (आईटी) र कृत्रिम बौद्धिकता (एआई) लाई राष्ट्रिय प्राथमिकताका क्षेत्रका रूपमा अघि बढाइँदै आएको उल्लेख गरे । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले समेत यी विषयलाई विशेष प्राथमिकतामा राखेको उनले बताए ।

यस्तै मन्त्री पुनका प्रमुख सल्लाहकार सञ्जय पौडेलले नास्टसँग सम्बन्धित नीति तथा जिम्मेवारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा स्थानान्तरण भइरहेको जानकारी दिए ।

उनले नास्टको अनुसन्धान संरचनालाई पुनर्गठन गरी विज्ञान तथा नवप्रवर्तन सेवा प्रणाली विकास गर्नुपर्ने, सार्वजनिक हितका लागि राष्ट्रिय ज्ञान तथा विज्ञता केन्द्र स्थापना गर्नुपर्ने तथा रिसर्च सेन्टर फर एप्लाइड साइन्स एन्ड टेक्नोलोजी (रिकास्ट) को भूमिकाको पुनरावलोकन गर्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा सहभागीहरूले विज्ञान, प्रविधि र नवप्रवर्तनलाई नेपालको आर्थिक रूपान्तरणको प्रमुख आधार बनाउने साझा प्रतिबद्धता व्यक्त गर्दै विश्वभर रहेका नेपाली विज्ञहरूको ज्ञान, अनुभव र सक्रिय सहभागिताले यस अभियानलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताएका थिए ।