काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् ।
धवलागिरी गाउँपालिका समाजले काठमाडौंमा आयोजना गरेको ‘समृद्ध म्याग्दीमा जनप्रतिनिधिहरूको भूमिका’ विषयक अन्तरक्रियामा मन्त्री पुनले देशमा आवश्यक औजार, उपकरण, सामाग्री तथा वस्तु स्वदेशमै उत्पादन गर्ने वातावरण बनाउन अनुसन्धानमा लगानी बढाउनुपर्ने बताए ।
उनका अनुसार अनुसन्धान र आविष्कारलाई उत्पादन तथा रोजगारीसँग जोडेर आयात घटाउने सरकारको लक्ष्य छ । उनले आवश्यक जनशक्ति उत्पादन गर्नुका साथै दक्ष जनशक्तिलाई रोजगारी र अवसरका लागि विदेशिनुपर्ने अवस्था अन्त्य गर्न मन्त्रालयले कार्यक्रम अघि बढाइरहेको जानकारी दिए ।
कार्यक्रममा म्याग्दीका धवलागिरी, मालिका र अन्नपूर्ण गाउँपालिकाका जनप्रतिनिधि तथा काठमाडौंमा बसोबास गर्दै आएका म्याग्दीवासीबीच जिल्लाको आर्थिक तथा सामाजिक विकासका विषयमा छलफल भएको थियो ।
मन्त्री पुनले कृषिको आधुनिकीकरण, जलविद्युत्, पर्यटन र पशुपालनलाई म्याग्दीको समृद्धिको प्रमुख आधारका रूपमा अघि बढाउन सकिने बताए । स्थानीय स्रोत, साधन र सम्भावनाको अधिकतम उपयोग गर्न सके जिल्लामा रोजगारीका अवसर समेत सिर्जना गर्न सकिने उनको भनाइ थियो ।
मेलाजात्राले शिक्षामा असर गरेको मन्त्री पुनको भनाइ
मन्त्री पुनले म्याग्दीमा हुने मेलाजात्रालाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए । लगातार आयोजना हुने मेलाका कारण किशोरकिशोरीको पढाइ प्रभावित भएको उनको भनाइ थियो ।
“टोलटोलमा लगातार मेलाजात्रा लगाउँदा किशोरकिशोरीहरूको पढाइ नराम्ररी बिग्रेको छ,” उनले भने, “नामका लागि विदेशबाट मेलाका लागि लाखौँ रकम प्रायोजन गर्ने र गाउँमा हप्तौँ मेला लगाउने चलन हटाउन सकेमा म्याग्दीको शिक्षा र समाजको सुधार हुन्छ ।”
उनले सामाजिक तथा सांस्कृतिक गतिविधिलाई व्यवस्थित गर्दै शिक्षा र विकाससँग जोड्नुपर्ने बताए ।
दुई नयाँ पदमार्ग सञ्चालनमा ल्याइने
मन्त्री पुनले संघीय सरकारले चालु वर्ष म्याग्दीमा दुई नयाँ पदमार्ग सञ्चालनमा ल्याउने तयारी गरेको जानकारी दिए । धवलागिरी गाउँपालिकाको मुदीदेखि गुर्जा हुँदै ढोरपाटनको जलजला जोड्ने तथा अन्नपूर्ण गाउँपालिकाको दोवादेखि सोवाङ धुरी हुँदै रघुगंगा गाउँपालिकाको चिमखोला जोड्ने पदमार्ग सञ्चालनमा ल्याइने उनले बताए ।
यसैगरी, बेनी–दरबाङ सडकअन्तर्गत फापरखेत र बेनी–जोमसोम सडकअन्तर्गत सिरुवारीको पहिरो नियन्त्रणको काम वर्षायाम सकिएलगत्तै सुरु गरिने मन्त्री पुनले जानकारी दिए । उनले म्याग्दीका रणनीतिक महत्वका सडक आयोजनालाई संघीय सरकारले प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धतासमेत जनाए ।
आईसीटी समाचार