काठमाडौं । विश्वव्यापी भुक्तानी सेवा प्रदायक कम्पनी भिसाले करिब २ हजार ६ सय कर्मचारी कटौती गर्ने घोषणा गरेको छ । कम्पनीका अनुसार यो संख्या उसको कुल कार्यबलको झण्डै ७ प्रतिशत हो ।
भिसाले भविष्यको व्यावसायिक आवश्यकता र प्रविधिगत परिवर्तनलाई ध्यानमा राख्दै जनशक्ति तथा स्रोत व्यवस्थापन पुनर्संरचना गर्न लागेको जनाएको छ । कम्पनीले विशेष गरी कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा लगानी बढाउने रणनीति अघि सारेको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत रायन म्याकइनर्नीले यसअघि भिसाले ‘एजेन्टिक एआई’ प्रणालीको विकास तथा प्रयोगमा ध्यान केन्द्रित गरिरहेको बताएका थिए । यस्तो प्रणालीले मानवीय निगरानी सीमित गर्दै विभिन्न काम स्वचालित रूपमा सम्पन्न गर्न सक्ने भएकाले कम जनशक्तिबाट बढी काम गर्ने दिशामा कम्पनी अघि बढेको हो ।
एआई विस्तारसँगै रोजगारीमा दबाब
भिसाको कर्मचारी कटौतीको निर्णय पछिल्लो समय ठूला प्रविधि तथा वित्तीय कम्पनीहरूले एआई अपनाउँदै आफ्नो कार्यबल पुनर्संरचना गरिरहेको प्रवृत्तिकै हिस्सा भएको देखिएको छ ।
यसअघि Mastercard र फिनटेक कम्पनी Block ले पनि कर्मचारी संख्या घटाउने घोषणा गरिसकेका छन् । भिसाको पुनर्संरचनाबाट प्रभावित हुनेमा नयाँ वा कनिष्ठ कर्मचारी मात्र नभई इन्जिनियरिङ व्यवस्थापक, वरिष्ठ निर्देशक तथा लामो समयदेखि कम्पनीमा कार्यरत कर्मचारी समेत रहेको मिडिया रिपोर्टमा उल्लेख छ ।
कम्पनीले प्रभावित कर्मचारीलाई सूचना अवधिसँगै बिच्छेद तथा अन्य सुविधा प्याकेज उपलब्ध गराउने जनाएको छ । एआई प्रविधिको तीव्र विस्तारसँगै कम्पनीहरूले दक्ष जनशक्तिको भूमिका पुनर्परिभाषित गर्न थालेका बेला भिसाको यो निर्णयलाई वित्तीय क्षेत्रमा एआईका कारण भइरहेको कार्यबल परिवर्तनको महत्वपूर्ण उदाहरणका रूपमा हेरिएको छ ।
आईसीटी समाचार