कीवर्डहरू -

एप्पलले ल्यायो फोल्डेबल फोन, सामसङले गर्‍यो व्यंग्य : हेर्नुहोस् दुवैमा के छ खास ?

एप्पलले ल्यायो फोल्डेबल फोन, सामसङले गर्‍यो व्यंग्य : हेर्नुहोस् दुवैमा के छ खास ?

काठमाडौं । लामो समयको प्रतीक्षापछि एप्पलले फोल्डेबल स्मार्टफोन बजारमा प्रवेश गरेको छ । एप्पलले पहिलो फोल्डेबल फोन ‘आईफोन डुओ’ सार्वजनिक गरेसँगै प्रतिस्पर्धी कम्पनी सामसङले भने स्वागतसँगै व्यंग्यात्मक प्रतिक्रिया दिएको छ ।

सामसङले एप्पल फोल्डेबल फोन बजारमा प्रवेश गर्ने तयारीबारे आफू पहिल्यै जानकार रहेको जनाएको छ । कम्पनीले एप्पलको प्रवेशलाई सकारात्मक रूपमा लिँदै सामाजिक सञ्जालमार्फत हल्का व्यंग्य समेत गरेको हो ।

एप्पलले ९ सेप्टेम्बरमा क्युपर्टिनोमा आयोजित ‘सरप्राइज एन्ड शाइन’ कार्यक्रममा आईफोन डुओ सार्वजनिक गरेको हो । फोनमा ७.६ इन्चको आन्तरिक डिस्प्ले र ५.४ इन्चको बाहिरी डिस्प्ले दिइएको छ ।

एप्पललाई सामसङको व्यंग्य
सामसङ मोबाइलको अमेरिकी इकाइले सामाजिक सञ्जाल एक्समार्फत एप्पलको फोल्डेबल आईफोनबारे प्रतिक्रिया दिएको छ । कम्पनीले व्यंग्यात्मक शैलीमा एप्पलले आफ्नो पुरानो आइडियालाई फेरि ‘तताएर’ ग्राहकसमक्ष ल्याएको भन्दै टिप्पणी गरेको छ ।

सामसङले आफ्नो पोस्टमा लोकप्रिय भाषा सिकाइ एप ‘डुओलिङ्गो’लाई समेत ट्याग गरेको थियो । डुओलिङ्गोले पनि उक्त पोस्टमा रमाइलो शैलीमा प्रतिक्रिया दिँदै एप्पलले आफ्नो फोल्डेबल फोनको नाम समेत ‘आईफोन डुओ’ राखेको भन्दै मजाक गरेको थियो ।

फोल्डेबल बजारमा एप्पललाई सामसङको स्वागत
एप्पलको औपचारिक घोषणा हुनुअघि नै सामसङले फोल्डेबल स्मार्टफोन बजारमा एप्पललाई स्वागत गरेको थियो । सामसङले सामाजिक सञ्जालमा ‘वेलकम टु फोल्डेबल्स’ भन्दै भिडियो समेत सार्वजनिक गरेको थियो ।

भिडियोमा सामसङका एक कार्यकारीले एप्पल फोल्डेबल फोनको बजारमा प्रवेश गरेकोमा आफूहरू खुसी भएको बताएका छन् । उनका अनुसार सामसङले सुरु गरेको फोल्डेबल फोनको अवधारणालाई अहिले एप्पलले पनि अपनाउनु यो प्रविधिको बजार विस्तारका लागि महत्वपूर्ण भएको संकेत हो ।

एप्पल र सामसङमा के फरक ?
मूल्यको हिसाबले एप्पलको फोल्डेबल आईफोन सामसङको तुलनामा महँगो छ । सामसङले सन् २०२६ मा सार्वजनिक गरेको ‘ग्यालेक्सी जेड फोल्ड८’को सुरुआती मूल्य भारतीय बजारमा करिब १ लाख ७५ हजार रुपैयाँ रहेको बताइएको छ । यसको तुलनामा आईफोन डुओको सुरुआती मूल्य करिब २ लाख ९९ हजार रुपैयाँ पर्नेछ ।

एप्पलको फोनमा ए२० प्रो चिप, आईओएसमा आधारित सफ्टवेयर अनुभव, प्रिमियम डिजाइन र एप्पलको इकोसिस्टम प्रमुख आकर्षणका रूपमा रहेका छन् । साथै, २ टीबीसम्मको स्टोरेज विकल्प र एप्पलका उत्पादनको पुन:बिक्री मूल्यलाई पनि यसको बलियो पक्षका रूपमा हेरिएको छ ।

ठूलो डिस्प्ले र मल्टिटास्किङमा सामसङ अगाडि
ठूलो स्क्रिन चाहने प्रयोगकर्ताका लागि सामसङको ग्यालेक्सी जेड फोल्ड८ आकर्षक विकल्प बन्न सक्छ । यसमा ८ इन्चको आन्तरिक डिस्प्ले रहेको छ, जुन आईफोन डुओको ७.६ इन्चको डिस्प्लेभन्दा ठूलो हो ।

त्यस्तै, सामसङको बाहिरी डिस्प्ले पनि एप्पलको ५.४ इन्चको बाहिरी स्क्रिनभन्दा ठूलो रहेको बताइएको छ । एन्ड्रोइड अपरेटिङ सिस्टमका कारण सामसङको फोल्डेबल फोनमा मल्टिटास्किङ तथा विभिन्न एप प्रयोग गर्ने सुविधा पनि फराकिलो छ ।

फोल्डेबल स्मार्टफोन बजारमा सामसङको लामो अनुभव पनि एप्पलका लागि ठूलो चुनौती बन्न सक्छ । हाल फोल्डेबल फोन बजारमा सामसङको हिस्सा करिब ३८ प्रतिशत रहेको दाबी गरिएको छ ।

यससँगै फोल्डेबल स्मार्टफोनको बजारमा पहिलोपटक एप्पल र सामसङबीच प्रत्यक्ष प्रतिस्पर्धा देखिने भएको छ । एप्पलको ब्रान्ड र इकोसिस्टम तथा सामसङको फोल्डेबल प्रविधिको अनुभवबीचको प्रतिस्पर्धाले आगामी दिनमा यो बजारलाई थप रोचक बनाउने अपेक्षा गरिएको छ ।