कीवर्डहरू -

ई-जीपी किन रोकियो ? रास्वपा सांसद गजुरेलले दिए यस्तो स्पष्टीकरण

ई-जीपी किन रोकियो ? रास्वपा सांसद गजुरेलले दिए यस्तो स्पष्टीकरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद आशिष गजुरेलले सरकारी ठेक्का तथा सार्वजनिक खरिदमा प्रयोग हुँदै आएको विद्युतीय खरिद प्रणाली (ई-जीपी) प्राविधिक तथा सुरक्षा समस्याका कारण अस्थायी रूपमा प्रयोगमा नरहेको बताएका छन् । यद्यपि, यसका कारण सार्वजनिक खरिद प्रक्रिया नै अनिश्चितकालका लागि रोकिएको अवस्था नरहेको उनले स्पष्ट पारेका छन् ।

सामाजिक सञ्जालमार्फत जानकारी दिँदै गजुरेलले ई-जीपी प्रणालीमा गम्भीर सुरक्षा कमजोरी देखिएपछि त्यसलाई सुधार गर्ने काम भइरहेको बताएका हुन् । उनका अनुसार प्रणालीमा एउटा प्रस्तावदाताले अर्को प्रस्तावदाताले पेस गरेको प्रस्ताव हेर्न वा त्यसमा पहुँच राख्न सक्ने अवस्था देखिएको छ ।

यस्तो कमजोरी कायम रहँदा सार्वजनिक खरिद प्रक्रियाको निष्पक्ष प्रतिस्पर्धामा असर पर्न सक्ने भन्दै उनले तत्काल प्रणाली सुधार गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । प्रतिस्पर्धीको प्रस्तावमा अर्को प्रस्तावदाताको पहुँच पुग्ने अवस्था रहनु सार्वजनिक खरिदको पारदर्शिता र प्रतिस्पर्धाका दृष्टिले गम्भीर विषय भएको उनको भनाइ छ ।

ई-जीपी प्रणालीमा समस्या देखिए पनि त्यसकै कारण ठेक्का र सार्वजनिक खरिदसम्बन्धी सम्पूर्ण काम बन्द नभएको गजुरेलले बताए । उनका अनुसार हाल टेन्डर खोल्ने, प्रस्ताव पेस गर्ने, प्रस्तावको मूल्यांकन गर्ने, छनोट गर्ने तथा करार सम्झौता गर्नेलगायतका प्रक्रिया हार्ड कपीमार्फत सञ्चालन भइरहेका छन् ।

ई-जीपी प्रणाली कहिलेदेखि पुन: सञ्चालनमा आउने भन्नेबारे भने अहिलेसम्म निश्चित मिति तय भइनसकेको उनले बताएका छन् । प्रणालीमा देखिएको सुरक्षा कमजोरी समाधान गर्न विज्ञहरूबाट काम भइरहेको र सुधार सकेसम्म छिटो पूरा गरी विद्युतीय प्रणालीमै फर्किने तयारी भइरहेको गजुरेलको भनाइ छ ।

निर्माण तथा विकासका कामलाई प्रभावकारी रूपमा अघि बढाउन सार्वजनिक खरिद प्रक्रिया पनि पारदर्शी, प्रतिस्पर्धी र व्यवस्थित हुनुपर्नेमा उनले जोड दिएका छन् । विद्यमान कमजोरीलाई बेवास्ता गरेर गलत अभ्यासलाई निरन्तरता दिँदा त्यसले मुलुकलाई दीर्घकालीन आर्थिक क्षति पुर्‍याउन सक्ने उनले चेतावनी दिएका छन् ।

गजुरेलले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई ई-जीपी प्रणालीमा देखिएको समस्या यथाशीघ्र समाधान गरी पुन: सञ्चालनमा ल्याउन आग्रह गरेका छन् । प्रणाली सुधारका लागि आफूले आवश्यक सहजीकरण गरिरहेको समेत उनले बताएका छन् ।