कीवर्डहरू -

उत्कृष्ट ५ क्लाउड स्टोरेजहरु

उत्कृष्ट ५ क्लाउड स्टोरेजहरु

प्रयोगकर्ता र विभिन्न संगठनहरुले न्यूनतन खर्च गरेर आफ्नो डाटाहरु सेभ गर्न मिल्ने क्लाउड स्टोरेजहरु खोजिरहेका हुन्छन् । त्यसैगरी क्लाउड स्टोरेज प्रोभाइडरहरु भने डाटा स्टोरेज गर्नलाई हार्डवेरहरुलाई हटाएर क्लाउडको प्रयोगलाई बढी प्राथमिकता दिँदै क्लाउड स्टोरेजलाई अझै सजिलो र सस्तो बनाउनतिर लागिरहेका छन् । २०१८ मा राम्रा मानिएका क्लाउडहरुका विशेषताबारे यहाँ उल्लेख गरिएको छ । वास्तवमा सबै क्लाउड स्टोरेजहरुका आ–आफ्नै विशेषता र सेवासुविधाहरु छन् । कम्पनी र व्यक्तिकोे आवश्यकता अनुसार हामीले यी मध्येका कुनै पनि क्लाउड स्टोरेजहरु प्रयोग गर्न सक्छौं । यसर्थ, २०१८ का उत्कृष्ट क्लाउड स्टोरेजहरु यस प्रकार छन् :

१. ड्रपबक्स
अमेरिकन कम्पनीले निर्माण गरेको एक क्लाउड स्टोरेज प्रोभाइडरमध्ये ड्रपबक्स पनि एक हो । ड्रपबक्सले २ जिबी स्टोरेज भने आफ्नो ग्राहकलाई सित्तैमा दिन्छ । ड्रपबक्सलाई आफ्नो सामाजिक संजालमा लिङ्क गरेर र आफ्ना साथीहरुलाई यो सर्भिस चलाउन लगाएमा ड्रपबक्सले शुल्कविना नै १६ जिबी स्टोरेज दिने गर्छ । ड्रपबक्स बिजनेश सब्सक्राइबरको प्रयोगकर्तालाई ड्रपबक्सले आफ्नो पर्सनल अकाउन्टमा अनलिमिटेड स्पेस दिएको छ र फाइल रिकभरी र संस्करणका लागि पनि सुविधाहरु छन् ।

ड्रपबक्समा जिमेलका लागि एड–अन पनि छ । मासिक रुपमा १२.५० अमेरिकी डलर (करिब रु १४३३.३८) पर्ने ड्रपबक्सको सर्भिस ३० दिनका लागि फ्रि ट्राइल लिन मिल्छ । ड्रपबक्स प्लसमा १ टिबीको मूल्य मासिक रुपमा १० अमेरिकी डलर (करिब रु ११४६.७०) पर्छ भने ड्रपबक्स प्रोफेशनलमा २ टिबीको मूल्य मासिक रुपमा १९.९९ अमेरिकी डलर (करिब रु २२९२.२५) पर्छ ।

२. गुगल ड्राइभ
फाइल स्टोरेज गर्न मिल्ने, तस्विर सेयर गर्न र अन्य डकुमेन्ट सेभ गर्न मिल्ने एक क्लाउड स्टोरेज गुगल ड्राइभ हो । यो गुगलले निर्माण गरेको हो । एन्ड्रोइड फोनमा पहिले नै जडान गरिने गुगल फोटोज नामक एपको प्रयोगले प्रयोगकर्ताले आफ्नो मोबाइलमा हाई डेफिनेसन तस्विरहरु स्टोर गर्न सक्छन् । विन्डोज र म्याकका प्रयोगकर्ताले पनि डेस्कटप एप डाउनलोड गरेर आफ्ना फइलहरु राख्न र निकाल्न सक्छन् ।

गुगल ड्राइभमा १५ जिबी स्टोरेज सित्तैमा प्रयोग गर्न मिल्छ र त्यो भन्दा बढी स्टोरेज चाहिएमा मासिक रुपमा निश्चित शुल्क तिरेर स्टोरेज किन्न सकिन्छ । १०० जिबी स्टोरेजका लागि मासिक रुपमा १.९९ अमेरिकी डलर (करिब रु २२८.१९), २०० जिबी स्टोरेजका लागि मासिक रुपमा २.९९ अमेरिकी डलर (करिब रु ३४२.८६), २ टीबी स्टोरजका लागि मासिक रुपमा ९.९९ अमेरिकी डलर (करिब रु ११४५.५५) र १० टिबी स्टोरजका लागि मासिक रुपमा ९९.९९ अमेरिकी डलर (करिब रु ११४६५.८५) पर्छ ।

३. मेगा
मेगा लिमिटेड (अकलेन्ड बेस्ड कम्पनी)ले बनाएको मेगा एक क्लाउड स्टोरेज र फाइल होस्टिङ सर्भिस हो । सजिलो ड्राग एन्ड ड्रप इन्टरफेस भएको मेगा क्लाउड स्टोरेजको मोबाइल एपको प्रयोगले जो कोहीले पनि सजिलै फोटो अपलोड र क्लाइन्टहरुसँग डाटा सिङ्क गर्न सक्छ । मेगामा स्टोर भएको डाटा फर्मको सर्भमा पुग्नुअघि डिभाइसमा इन्क्रिप हुन्छ । सिङ्क भएका क्लाइन्टका लागि कम्पनीले सोर्स कोड दिएको हुनाले विशेषज्ञहरुले कुनै कमजोरीहरु छ छैन भनेर जाँच गर्न सक्छन् ।

मेगा क्लाउड स्टोरेजमा ५० जिबी स्पेस फ्रि हुन्छ । २०० जिबी क्लाउड स्टोरेज खरिद गर्न मासिक रुपमा ६ अमेरिकी डलर (करिब रु ६९३.९६), १ टिबी क्लाउड स्टोरेज खरिद गर्न मासिक रुपमा १२ अमेरिकी डलर (करिब रु १३८७.९२), ४ टीबी क्लाउड स्टोरेज खरिद गर्न मासिक रुपमा २३ अमेरिकी डलर (करिब रु २६६०.१८) र ८ टीबी क्लाउड स्टोरेज खरिद गर्न मासिक रुपमा ३५ अमेरिकी डलर (करिब रु ४०४८.१०) पर्दछ ।

४. वान ड्राइभ
वान ड्राइभ अथवा स्काइ ड्राइभ माइक्रोसफ्ट र विन्डोज प्रयोगकर्ताहरुका लागि बनाइएको फाइल होस्टिङ सर्भिस हो । विन्डोज १० को फाइल एक्सप्लोररसँगै आउने वान ड्राइभ माइक्रोसफ्टको फोटो एपसँग पनि प्रयोग गर्न सकिन्छ । यसको एप एन्ड्रोइड र आइओएसको डिभाइसमा पनि पाइन्छ ।

वान ड्राइभका प्रयोगकर्ताका लागि ५ जिबी स्पेस फ्रि हुन्छ र ५० जिबी थप स्पेस किन्न मासिक रुपमा ३ अमेरिकी डलर (करिब रु ३४६.९८) तिर्नुपर्ने हुन्छ । त्यसैगरी १ टीबी स्पेस किन्नका लागि मासिक रुपमा ८ अमेरिकी डलर (करिब रु ९२५.२८) र ५ टिबी स्पेस किन्नको लागि मासिक रुपमा ११ अमेरिकी डलर (करिब रु १२७२.२६) तिर्नुपर्छ ।

५. आइ क्लाउड
एपलले निर्माण गरेको क्लाउड स्टोरेज आइ क्लाउड हो । जो कोही आइफोन प्रयोगकर्ताले पनि आइ क्लाउडमा आफ्नो फोटोहरु ब्याक अप गर्न सक्छ । आइफोन प्रयोगकताहरुको लागि आइ क्लाउडमा ५ जिबी स्पेस फ्रि हुन्छ र अरु क्लाउडको दाँजामा यसको मूल्य उचित हुन्छ । विन्डोज युजरले पनि आफ्ना फाइलहरु आइ क्लाउड ड्राइभमा साइन्क्स गर्न मिल्छ र आइ क्लाउड वेबसाइटमा आइवर्क एपसँग पहँुच गर्न मिल्छ ।

आइ क्लाउडमा ५० जिबी थप स्पेस लिन ग्राहकले मासिक रुपमा ०.९९ अमेरिकी डलर (करिब रु ११४.५०), २०० जिबी स्पेस लिनका लागि मासिक रुपमा २.९९ अमेरिकी डलर (करिब रु ३४५.८२) र २ टिबी स्पेस लिनका लागि मासिक रुपमा ९.९९ अमेरिकी डलर (करिब रु ११५५.४४) तिर्नुपर्छ ।