कीवर्डहरू -

अबको भविष्यः मेटाभर्स

अबको भविष्यः मेटाभर्स

कल्पना गर्नुहोस् त तपाईंले म्यासेन्जरमा भिडियो कल मोबाईलको स्क्रीनमा होइन, वास्तविक दुनियाँमा आफैले भेटे जसरी बोल्दै हुनुहुन्छ ।

तपाईं क्रिकेट अथवा फुटबल प्रेमी हुनुहुन्छ र स्टेडियममा गएर खेल हेर्न पाउनु भएन भने पनि चिन्ता नलिनुहोस, अब तपाईंले घरमै बसेर स्टेडियमको रोमाञ्चक अनुभव गर्न सक्नुहुनेछ।

तपाईं फिल्म हेर्नुहुन्छ भने मेटाभर्समा तपाईं त्यो फिल्मको कथाको दुनियाँ भित्र गएर हेर्न सक्नुहुनेछ । जसरी त्यो घटना तपाईंको अगाडि नै भइराखेको छ ।

त्यसैगरी तपाईं काम गर्नुहुन्छ, पढाई गर्नुहुन्छ, किनमेल गर्नुहुन्छ, लगभग सबै काम गर्नुहुन्छ, जुन तपाईंले वास्तविक दुनियाँमा गर्नुहुन्छ ।

तर त्यो नक्कली कृत्रिम दुनियाँ यस्तो दुनियाँ हुनेछ, जहाँ आफ्नो कोठामा बसेर एउटा विशेष हेडसेट वा चश्मा लगाएर वास्तविक जस्तै दुनियाँ अनुभव गर्न सकिने छ । त्यो कृत्रिम दुनियाँको नाम हो, मेटाभर्स ।

ईन्टरनेटमा अहिलेसम्म जतिपनि काम गर्नुहुन्छ, त्यो सबै टुडी टु डायमेन्सियलमा गर्नु भइरहेको छ। अब मेटाभर्समा यी सब काम थ्रिडीमा गर्न सकिनेछ । त्यो पनि महसुस गरेर, जस्तो कि तपाईं वास्तवमै त्यहाँ हुनुहुन्थ्यो । मेटाभर्स, तपाईले स्क्रिनमा हेरिरहनु भएको इन्टरनेट होइन तर वास्तवमा मेटाभर्समा तपाई नै त्यो भित्र हुनु हुनेछ ।

\"\"

अब आउने समयमा तपाईंले एउटा शब्द धेरै सुन्नुहुनेछ। त्यो हो मेटाभर्स। भनिन्छ, यो यस्तो प्रविधि हुनेछ, जसले ईन्टरनेटलाई प्रतिस्थापन गर्नेछ र यो मानवताको भविष्य बन्नेछ । के हो त यो मेटाभर्स ? के यो आवश्यक छ ? के छन् यसका फाईदा र बेफाईदाहरु ?

मेटाभर्सको अर्थ

मेटाभर्स दुई शब्दले बनेको छ, मेटा र भर्स । मेटा शब्द ग्रीकबाट आएको हो, जसको अर्थ हुन्छ पर अर्थात वियोन्ड र भर्स युनिभर्सबाट लिएको हो । यो मेटाभर्स यस्तो हुनेछ, जुन हाम्रो युनिभर्स भन्दा पर हुनेछ ।

यो सामाजिक जडानमा केन्द्रित थ्रिडी भर्चुअल संसारहरूको एउटा नेटवर्क हो । यसको कुनै वास्तविक अस्तित्व छैन तर मोबाईल, कम्प्युटर भित्र हुने अवास्तविक संसार हो ।

सामान्यत मेटाभर्स शब्दको उत्पत्ति सन् १९९२ मा प्रकाशित साइन्स फिक्सन उपन्यास स्नो क्र्यास बाट भएको थियो ।यस उपन्यासमा लेखकले एउटा यस्तो दुनियाँको बारेमा कुरा गर्छन्, जहाँ वास्तविक दुनियाँको नष्ट भइसक्नु र बाहिरको दुनियाँ मानिसहरुको लागि बाँच्न लायक नभएको कारण जो कोही पनि भवनहरुको भित्र आफ्नो कोठामा बसेर एउटा भर्चुअल संसारमा जिन्दगी बिताउँछन् । यो सुन्दा एकदम डरलाग्दो लाग्छ तर फेसबुक र माइक्रोसफ्ट जस्ता ठुला कम्पनीहरु यसैको बिस्तारमा लागिपरेका छन ।

गत बर्षको अक्टोबरमा फेसबुकले आफ्नो प्यारेन्ट कम्पनीको नाम मेटा राखेको थियो । फेसबुकले अब आफ्नो ध्यान मेटाभर्समै केन्द्रित गर्ने हुनाले यो परिवर्तन ल्याएको धेरैको आकलन छ । फेसबुकको उद्देश्य सोसियल मिडिया कम्पनीबाट मेटाभर्स कम्पनी बन्नु थियो ।

यस्तै माइक्रोसफ्टले पनि आफ्नै मेटावर्स ल्याएको छ। माइक्रोसफ्टका अनुसार मेटाभर्स मानिसहरू र चीजहरूको डिजिटल प्रतिनिधित्वद्वारा बसोबास गरिएको एउटा डिजिटल ठाउँ हो ।

धेरै जनाले ईन्टरनेटलाई एउटा ठाउँको रूपमा हेर्छन् । अब हामी वास्तवमा त्यो ठाउँमा अन्यसँग कुराकानी गर्न, साझेदारी गर्न र काम गर्न जान सक्ने छौ।

मेटावर्सको सम्भावना

विगतका समयहरुमा मेटाभर्स साँच्चै सम्भब छ भन्ने कुरा कसैले कल्पना नि गरेको थिएन । तर हालै विकसित भएका ब्लक चेन प्रविधि, अगुमेन्टेड रियालिटी (एआर), भर्चुअल रियालिटी (भीआर) ले यो सम्भब बनाइदिएको छ ।

यसका साथै वेब ३.0 र नन फन्जिबल टोकन (एनएफटी) जस्ता आवधारणाहरुले पनि यसको ठुलो सम्भावना देखाएको छ। एक हिसाबले मेटाभर्सलाई एआर र भिआर को संयोजन पनि भन्न सकिन्छ।

मेटाभर्समा हरेक कुरा डिजिटल हुनेछ । वास्तविक संसारमा देख्ने सबै कुराहरु यसमा डिजिटल हुनेछन् चाहे त्यो घर, गाडी, किताब ,पेन्सिल, हिमाल, जनावर, मान्छे आदि ।

तपाईंको आफ्नै भर्चुअल अवतार हुनेछ र तपाईंको साथीको पनि । एक प्रकारको तपाईंले डिजिटल स्पेस बनाउन सक्नुहुनेछ। यी सबै वस्तुहरु अनुकूलन योग्य हुनेछन् ।

यदी मेटाभर्समा तपाईंलाई केही कुराको खरिद गर्नुपर्‍यो भने त्यो साँच्चैको पैसा त हुँदैन । त्यसैले यहाँ, डिजिटल मुद्रा आवश्यक छ र साथै डाटा सुरक्षित बनाउन ब्लक चेन पनि आवश्यकता पर्दछ ।

यसैगरी मेटाभर्समा तपाईंलाई जमिन किन्नुपर्‍यो या कुनै पनि सम्पत्ति किन्नुपर्‍यो भने यो कसरी गर्ने त ? भनिन्छ यो एनएफटीबाट गरिनेछ ।

एनएफटीलाई तपाईं टोकन सम्झ्नु, जुन ब्लक चेनमा रहन्छ र कुनै पनि डिजिटल सम्पत्तीको स्वामित्व प्रमाण गर्न सक्दछ । आजको दिन कसैले मिमको स्वामित्व खरिद गर्न पनि प्रयोग गरिरहेका छन।

मेटाभर्स बनाउन चाहिने प्रविधिहरु स्वतन्त्र रूपमा बेग्ला बेग्लै भए पनि यो सबैलाई मिलाएर मेटाभर्स बनाउन भने अलि समय लाग्नेछ ।

फेसबुकका संस्थापक मार्क जुकरबर्गका अनुसार मेटाभर्सको मुख्य फिचरसहरु मुलधारको हिस्सा बन्न कम्तिमा ५ देखि १० वर्ष लाग्नेछ ।

सामान्य जन मानिसहरुसम्म मेटाभर्स आउन अझै दशक लाग्ने विज्ञको अनुमान छ । धेरै मानिसहरुको यो पनि मान्यता छ कि मेटाभर्स अपरिहार्य हुनेछ। उनीहरुको मान्यता छ कि ईन्टरनेट पछिको अर्को ठुलो कुरा मेटाभर्स नै हुनेछ ।

सफल होला त मेटाभर्स ?

यहाँ प्रश्न उठन सक्छ कि के यो मेटावर्स सफल होला ? मेटाभर्स सफल हुने नहुने कुरा त भविष्यमा थाहा हुनेछ । तर पनि वास्तवमा मेटाभर्सका लागि थ्रिडी हेडसेट लगाई राख्नुपर्ने, ठुलो हेडसेट लगाइ राख्नुपर्ने, साथीलाई बोलाउनुपर्ने, आदि निकै झन्झटको काम हुन सक्नेछ ।

यसरी त फोनमै भिडियो कल गर्न सजिलो देखिन्छ । रह्यो साथीहरुसँग भेट्नेको कुरा, त्यो त वास्तविक दुनियाँमा नि त गर्न सकिन्छ । यहाँ अतिरिक्त थ्रिडी दुनियाँको आवश्यकता किन आवश्यक पर्‍यो ? र अझ मानसिक र शारिरिक समस्याहरु पनि उपेक्षा गर्न सकिदैन।

तर शिक्षाको क्षेत्रमा यो बर्दान साबित हुन सक्नेछ। अब किताबको पानाहरु घोकेर होइन भरु त्यो बिषयलाई महसुस गर्दै, दृश्यहरु हेरेर रमाइलो सँग पढ्न सकिनेछ ।

यसले पठनपठानलाई रमाइलो बनाउने र बोरिंग बनाउने छैन् । आफ्नो कल्पनाको संसार आफ्नै आँखा अगाडि हेर्न सकिनेछ। र कुनै नयाँ अवधारणा र विचारहरु बुझाउन पनि सजिलै सकिनेछ । तपाईंलाई कस्तो लाग्छ, मेटाभर्स ? ‍