कीवर्डहरू -

एनआईसी एशिया बैंकको २८ औं वार्षिक साधारण सभा सम्पन्न, हकप्रद शेयर निष्कासनलाई स्वीकृति

एनआईसी एशिया बैंकको २८ औं वार्षिक साधारण सभा सम्पन्न, हकप्रद शेयर निष्कासनलाई स्वीकृति

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको २८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमबार काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न सभाले आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण तथा वार्षिक प्रतिवेदन स्वीकृत गरेको छ ।

सभाले सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू पारित गरेको बैंकले जनाएको छ ।

सभाले सञ्चालक समितिको प्रस्तावअनुसार आवश्यक नियामक निकायको स्वीकृति प्राप्त गरी बैंकको तत्काल कायम चुक्ता पुँजीको २:१ अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णयलाई स्वीकृति दिएको छ । यो निर्णयसँगै बैंकले पूँजी संरचना सुदृढ गर्ने लक्ष्य राखेको छ ।

त्यसैगरी, सभाले विभिन्न प्रस्तावहरू पारित गर्नुका साथै संस्थापक तथा सर्वसाधारण शेयरधनीका प्रतिनिधिहरूलाई नयाँ सञ्चालक समितिमा निर्विरोध निर्वाचित गरेको छ ।

संस्थापक शेयरधनीतर्फबाट अशोक कुमार अग्रवाल, रामचन्द्र संघई र जयन्त कुमार अग्रवाल निर्वाचित भएका छन् भने सर्वसाधारण शेयरधनीतर्फबाट आदित्य कुमार अग्रवाल, केशव प्रसाद लम्साल र अनुपा प्रधान राजभण्डारी निर्विरोध निर्वाचित भएको बैंकले जनाएको छ ।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी जयन्द्र रावलले सभाका सबै प्रस्तावहरू सफलतापूर्वक पारित भएको जानकारी दिए ।