काठमाडौं । निरन्तरको हावाहुरीसहितको वर्षा तथा देशका विभिन्न स्थानमा आएको बाढी पहिरोका कारण नेपाल टेलिकमका केही स्थानमा सञ्चार सेवा अवरुद्ध भएको छ ।
नेपाल टेलिकमका अनुसार २०८३ असोज ८ गतेदेखि जारी खराब मौसमका कारण सिर्जित विषम परिस्थितिले कम्पनीका केही स्थानमा सेवा सञ्चालनमा समस्या देखिएको हो ।
भारी वर्षा र पहिरोका कारण आवागमनमा कठिनाइ हुनुका साथै अप्टिकल फाइबरमा क्षति पुगेको तथा विद्युत् आपूर्तिमा अवरोध आएको कम्पनीले जनाएको छ ।
हिमपात, वर्षा र बादलका कारण सोलार साइटको प्रभावकारिता घट्दा समेत सेवा सञ्चालनलाई निरन्तरता दिन कठिनाइ भएको टेलिकमको भनाइ छ ।
कम्पनीका अनुसार प्राविधिक रूपमा सिस्टमबाट गर्न सकिने मर्मत सम्भारका काम निरन्तर भइरहेका छन् ।सम्भव भएका स्थानमा सेवाको मर्मतसम्भार कार्यसमेत जारी राखिएको टेलिकमले जनाएको छ ।
मौसममा क्रमश: सुधार हुँदै गएसँगै सम्बन्धित कार्यस्थलमा पुगेर सेवा मर्मत तथा पुन: सञ्चालन गर्न प्राविधिक टोलीलाई तयारी अवस्थामा राखिएको कम्पनीले जनाएको छ ।
आईसीटी समाचार