कीवर्डहरू -

रोटरी क्लब अफ यलद्वारा महिलालाई डिजिटल साक्षरता प्रशिक्षण

रोटरी क्लब अफ यलद्वारा महिलालाई डिजिटल साक्षरता प्रशिक्षण

ललितपुर । रोटरी क्लब अफ यलले नेपाल टेलिकमको प्रायोजन तथा वुमन इन इन्फर्मेसन टेक्नोलोजी (WIIT) को प्राविधिक सहकार्यमा ललितपुर महानगरपालिकाका वडा नम्बर २९ र ६ का मिसा पुच: (महिला समूह) का सदस्यहरूलाई लक्षित गरी दुई चरणमा डिजिटल साक्षरता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमअन्तर्गत २६ जुलाईमा वडा नम्बर २९ र १९ सेप्टेम्बर २०२६ मा वडा नम्बर ६ मा प्रशिक्षण सञ्चालन गरिएको थियो । दुईवटै कार्यक्रमबाट कुल ३९ जना महिला प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।

null

डिजिटल सीपसँगै आत्मविश्वास अभिवृद्धि
डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै दैनिक जीवनमा आवश्यक डिजिटल सीप तथा सुरक्षित प्रविधि प्रयोगसम्बन्धी ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

प्रशिक्षणमा स्मार्टफोन तथा इन्टरनेटको आधारभूत प्रयोग, डिजिटल सञ्चार, सामाजिक सञ्जाल, साइबर सुरक्षा, डिजिटल मार्केटिङ, मोबाइल बैंकिङ, डिजिटल भुक्तानी तथा विभिन्न अनलाइन सेवाका विषयमा व्यावहारिक ज्ञान प्रदान गरिएको थियो ।

सहभागीहरूलाई नेपाल टेलिकमका डिजिटल एप तथा सेवाहरूको प्रयोगसम्बन्धी जानकारीसमेत दिइएको थियो । प्रशिक्षणका क्रममा एप डाउनलोड तथा प्रयोग गर्ने तरिकाका साथै नेपाल टेलिकमको ‘Pay as you go’ सुविधाबारे पनि जानकारी गराइएको थियो ।

null

‘हेरेर मात्र होइन, गरेर सिक्ने’ प्रशिक्षण
प्रशिक्षणलाई व्याख्यानमा मात्र सीमित नराखी व्यावहारिक तथा सहभागितामूलक बनाइएको थियो । सहभागीहरूले आफ्नै स्मार्टफोन प्रयोग गरी प्रशिक्षकको प्रत्यक्ष प्रदर्शनसँगै विभिन्न अभ्यास गरेका थिए ।

WIIT का प्रशिक्षकहरूले स्मार्टफोन तथा इन्टरनेटको प्रयोग, OTT calls, भिडियो कल, फोटो तथा कागजात आदानप्रदान, सामाजिक सञ्जालको जिम्मेवार प्रयोग, अनलाइन ठगी तथा साइबर जोखिमको पहिचान, पासवर्ड सुरक्षा, मोबाइल बैंकिङ र डिजिटल भुक्तानीलगायतका विषयमा प्रशिक्षण दिएका थिए ।

यस क्रममा सहभागीहरूलाई आफूले सिकेको कुरा तत्कालै मोबाइलमा प्रयोग गर्ने अवसर दिइएको थियो । व्यक्तिगत सहयोग, प्रश्नोत्तर तथा समूहगत छलफलमार्फत सहभागीहरूको जिज्ञासा सम्बोधन गरिएको थियो ।

null

डिजिटल पहुँचबाट डिजिटल सशक्तीकरणतर्फ
कार्यक्रमको उद्देश्य प्रविधिको पहुँच विस्तार गर्नु मात्र नभई त्यसको सहज, सुरक्षित र प्रभावकारी प्रयोगका लागि आवश्यक ज्ञान तथा आत्मविश्वास विकास गर्नु रहेको रोटरी क्लब अफ यलले जनाएको छ ।

प्रशिक्षणमा सहभागी महिलाहरूले स्मार्टफोन तथा इन्टरनेटको प्रयोग, डिजिटल सञ्चार, अनलाइन सेवा र डिजिटल भुक्तानीसम्बन्धी आफ्नो ज्ञान तथा आत्मविश्वास बढेको प्रतिक्रिया दिएका थिए । साइबर जोखिम तथा अनलाइन ठगीबाट सुरक्षित रहने उपायबारे जानकारी प्राप्त गर्नु पनि प्रशिक्षणको महत्वपूर्ण उपलब्धिका रूपमा रहेको थियो ।

null

बहुपक्षीय सहकार्यको नमुना
कार्यक्रम नेपाल टेलिकम, रोटरी क्लब अफ यल, WIIT तथा ललितपुर महानगरपालिकाका सम्बन्धित वडा कार्यालयहरूबीचको सहकार्यमा सञ्चालन भएको हो ।

नेपाल टेलिकमले कार्यक्रमका लागि सहयोग उपलब्ध गराएको थियो भने WIIT ले प्राविधिक विज्ञता तथा प्रशिक्षकहरू उपलब्ध गराएको थियो । वडा नम्बर ६ र २९ का कार्यालयहरूले स्थानीय समन्वय तथा व्यवस्थापनमा सहयोग गरेका थिए ।

null

रोटरी क्लब अफ यलले कार्यक्रम सफल बनाउन सहयोग गर्ने प्रायोजक नेपाल टेलिकम, प्राविधिक सहयोग तथा प्रशिक्षक उपलब्ध गराउने WIIT, स्थानीय समन्वयमा सहयोग गर्ने ललितपुर महानगरपालिकाका दुईवटा वडा कार्यालय तथा उत्साहपूर्वक सहभागी सबै महिलाप्रति हार्दिक आभार व्यक्त गरेको छ ।

रोटरी क्लब अफ यलका Digital Literacy Program का संयोजक रोटेरियन मिनु प्रधान श्रेष्ठले डिजिटल रूपान्तरणको लाभ समुदायको हरेक तहसम्म पुर्‍याउन डिजिटल साक्षरता आवश्यक रहेको बताइन् ।

null

उनले स्थानीय समुदायमा महिलाको डिजिटल क्षमता अभिवृद्धि गर्न तथा डिजिटल ज्ञान, सीप, सुरक्षा र आत्मविश्वास बढाउन रोटरी क्लब अफ यलले समुदायस्तरमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताइन् ।

यसका लागि सरकारी निकाय, निजी क्षेत्र, प्राविधिक संस्था र सामाजिक संस्थाबीच सहकार्य भएमा समुदायमा डिजिटल समावेशीकरणलाई प्रभावकारी रूपमा अघि बढाउन सकिने उनले बताइन् ।

null