काठमाडौं । गुगलले आफ्नो जेमिनी प्लेटफर्ममा रहेको ‘अवतार’ सुविधा विस्तार गर्दै थप पेड (सशुल्क) प्रयोगकर्ताहरूका लागि उपलब्ध गराएको छ । यस सुविधाले प्रयोगकर्तालाई आफ्नै अनुहार र आवाज प्रयोग गरी एआई आधारित डिजिटल अवतार बनाउन अनुमति दिन्छ, जसको माध्यमबाट जेमिनीभित्र भिडियो तथा अन्य प्रकारका सामाग्री सिर्जना गर्न सकिन्छ ।
यो नयाँ सुविधा गुगलको नवीनतम एआई मोडेल ‘जेमिनी ओम्नी’द्वारा सञ्चालित रहेको बताइएको छ । उक्त मोडेल विभिन्न प्रकारका इनपुट प्रयोग गरी सामाग्री उत्पादन गर्न सक्षम रहेको कम्पनीको दाबी छ ।
अवतार प्रयोग गर्न प्रयोगकर्ताले जेमिनी एपको सेटिङमा रहेको ‘अवतार’ विकल्प सक्रिय गर्नुपर्छ । त्यसपछि क्यामेराको सहायताले अनुहारका विभिन्न कोणबाट स्क्यान गरी व्यक्तिगत डिजिटल अवतार तयार गरिन्छ ।
दोस्रो चरणमा आवाज प्रशिक्षण गराइन्छ, जसअन्तर्गत जेमिनीले प्रयोगकर्तालाई विभिन्न वाक्य र संख्याहरू ठूलो स्वरमा पढ्न लगाउँछ । यस प्रक्रियाबाट प्रणालीले प्रयोगकर्ताको बोल्ने शैली, स्वर, उच्चारण र लय विश्लेषण गर्छ ।
सेटअप पूरा भएपछि उक्त अवतार प्रयोगकर्ताको गुगल खातासँग जोडिन्छ र जेमिनीका विभिन्न सेवामा प्रयोग गर्न सकिन्छ । सुरक्षा उपायका रूपमा यो सुविधा १८ वर्षभन्दा माथिका प्रयोगकर्ताका लागि मात्र उपलब्ध गराइएको छ ।
साथै, सेटअप प्रक्रियामा खाता मालिक स्वयं उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ । जेमिनी अवतारबाट तयार गरिएका भिडियोहरूमा ‘SynthID Watermark’ समावेश गरिनेछ, जसले एआई निर्मित सामाग्री पहिचान गर्न मद्दत गर्ने र सम्भावित दुरुपयोग रोक्न सहयोग पुर्याउने बताइएको छ ।
कम्पनीले यो सुविधा निःशुल्क जेमिनी प्रयोगकर्ताका लागि उपलब्ध हुने वा नहुनेबारे भने हालसम्म कुनै आधिकारिक जानकारी दिएको छैन ।
आईसीटी समाचार