काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र डेटा साइन्स क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यसहित पोखरा विश्वविद्यालयले नयाँ स्नातक तहको कार्यक्रम सञ्चालनमा ल्याएको छ । विश्वविद्यालयको ललितपुरस्थित आङ्गिक क्याम्पस श्रमिक शान्ति क्याम्पसले ब्याचलर अफ एआई एन्ड डेटा साइन्स (BAIDS) कार्यक्रमका लागि आवेदन खुला गरेको हो ।
विश्वविद्यालयका अनुसार चार वर्ष (आठ सेमेस्टर) अवधिको यो कार्यक्रम नेपालमै पहिलोपटक सञ्चालनमा ल्याइएको दाबी गरिएको छ । पहिलो शैक्षिक सत्रका लागि ४८ विद्यार्थी भर्ना गरिनेछ । तीमध्ये आर्थिक रूपमा विपन्न तथा जेहेनदार ९ जना विद्यार्थीले पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने अवसर पाउनेछन् ।
यस कार्यक्रमको चार वर्षको कुल शिक्षण शुल्क ४ लाख ७८ हजार रुपैयाँ निर्धारण गरिएको छ । उक्त रकममा सबै आठ सेमेस्टरको अध्ययन शुल्क, रजिस्ट्रेसन तथा परीक्षा शुल्क समावेश छन् । यसबाहेक विद्यार्थीले २० हजार रुपैयाँ धरौटी रकम जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ ।

विश्वविद्यालयले यस कार्यक्रमका लागि विज्ञान सङ्कायका विद्यार्थीलाई मात्र सीमित नगरी अन्य सङ्कायका विद्यार्थीलाई पनि अवसर दिएको छ । कक्षा १२ वा सो सरहको परीक्षा कुनै पनि सङ्कायबाट उत्तीर्ण गरी १०० पूर्णाङ्कको गणित वा कम्प्युटर साइन्स अध्ययन गरेका विद्यार्थीले आवेदन दिन सक्नेछन् ।
त्यसैगरी, प्राविधिक शिक्षाअन्तर्गत कक्षा ९ देखि १२ सम्म १०० पूर्णाङ्कको गणित वा कम्प्युटर अध्ययन गरेका वा ए-लेभलमा न्यूनतम ‘डी’ ग्रेड प्राप्त गरेका विद्यार्थी पनि योग्य हुनेछन् ।
प्रवेश परीक्षाका लागि आवेदन दिने अन्तिम मिति २१ साउन २०८३ तोकिएको छ । प्रवेश परीक्षा २६ साउन बिहान ८ बजेदेखि ११ बजेसम्म श्रमिक शान्ति क्याम्पसमै सञ्चालन हुनेछ । १५० पूर्णाङ्कको बहुविकल्पीय प्रश्नमा आधारित उक्त परीक्षाका लागि विद्यार्थीले विश्वविद्यालयको अनलाइन पोर्टल https://ssentrance.pu.edu.np मार्फत आवेदन दिन सक्नेछन् ।
१२२ क्रेडिट आवरको पाठ्यक्रममा सूचना प्रविधिको आधारभूत ज्ञानसँगै आर्टिफिसियल इन्टेलिजेन्सका आधुनिक प्रविधिहरू समेटिएका छन् । विद्यार्थीले प्रोग्रामिङ, डेटा स्ट्रक्चर, मसिन लर्निङ, डिप लर्निङ, कम्प्युटर भिजन र नेचुरल ल्याङ्ग्वेज प्रोसेसिङ (NLP) लगायतका विषय अध्ययन गर्नेछन् ।

त्यसैगरी, एआईको नैतिक प्रयोग (AI Ethics), साइबर सुरक्षा, डिजिटल अर्थतन्त्रजस्ता समसामयिक विषयलाई पनि पाठ्यक्रममा समावेश गरिएको विश्वविद्यालयले जनाएको छ । अध्ययनको अन्तिम चरणमा विद्यार्थीले १३ क्रेडिटको परियोजना (प्रोजेक्ट) र ३ क्रेडिटको अनिवार्य इन्टर्नशिप पूरा गर्नुपर्नेछ । इन्टर्नशिपका लागि विभिन्न डेटा एनालिटिक्स कम्पनी तथा सरकारी निकायसँग सहकार्य गरिने विश्वविद्यालयको योजना छ ।
आईसीटी समाचार