कीवर्डहरू -

अब आइफोनमा आइक्लाउडबिनै ह्वाट्सएप च्याट ब्याकअप गर्न सकिने

अब आइफोनमा आइक्लाउडबिनै ह्वाट्सएप च्याट ब्याकअप गर्न सकिने

काठमाडौं । ह्वाट्सएपले आइफोन प्रयोगकर्ताका लागि एप्पलको आइक्लाउडमा निर्भर रहनुपर्ने बाध्यता हटाउने गरी नयाँ क्लाउड ब्याकअप फिचर विकास गरिरहेको छ । यो सुविधा लागू भएपछि प्रयोगकर्ताले आफ्ना च्याटहरू आइक्लाउडको सट्टा ह्वाट्सएपकै क्लाउड सर्भरमा सुरक्षित रूपमा ब्याकअप गर्न सक्नेछन् ।

हाल यो फिचर विकासकै चरणमा रहेकाले सार्वजनिक परीक्षण (बीटा) संस्करणमा समेत उपलब्ध भइसकेको छैन । यसअघि ह्वाट्सएपले एन्ड्रोइड प्रयोगकर्ताका लागि पनि गुगल ड्राइभको विकल्पस्वरूप आफ्नै क्लाउड ब्याकअप सेवा विकास गरिरहेको जानकारी सार्वजनिक भएको थियो ।

नयाँ फिचर आईओएसको पछिल्लो बीटा संस्करणमा देखिएको विवरणअनुसार, आइफोन प्रयोगकर्ताले भविष्यमा च्याट ब्याकअपका लागि आइक्लाउड वा ह्वाट्सएपको आफ्नै क्लाउड सेवा मध्ये कुनै एक विकल्प रोज्न सक्नेछन् ।

प्रारम्भिक रूपमा आइक्लाउड नै डिफल्ट विकल्प रहनेछ । तर प्रयोगकर्ताले आफूअनुकूल जुनसुकै बेला ह्वाट्सएपको सर्भरमा ब्याकअप गर्न वा पुन: आइक्लाउडमा फर्किन सक्नेछन् ।

२ जीबीसम्म नि:शुल्क ब्याकअप
ह्वाट्सएपले आइफोन र एन्ड्रोइड दुवै प्रयोगकर्ताका लागि आफ्नै सर्भरमा २ जीबीसम्म नि:शुल्क क्लाउड स्टोरेज उपलब्ध गराउने तयारी गरिरहेको छ । यसले विशेष गरी आइफोन प्रयोगकर्तालाई एप्पलले नि:शुल्क उपलब्ध गराउने ५ जीबी आइक्लाउड स्टोरेज बचत गर्न मद्दत गर्नेछ । बचत भएको स्टोरेज फोटो, भिडियो र अन्य महत्त्वपूर्ण फाइलका लागि प्रयोग गर्न सकिनेछ ।

डिफल्ट रूपमा इन्ड-टु-इन्ड इन्क्रिप्सन
ह्वाट्सएपका अनुसार आफ्नै सर्भरमा सुरक्षित गरिने ब्याकअप डिफल्ट रूपमा इन्ड-टु-इन्ड इन्क्रिप्टेड हुनेछ । ब्याकअप पुन: प्राप्त गर्न पासकी, पासवर्ड वा ६४ अङ्कको इन्क्रिप्सन कुञ्जी आवश्यक पर्नेछ । यसको अर्थ प्रयोगकर्ताबाहेक मेटा (Meta) वा ह्वाट्सएप स्वयंले पनि ती ब्याकअप हेर्न वा पहुँच प्राप्त गर्न सक्ने छैनन् ।

एन्ड्रोइड प्रयोगकर्ताले पनि पाउने सुविधा
यो सुविधा आइफोनमा मात्र सीमित रहने छैन । एन्ड्रोइड प्रयोगकर्ताका लागि पनि गुगल ड्राइभको विकल्पका रूपमा ह्वाट्सएपले आफ्नै सर्भरमा २ जीबीसम्मको सुरक्षित क्लाउड ब्याकअप सेवा ल्याउने तयारी गरिरहेको छ । यससँगै, बढी स्टोरेज आवश्यक पर्ने प्रयोगकर्ताका लागि भविष्यमा स:शुल्क क्लाउड स्टोरेज योजना समेत ल्याउने सम्भावनाबारे कम्पनीले अध्ययन गरिरहेको बताइएको छ ।