कीवर्डहरू -

विद्युत् व्यापार विभाग पूर्णत: डिजिटल बन्दै, डीएमएस र अनलाइन बिलिङ प्रणाली सञ्चालनमा

विद्युत् व्यापार विभाग पूर्णत: डिजिटल बन्दै, डीएमएस र अनलाइन बिलिङ प्रणाली सञ्चालनमा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् व्यापार विभागका सेवालाई थप आधुनिक, छरितो र प्रविधिमैत्री बनाउने उद्देश्यले डकुमेन्ट म्यानेजमेन्ट सिस्टम (डीएमएस) तथा सफ्टवेयरमा आधारित अनलाइन बिलिङ प्रणाली सञ्चालनमा ल्याएको छ ।

प्राधिकरणले नयाँ प्रणालीको शुभारम्भसँगै विद्युत् खरिद सम्झौता (पीपीए), आयोजना व्यवस्थापन, कागजात आदानप्रदान तथा बिलिङ प्रक्रियालाई पूर्ण रूपमा डिजिटल र कागजरहित बनाउने लक्ष्य लिएको जनाएको छ ।

नयाँ व्यवस्थाअनुसार निर्माणाधीन जलविद्युत् आयोजनाहरूले आफ्नो प्रगति विवरण, आवश्यक प्रतिवेदन तथा अन्य कागजात अब अनलाइनमार्फत बुझाउन सक्नेछन् ।

त्यसैगरी सञ्चालनमा रहेका आयोजनाले उपलब्धता घोषणा, संयुक्त मिटर रिडिङ (जेएमआर) र मासिक बिलसम्बन्धी सम्पूर्ण प्रक्रिया पनि डिजिटल माध्यमबाट नै सम्पन्न गर्न सक्ने व्यवस्था गरिएको छ ।

प्राधिकरणका अनुसार डीएमएस र अनलाइन बिलिङ प्रणालीमार्फत स्वतन्त्र ऊर्जा उत्पादक (आईपीपी) र प्राधिकरणबीच हुने सम्पूर्ण पत्राचार तथा कागजात व्यवस्थापनलाई एउटै एकीकृत डिजिटल प्लेटफर्ममा समेटिएको छ । यसले सेवा प्रवाहलाई थप पारदर्शी, प्रभावकारी र समयमै सम्पन्न गर्न सहयोग पुग्ने विश्वास प्राधिकरणको छ ।

प्राधिकरणले प्रारम्भिक चरणमा सीमित जलविद्युत् आयोजनामार्फत सेवा सञ्चालनमा ल्याइएको र आगामी दिनमा देशभरका सबै सम्बन्धित आयोजनामा यो प्रणाली विस्तार गर्ने योजना रहेको जनाएको छ ।

नयाँ डिजिटल प्रणाली लागू भएसँगै कागजी प्रक्रियामा हुने ढिलाइ, कागजात व्यवस्थापनको झन्झट र प्रशासनिक जटिलता घट्ने अपेक्षा गरिएको छ । साथै, आयोजना प्रवर्द्धक र प्राधिकरणबीचको समन्वयलाई थप सहज र प्रभावकारी बनाउँदै विद्युत् व्यापारसम्बन्धी सेवा प्रवाहलाई आधुनिक बनाउने दिशामा यो प्रणाली महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।