कीवर्डहरू -

वान एक्स बेट चलाउँदै करोडौंको क्रिप्टो कारोबार, बानेश्वरबाट तीन जना पक्राउ

वान एक्स बेट चलाउँदै करोडौंको क्रिप्टो कारोबार, बानेश्वरबाट तीन जना पक्राउ

काठमाडौं । अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले काठमाडौंको बानेश्वरबाट तीन जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार साउन २१ गते राति करिब ९ बजे विशेष प्रहरी टोलीले बानेश्वर क्षेत्रमा शंकास्पद अवस्थामा रहेका उनीहरूलाई नियन्त्रणमा लिएर जाँच गर्दा गैरकानुनी कारोबारमा संलग्न रहेको खुलेको थियो ।

पक्राउ पर्नेमा कपिलवस्तुको वाणगंगा नगरपालिका ६ घर भई हाल काठमाडौं महानगरपालिका १० बानेश्वरमा बस्दै आएका ३० वर्षीय नबिन पौडेल तथा सोही ठाउँका १९ वर्षीय राहुल वेल्वासे र २८ वर्षीय रविन वेल्वासे रहेका छन् ।

उनीहरूको साथबाट पाँच थान मोबाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले ‘वान एक्स बेट’ एपमार्फत अनलाइन सट्टेबाजी सञ्चालन गर्दै २ लाख ६ हजार रुपैयाँभन्दा बढीको कारोबार गरेको खुलेको छ ।

त्यस्तै, उनीहरू क्रिप्टोकरेन्सी कारोबारमा समेत संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनीहरूले यूएसडीटी लगायतका अभौतिक मुद्रामार्फत ७९ हजार ६८ दशमलव ६५ यूएसडीटी बराबरको कारोबार गरेको पाइएको प्रहरीले जनाएको छ । 

उक्त रकम नेपाली रुपैयाँमा करिब १ करोड २० लाख ५१ हजार ८८१ रुपैयाँ १० पैसा बराबर हुन्छ । अनुसन्धानका क्रममा उनीहरूको खातामा १ हजार ५०१ दशमलव ३२ यूएसडीटी मौज्दात रहेकोसमेत भेटिएको प्रहरीले जनाएको छ ।

उक्त रकम नेपाली रुपैयाँमा करिब २ लाख २८ हजार ८३५ रुपैयाँ ७० पैसा बराबर हुन्छ । पक्राउ परेका तीनै जनाविरुद्ध अनलाइन सट्टेबाजी गर्न वा गराउन नहुने तथा अभौतिक मुद्राको अवैध कारोबार गर्न नहुनेसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।

प्रहरीले उनीहरूलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ ।