काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको विकाससँगै विश्वका ठूला प्रविधि कम्पनीबीच आफ्नो प्रभुत्व स्थापित गर्ने प्रतिस्पर्धा तीव्र बनेको छ । एप्पल, माइक्रोसफ्ट, गुगल, मेटा र ओपनएआईदेखि एलन मस्क तथा मार्क जुकरबर्गजस्ता प्रविधि क्षेत्रका प्रभावशाली उद्यमीसमेत एआई विकासमा ठूलो लगानी गरिरहेका छन् ।
यही प्रतिस्पर्धाबीच एप्पलले एआई क्षेत्रमा आफ्नो उपस्थिति बलियो बनाउन आक्रामक रणनीति अघि सारेको छ । स्टाटिस्टाको हालैको अध्ययनअनुसार एप्पलले आफ्ना प्रमुख प्रतिस्पर्धीको तुलनामा एआई क्षेत्रमा लगानी र गतिविधि तीव्र रूपमा विस्तार गरेको छ । कम्पनीले विशेष गरी एआईमा केन्द्रित स्टार्टअप अधिग्रहणलाई आफ्नो रणनीतिको प्रमुख हिस्सा बनाएको छ ।
अध्ययनअनुसार एप्पलले सन् २०२३ यता ३२ वटा एआईसम्बन्धी स्टार्टअप अधिग्रहण गरिसकेको छ । एआई क्षेत्रमा कम्पनीले अघि बढाएको यो रणनीति गुगल, मेटा र माइक्रोसफ्टलगायतका प्रतिस्पर्धीको तुलनामा निकै आक्रामक देखिन्छ ।
एप्पलले स्टार्टअप खरिदसँगै आफ्नै एआई अनुसन्धान तथा विकासलाई पनि तीव्र बनाएको छ । कम्पनीले एआईसम्बन्धी क्षमता विस्तार गर्न दक्ष जनशक्ति भर्ना गर्ने क्रम समेत बढाएको छ । एप्पलका उत्पादनमा एआईको प्रयोग विस्तार गर्ने र प्रतिस्पर्धी कम्पनीसँगको प्रविधिगत दूरी घटाउने प्रयासस्वरूप यी कदम चालिएको बताइएको छ ।
स्टाटिस्टाको तथ्यांकअनुसार एप्पलपछि अन्य ठूला प्रविधि कम्पनीले पनि एआई स्टार्टअप अधिग्रहणलाई प्राथमिकता दिएका छन् । गत वर्ष गुगलले २१ वटा स्टार्टअप खरिद गरेको थियो । त्यस्तै, मेटाले १८ र माइक्रोसफ्टले १७ वटा स्टार्टअप अधिग्रहण गरेका थिए ।
एआई बजारमा अहिले ओपनएआईको च्याटजीपीटीले बलियो उपस्थिति कायम गरेको छ । हालै सार्वजनिक भएको एक अध्ययनअनुसार एआईसम्बन्धी वेब ट्राफिकमा च्याटजीपीटीको हिस्सा ५० प्रतिशतभन्दा बढी रहेको देखिएको छ । यसको लोकप्रियतासँगै अन्य प्रमुख प्रविधि कम्पनीले आफ्ना एआई उत्पादन तथा सेवाको विकासलाई तीव्रता दिएका छन् ।
विश्वका धनी उद्यमीमध्येका एलन मस्कले आफ्नै एआई कम्पनीमार्फत प्रविधिको विकासलाई अघि बढाइरहेका छन् । मार्क जुकरबर्गको नेतृत्वमा रहेको मेटाले पनि एआईमा ठूलो लगानी गर्दै आएको छ । गुगलले आफ्नो एआई सेवा ‘बार्ड’लाई ‘जेमिनी’का रूपमा पुन: ब्रान्डिङ गर्दै च्याटजीपीटीसँग प्रतिस्पर्धा गर्ने रणनीति अघि सारेको छ ।
त्यस्तै, माइक्रोसफ्टले ‘कोपाइलट’लाई आफ्नो प्रमुख एआई सेवाका रूपमा विस्तार गरिरहेको छ । माइक्रोसफ्टले एआईलाई आफ्ना विभिन्न सफ्टवेयर तथा सेवामा एकीकृत गर्ने रणनीति समेत अघि बढाएको छ ।
एआईको दौडमा एप्पल केही समय प्रतिस्पर्धीभन्दा पछि परेको विश्लेषण हुँदै आएको थियो । त्यसलाई पूर्ति गर्न कम्पनीले पछिल्लो समय आन्तरिक अनुसन्धान तथा विकासमा जोड दिनुका साथै एआई स्टार्टअप खरिद र दक्ष जनशक्ति भर्नालाई तीव्र बनाएको हो ।
एप्पलले च्याटजीपीटीजस्तै छुट्टै एआई एप विकास गरिरहेको चर्चा यसअघि सार्वजनिक भए पनि कम्पनीले त्यसबारे विस्तृत जानकारी भने सार्वजनिक गरेको छैन । एआई क्षेत्रमा भइरहेको तीव्र लगानी र स्टार्टअप अधिग्रहणले आगामी दिनमा प्रविधि कम्पनीबीचको प्रतिस्पर्धा अझ तीव्र हुने संकेत गरेको छ ।
आईसीटी समाचार