कीवर्डहरू -

चिनियाँ रोबोटले उछिन्यो उसेन बोल्टको रेकर्ड, १०० मिटर दौडमा बनायो नयाँ कीर्तिमान

चिनियाँ रोबोटले उछिन्यो उसेन बोल्टको रेकर्ड, १०० मिटर दौडमा बनायो नयाँ कीर्तिमान

काठमाडौं । दोस्रो विश्व मानवोइड रोबोट खेल शनिबार साँझ चीनको राजधानी बेइजिङमा सुरु भएको छ । प्रतियोगितामा ६६६ टोलीका २ हजार ५६ मानवोइड रोबोटले खेलकुद, आपत्कालीन उद्धार, रसदलगायत विभिन्न विधामा प्रतिस्पर्धा गरिरहेका छन् ।

कार्यक्रमको सुरुवात रोबोटहरूको १०० मिटर दौडबाट भएको थियो । प्रतियोगितामा एक रोबोटले ९.३९ सेकेन्डमा १०० मिटर दूरी पार गर्दै मानव धावक उसेन बोल्टको ९.५८ सेकेन्डको विश्व कीर्तिमानभन्दा कम समय निकालेको छ ।

यद्यपि, रोबोटको प्रदर्शनलाई मानव धावकको आधिकारिक विश्व कीर्तिमानसँग प्रत्यक्ष तुलना गर्न मिल्दैन । त्यस्तै, अर्काे रोबोटले उच्च जम्पमा उत्कृष्ट प्रदर्शन गर्दै २.८८ मिटर उचाइ पार गरेको थियो । गत वर्षको प्रतियोगितामा उच्च जम्पतर्फ ९५.६४ सेन्टिमिटरको उत्कृष्ट प्रदर्शन भएको थियो ।

उद्घाटन समारोहमा मानवोइड रोबोटहरूले मानव अर्केस्ट्रासँगै सांगीतिक प्रस्तुति दिएका थिए । दर्जनौँ रोबोटले संयुक्त रूपमा गरेको प्रदर्शनले चिनियाँ मानवोइड रोबोटिक्समा भएको पछिल्लो प्राविधिक विकासलाई प्रस्तुत गरेको चाइना डेलीले जनाएको छ । हजारौँ रोबोटको सहभागितामा भएको प्रदर्शनले दर्शकलाई आकर्षक अडियो–भिजुअल अनुभव समेत दिएको थियो ।

त्यस्तै, मानवोइड रोबोटहरूले टेबल टेनिसमा प्रसिद्ध खेलाडीहरूसँग प्रतिस्पर्धा गरेका थिए । उनीहरूले टेनिस खेलाडी झेङ जी, ओलम्पिक टेबल टेनिस च्याम्पियन डिङ निङ तथा फुटबल खेलाडी याङ चेनसँग प्रतिस्पर्धा गरेका थिए । रोबोटहरूले ऊर्जावान बालबालिकासँग समेत सहकार्य गर्दै विभिन्न गतिविधिमा सहभागिता जनाएका थिए ।

ओलम्पिक टर्च रिलेको स्वागतका क्रममा उद्घाटन समारोहमा प्रतीकात्मक ज्वाला प्रज्वलन गर्ने रोबोटहरू पनि प्रस्तुत गरिएको थियो । उद्घाटन समारोहपछि मानवोइड रोबोटहरूले १०० मिटर र ४०० मिटर दौडका प्रारम्भिक चरणका प्रतिस्पर्धामा सहभागिता जनाएका थिए ।