कीवर्डहरू -

अब भ्याट विवरणमा गल्ती भए कर कार्यालय धाउनु नपर्ने, सात दिनभित्र अनलाइनबाटै सच्याउन सकिने

अब भ्याट विवरणमा गल्ती भए कर कार्यालय धाउनु नपर्ने, सात दिनभित्र अनलाइनबाटै सच्याउन सकिने

काठमाडौं । मूल्य अभिवृद्धि कर (भ्याट) विवरणमा सामान्य गल्ती हुँदा सच्याउन कर कार्यालय पुग्नुपर्ने पुरानो झन्झट हट्ने भएको छ । आन्तरिक राजस्व विभागले परीक्षणमा ल्याएको नयाँ ‘करदाता पोर्टल’मार्फत करदाताले आफैँ अनलाइनबाट विवरण संशोधन गर्न सक्ने व्यवस्था गरेको छ ।

नयाँ प्रणालीअनुसार भ्याट विवरण पेश गरिसकेपछि अंक वा अन्य सामान्य विवरणमा त्रुटि भेटिएमा सात दिनभित्र करदाताले पोर्टलमै गएर सच्याउन सक्नेछन् । यसअघि विवरण पेश भइसकेपछि सामान्य त्रुटि समेत संशोधन गर्न सम्बन्धित कर कार्यालयमा पुग्नुपर्ने अवस्था थियो ।

नयाँ व्यवस्थाले करदाताको समय र खर्च बचत गर्नुका साथै कर कार्यालयमा हुने भीड समेत घटाउने विभागको अपेक्षा छ । आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले नयाँ व्यवस्थाले करदातालाई घरबाटै आफ्नो विवरण पुन: जाँच गर्ने र आवश्यक सुधार गर्ने सुविधा दिएको बताए ।

ईटीडीएसको हिसाब अब प्रणालीमै देखिने
नयाँ पोर्टलले स्रोतमा कर कट्टी अर्थात् ईटीडीएस व्यवस्थापनलाई समेत डिजिटल र समयबद्ध बनाउने विभागले जनाएको छ । अब स्रोतमा कट्टी भएको करको विवरण मासिक रूपमा प्रणालीमा दाखिला गर्नुपर्नेछ ।

हाल प्रत्येक महिनाको २५ गतेभित्र ईटीडीएस दाखिला गर्नुपर्ने व्यवस्था रहेपनि कतिपय निकायले कर कट्टी गरेपछि रकम लामो समयसम्म आफैँसँग राख्ने र आर्थिक वर्षको अन्त्यतिर मात्र दाखिला गर्ने गरेको विभागले जनाएको छ ।

नयाँ प्रणालीबाट कर कट्टी भएको रकम समयमै प्रणालीमा देखिने व्यवस्था गरिनेछ । तोकिएको समयमा आफ्नो नाममा कट्टी भएको रकम प्रणालीमा नदेखिए करदाताले सम्बन्धित निकायसँग त्यसको कारण खोज्न सक्नेछन् ।

विभागका अनुसार यसले ब्याक डेटमा विवरण प्रविष्ट गर्ने वा करसम्बन्धी तथ्यांकमा सम्भावित हेरफेर गर्ने जोखिम समेत घटाउनेछ ।

प्यानदेखि अन्त: शुल्कसम्म एउटै डिजिटल प्लेटफर्म
नयाँ पोर्टलमा कर प्रशासनसँग सम्बन्धित विभिन्न सेवाहरूलाई एउटै प्रणालीमा समेटिएको छ । करदाताले पोर्टलमा लगइन गरेर प्यान कार्ड, अन्त: शुल्क इजाजतपत्र र करचुक्ता प्रमाणपत्र डाउनलोड गर्न सक्नेछन् ।

विदेशी लगानीकर्ताले समेत स्थायी लेखा नम्बर (प्यान) का लागि अनलाइनबाट आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । भ्याट विवरण संशोधनसम्बन्धी सेवा पनि नयाँ पोर्टलमै उपलब्ध गराइएको विभागले जनाएको छ ।

अन्त: शुल्क विवरण पनि आफैँ रुजु गर्न सकिने
अन्त: शुल्कजन्य उद्योग तथा प्रतिष्ठानले बुझाउने मासिक विवरण अब करदाताले आफैँ रुजु गर्न सक्ने भएका छन् । त्यस्तै, आय विवरणमा प्रयोग हुने अनुसूची १० को विवरण भर्ने प्रक्रियामा पनि परिवर्तन गरिएको छ ।

पहिले करदाताले आफैँ विवरण प्रविष्ट गर्नुपर्ने व्यवस्था रहेकोमा अब आवश्यक विवरण प्रणालीबाटै स्वत: आउने बनाइएको विभागले जनाएको छ । यसबाट विवरण प्रविष्ट गर्दा हुने मानवीय त्रुटि कम हुनुका साथै करसम्बन्धी तथ्यांकमा एकरूपता कायम हुने अपेक्षा गरिएको छ ।

नयाँ पोर्टल परीक्षणमा, पुरानो प्रणाली तत्काल बन्द नहुने
विभागले नयाँ करदाता पोर्टललाई भदौ ९ गतेदेखि परीक्षण प्रयोगमा ल्याएको हो । परीक्षण अवधिमा नयाँ प्रणालीमा केही प्राविधिक समस्या देखिन सक्ने भन्दै विभागले प्रयोगकर्ताबाट सुझाव लिएर प्रणाली सुधार गर्दै जाने जनाएको छ ।

नयाँ पोर्टल पूर्ण रूपमा परीक्षण भएर स्थिर नभएसम्म पुरानो करदाता पोर्टल पनि सञ्चालनमा रहने महानिर्देशक भुसालले बताएका छन् । विभागका अनुसार नयाँ प्रणाली ‘डिजाइन ड्रिभन डेभलपमेन्ट’ र ‘माइक्रो सर्भिस आर्किटेक्चर’मा आधारित भएर विकास गरिएको हो ।

डिजिटल कर प्रशासनतर्फ अर्को कदम
विभागले नयाँ पोर्टललाई केवल पुरानो प्रणालीको प्राविधिक विकल्पका रूपमा मात्र नभई कर प्रशासनलाई स्वचालित, पारदर्शी र जवाफदेही बनाउने सुधारका रूपमा अघि सारेको छ ।

भ्याट विवरण संशोधनका लागि कार्यालय धाउन नपर्ने, ईटीडीएसको विवरण समयमै प्रणालीमा देखिने तथा करसम्बन्धी प्रमाणपत्र अनलाइनबाटै प्राप्त गर्न सकिने भएपछि करदाताको प्रशासनिक खर्च र समय घट्ने विभागको विश्वास छ ।

परीक्षणबाट प्राप्त सुझाव र अनुभवका आधारमा प्रणालीलाई थप परिमार्जन गर्दै नयाँ सुविधा थपिने विभागले जनाएको छ । परीक्षण सफल भएपछि पोर्टलका सबै सेवा पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी छ ।