कीवर्डहरू -

विज्ञान विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम आयोजना हुँदै, यसरी हुनुहोस् सहभागी

विज्ञान विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम आयोजना हुँदै, यसरी हुनुहोस् सहभागी

विज्ञान शिक्षक समाज नेपाल र यूनेस्कोका लागि नेपाल राष्ट्रिय आयोगको सचिवालयको सहकार्यमा ‘विज्ञान विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम २०२१’ आयोजना हुने भएको छ ।

यस प्रतिस्पर्धामा प्रत्येक विद्यार्थीले आफैंले निर्माण गरेको विज्ञान परियोजनाको विस्तृत जानकारी सहितको एउटा भिडियो बनाई तल दिइएको फर्म मार्फत अपलोड गर्नुपर्नेछ ।

सहभागीले नेपाली परिवेश र विश्व परिवेशमा विकास भएका विज्ञान र प्रविधिका विविध क्षेत्रहरू र सिद्धान्तहरूलाई समेटेर विद्यालय स्तरीय पाठ्यक्रमसँग मेलखाने खालका वैज्ञानिक सिकाई सामग्री निर्माण गर्नु पर्नेछ ।

प्रतियोगी परियोजना परिमार्जित स्वरूप वा नवप्रवर्तन वा विल्कुलै नयाँ आविष्कार हुनुपर्नेछ । भिडियो मोबाइल वा अन्य क्यामेराले खिच्न सकिनेछ । कुनै पनि माध्यमबाट खिचिएको भएपनि भिडियो नबिग्रिएको, नअड्किने, नहल्लिएको, सफा प्रष्ट बुझिने र परियोजना केन्द्रित भएको हुनुपर्ने आयोकजकले जनाएको छ ।

यस कार्यक्रममा सहभागी हुन भिडियो सहितको फारम आगामी असार १० गते साँझ ५ बजेभित्र बुझाई सक्नुपर्ने आयोजक समितिले बताएका छ ।

निर्धारित मिति भन्दा पछि आएका भिडियोहरू प्रतिस्पर्धामा समावेश हुन पाउने छैनन् । परियोजना निर्माण प्रक्रिया २ मिनेट, परियोजनाको विस्तृत विवरण २ मिनेट र अन्य उल्लेख गर्नै पर्ने कुरा र उपसंहार १ मिनेट गरी कुल भिडियोको लम्बाई बढीमा ५ मिनेटको हुनुपर्नेछ ।

भिडियो नेपाली, अंग्रेजी वा दुवै भाषामा बनाउन सकिने छ । भिडियो बनाउँदा प्रतियोगी आफैले बोलेको प्रस्तुति हुनुपर्नेछ तर म्यूट भिडियो भएमा साङ्केतिक प्रष्टता हुनुपर्नेछ ।

यस प्रतियोगितालाई दुई चरणमा सञ्चालन गरिने छ । यसमा प्रादेशिक छनौट र केन्द्रीय प्रतिस्पर्धा गरेर दुई चरणमा उत्कृष्ट प्रोजेक्टहरु छनौट गरिने भएको छ ।

यस प्रतिस्पर्धामा आफ्नो प्रदेशमा रहेका जुनसुकै विद्यालयका कक्षा १० (हाल एसईई २०७७ मा सामेल भएका समेत) सम्मका जति विद्यार्थीहरु पनि समावेश हुन पाउनेछन् । तर प्रत्येक विद्यार्थीले भने छुट्टाछुट्टै फारम भर्नुपर्ने हुन्छ ।

यो प्रतियोगितामा टिमसँग नभई एकल सहभागी हुनुपर्दछ । एक परियोजनाका लागि एक जना मात्र विद्यार्थी प्रतियोगी हुनुपर्ने र एक जनाको एउटा मात्र विज्ञान परियोजनाको भिडियो प्रतिस्पर्धामा सामेल हुनेछ ।

यस कार्यक्रमका निम्ति प्रत्येक विद्यार्थीले आफैंले निर्माण गरेको विज्ञान परियोजनाको विस्तृत जानकारी सहितको एउटा भिडियो बनाई नियमानुसार तल दिइएको फर्म मार्फत अपलोड गर्नुपर्ने हुन्छ ।

भिडियोको फाइल साइज करिब ३०० एमबीको हुनु पर्ने आयोजकले जनाएको छ । साथै भिडियोको फाइल फर्म्याट भने एमपी फोर फाइल वा अन्य भिडियो फर्म्याटको हुनुपर्छ ।

प्रत्येक प्रदेशको मूल्यांकन समितिले भिडियो पठाएका प्रतिस्पर्धीबाट दुईवटा परियोजना छनौट गरी केन्द्रीय प्रतिस्पर्धाका लागि सिफारिस गर्ने आयोजकले बताएको छ ।

पहिलो चरणमा छनौट भई सिफारिश भएका प्रत्येक परियोजनाको एक प्रतियोगी विद्यार्थी र सम्बन्धित विद्यालयको एक जना विज्ञान शिक्षक समेत कोभिड परिस्थिति अनुकुल भएमा तोकिएको मितिमा काठमाडौं आउनुपर्ने वा नभएमा तोकिए बमोजिम प्रतियोगी सामग्री सहित स्वयं उपस्थित भई केन्द्रीय प्रतिस्पर्धामा सहभागी हुनुपर्नेछ ।

प्रादेशिक रुपमा छनौट भई आएका सातै प्रदेशका १४ प्रतिस्पर्धी विद्यार्थी र निजका १४ विज्ञान शिक्षकलाई समेत काठमाडौं आउने,जाने, बस्ने र खानेको व्यवस्था आयोजकले मिलाउने छ ।

केन्द्रीय प्रतिस्पर्धाको कार्यक्रम काठमाडौंमा आयोजना गरिनेछ वा समय सापेक्ष तय गरिए बमोजिम आयोजना हुनेछ । केन्द्रीय प्रतिस्पर्धामा प्रत्येक प्रदेशबाट छनौट भई सिफारिश भएका २ प्रतियोगी गरी सातै प्रदेशका जम्मा १४ परियोजनाबिच मात्र प्रतिस्पर्धा गराइने भइएको छ ।

केन्द्रीय प्रतिस्पर्धाका लागि गठित मूल्याङ्कन समितिले तय गरिएका आधार बमोजिम मूल्याङ्कन गरी उत्कृष्ट चार प्रतिस्पर्धीलाई प्रथम, दोस्रो, तेस्रो र चौथो घोषणा गरिने छ ।

कार्यक्रममा प्रमाण पत्र सहित प्रथम हुनेले १० हजार, दोस्रोले ८ हजार, तेस्रोले ६ हजार र  चौथाले  ४ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यसमा सहभागी हुन फारम भर्नलाई यहाँ क्लिक गर्नुहोस् ।