कृषि
कृषि मन्त्रालयको १०० दिने रिपोर्ट : किसानलाई राहतदेखि डिजिटल सेवासम्म
काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले वर्तमान सरकार गठनपछिका पहिलो १०० दिनमा नीति निर्माण, किसानलाई राहत, कृषि उत्पादन वृद्धि, वन व्यवस्थापन तथा अन्तर्राष्ट्रिय सहकार्यका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ ।
मन्त्रालयले सार्वजनिक गरेको कार्यसम्पादन प्रतिवेदनमा कृषि क्षेत्रको आधुनिकीकरण, डिजिटल सेवा विस्तार, मल आपूर्ति, किसान भुक्तानी र वातावरण संरक्षणलाई प्राथमिकतामा राखिएको उल्लेख छ ।
नीतिगत तथा कानुनी सुधारमा तीव्रता
मन्त्रालयका अनुसार कृषि तथा वन क्षेत्रलाई समयानुकूल बनाउन नयाँ नीति तथा कानुनी संरचना तयार गर्ने कार्यलाई अघि बढाइएको छ । ‘कृषि नीति २०८३’ को मस्यौदा मन्त्रिपरिषद्मा पेस गरिएको छ भने ‘कृषि विधेयक २०८३’ र ‘सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक २०८३’ रायका लागि कानुन मन्त्रालयमा पठाइएको छ ।
त्यस्तै, ‘मल (नियन्त्रण) आदेश २०८३’ स्वीकृतिको अन्तिम चरणमा पुगेको छ । वन तथा वातावरण क्षेत्रतर्फ नयाँ कानुनी मस्यौदासँगै कार्बन व्यापारलाई व्यवस्थित गर्न कार्बन रजिस्ट्रीसम्बन्धी नियमावली स्वीकृत गरिएको मन्त्रालयले जनाएको छ ।
किसानलाई राहत र कृषि आपूर्तिमा सुधार
मन्त्रालयले उखु किसानको बक्यौता भुक्तानीलाई प्राथमिकतामा राखेको जनाएको छ । चालु आर्थिक वर्षमा चिनी उद्योगहरूले किसानलाई तिर्नुपर्ने करिब १३ अर्ब ७६ करोड रुपैयाँमध्ये ९२ प्रतिशत रकम भुक्तानी भइसकेको छ भने बाँकी रकम पनि प्रक्रियामा रहेको छ ।
सरकारी अनुदानअन्तर्गत उपलब्ध गराइने १ अर्ब ५२ करोड रुपैयाँ पनि तोकिएको समयभित्र किसानको खातामा पठाइने मन्त्रालयको भनाइ छ । रासायनिक मलको आपूर्ति सहज बनाउन चैतयता ८९ हजार मेट्रिक टनभन्दा बढी मल वितरण गरिएको छ ।
आगामी साउनभित्र थप २ लाख १० हजार मेट्रिक टन मल आयात गर्ने प्रक्रिया अघि बढाइएको छ । मल वितरणलाई व्यवस्थित र पारदर्शी बनाउन सूचना व्यवस्थापन प्रणालीलाई पनि स्तरोन्नति गरिएको मन्त्रालयले जनाएको छ ।
दुग्ध क्षेत्रमा सुधारका प्रयास
दुग्ध विकास संस्थान (डीडीसी) मार्फत किसानले दूध बिक्री गरेबापत पाउने रकमको भुक्तानी अवधि घटाइएको मन्त्रालयले जनाएको छ । यसअघि करिब ६ महिनासम्म कुर्नुपर्ने अवस्था रहेकामा अहिले तीन महिनाभित्रै भुक्तानी गर्ने व्यवस्था गरिएको छ ।
यस अवधिमा ४५ करोड रुपैयाँभन्दा बढी भुक्तानी गरिएको तथा किसानले पाउने दूधको मूल्य प्रतिलिटर एक रुपैयाँ बढाएर ६६ रुपैयाँ कायम गरिएको प्रतिवेदनमा उल्लेख छ । संस्थानको अनावश्यक खर्च कटौती गरी वार्षिक करिब तीन करोड रुपैयाँ बचत गर्ने व्यवस्था पनि गरिएको छ ।
डिजिटल कृषि र बीमा प्रणाली विस्तार
कृषि सेवामा डिजिटल प्रविधिको प्रयोग बढाउने अभियानअन्तर्गत हालसम्म २६ लाख ३० हजारभन्दा बढी किसानलाई सूचीकरण गरिएको मन्त्रालयले जनाएको छ । साथै ८० हजार किसानलाई मोबाइलमार्फत मौसम तथा कृषि प्रविधिसम्बन्धी सूचना पठाउने व्यवस्था सुरु गरिएको छ ।
पशुपन्छी रोग परीक्षणको नतिजा क्यूआर कोडमार्फत हेर्न सकिने प्रणाली लागू गरिएको छ भने कृषि तथा पशुपन्छी बीमा प्रिमियम अनुदान वितरण प्रक्रियालाई थप प्रभावकारी बनाउन कार्यविधिमा संशोधन गरिएको मन्त्रालयले जनाएको छ । वैशाखसम्मको बीमा प्रिमियमबापतको करिब १७ करोड रुपैयाँ भुक्तानी गर्ने लक्ष्य पनि राखिएको छ ।
उत्पादन वृद्धि र स्थानीय बाली संरक्षण
मन्त्रालयका अनुसार यस अवधिमा विभिन्न कृषि बालीका ३८४ नयाँ जात दर्ता तथा सूचीकृत गरिएको छ । साथै सुन्तला र ठूलो अलैँचीलाई भौगोलिक सङ्केत (जीआई) प्राप्त गर्ने प्रक्रियाका लागि छनोट गरिएको छ, जसले नेपाली कृषि उत्पादनको अन्तर्राष्ट्रिय पहिचान र बजार विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
अन्तर्राष्ट्रिय सहकार्य र लगानी
जलवायु परिवर्तन, खाद्य सुरक्षा र कृषि विकासका क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोग विस्तार गर्न मन्त्रालयले विभिन्न विकास साझेदारसँग सहकार्य बढाएको जनाएको छ । विश्व वातावरण सुविधा र अनुकूलन कोषको सहयोगमा जलवायु अनुकूल धान उत्पादन, रैथाने माछा संरक्षण तथा दिगो खाद्य प्रणाली विकाससम्बन्धी परियोजना कार्यान्वयन चरणमा पुगेका छन् ।
त्यस्तै, कोरिया सरकारको सहयोगमा ६.७६ मिलियन अमेरिकी डलरको दुग्ध विकास परियोजना स्वीकृत भएको छ । वन्यजन्तु संरक्षणका लागि विभिन्न अन्तर्राष्ट्रिय संरक्षण संस्थासँग आगामी १० वर्षका लागि सहकार्य सम्झौता पनि गरिएको मन्त्रालयले जनाएको छ ।
वन व्यवस्थापन र वातावरण संरक्षण
विकास आयोजना सञ्चालनलाई सहज बनाउन २६ वटा आयोजनाका लागि राष्ट्रिय वनको २७५.२४ हेक्टर जग्गा उपयोगको अनुमति दिइएको मन्त्रालयले जनाएको छ । काठ उत्पादन बढाएर आत्मनिर्भर बन्न वन व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाउने रणनीति पनि अघि बढाइएको छ ।
मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि १५ सदस्यीय विशेषज्ञ कार्यदल गठन गरिएको छ । द्वन्द्वबाट प्रभावित परिवारलाई चार करोड २७ लाख रुपैयाँभन्दा बढी राहत वितरण गरिएको मन्त्रालयले जनाएको छ । साथै लाङटाङ क्षेत्रमा डढेलोले क्षति पुर्याएको वन क्षेत्रमा पहिलो पटक ड्रोन प्रविधिबाट वृक्षारोपण सुरु गरिएको उल्लेख गरिएको छ ।
मन्त्रालयले आगामी दिनमा कृषि उत्पादन वृद्धि, किसानको आय अभिवृद्धि, वातावरण संरक्षण र आधुनिक प्रविधिमा आधारित कृषि प्रणाली विकासलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ ।
कृषि
एग्री टेक स्टार्टअपः कृषि अर्थतन्त्रमा यसरी पुर्याउँदैछन् सहयोग
काठमाडौं । नेपाली अर्थतन्त्रमा सेवा क्षेत्रपछिको सबैभन्दा धेरै योगदान दिने क्षेत्र कृ…
सूचना प्रविधिदेखि आधुनिक कृषिका युवा उद्यमी इन्जिनियर अरविन्द साह
बारा जिल्लास्थित तेलकुवा स्थायी घर भएका युवा इन्जिनियर अरविन्द साह हाल काठमाडौंमा बस्छन् । काठमाडौंमा बसेर सूचना प्रविधिको क्षेत्रमा संघर्ष गर्दै र सफलता हा…