काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत केन्द्रीय पत्रकारिता तथा आमसञ्चार विभाग (सीडीजेएमसी) ले डिजिटल कन्टेन्ट क्रिएसन (डिजिटल सामाग्री उत्पादन) विषयमा एक वर्षे पोस्ट ग्र्याजुएट डिप्लोमा कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
डिजिटल युगमा बढ्दो सामाग्री उत्पादनको आवश्यकता र सम्भावनालाई ध्यानमा राख्दै विभागले डिजिटल स्टोरीटेलिङ तथा सामाग्री सिर्जनासम्बन्धी व्यावहारिक सीप विकास गर्ने उद्देश्यले उक्त कार्यक्रम ल्याउन लागेको हो ।
विभागका अनुसार यस कार्यक्रममा जुनसुकै विषयमा स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीले आवेदन दिन सक्नेछन् । यसका लागि पत्रकारिता तथा आमसञ्चार विषयमै स्नातक गरेको हुनुपर्ने अनिवार्यता छैन ।
एक वर्ष अवधिको उक्त कार्यक्रम विशेष गरी डिजिटल प्लेटफर्मका लागि समाचार, कथा तथा अन्य सिर्जनात्मक सामाग्री उत्पादन गर्न इच्छुक स्नातक तह उत्तीर्ण व्यक्तिहरूलाई लक्षित गरिएको छ ।
यद्यपि, विभागले कार्यक्रमसम्बन्धी जानकारी सार्वजनिक गरेपनि आवेदन खुल्ने मिति, भर्ना प्रक्रिया, शुल्क, कक्षा सञ्चालन हुने समय र विस्तृत पाठ्यक्रमबारे भने जानकारी दिइएको छैन ।
आईसीटी समाचार