काठमाडौं । टिकटकले आफ्नो फ्यामिली पेयरिङ सुविधालाई नयाँ स्वरूपमा सार्वजनिक गरेको छ। यसमा थपिएका नयाँ फिचरले किशोरकिशोरीले यो प्लेटफर्म कसरी प्रयोग गरिरहेका छन् भन्नेबारे अभिभावकलाई थप जानकारी उपलब्ध गराउनेछन् । साथै, उनीहरूको अनलाइन अनुभवलाई सुरक्षित र सकारात्मक बनाउन आवश्यक निर्णय लिन पनि सहयोग पुग्नेछ ।
नयाँ स्वरूपको फ्यामिली पेयरिङ ड्यासबोर्डमा चार प्रमुख विषयसँग सम्बन्धित जानकारी एकै ठाउँमा उपलब्ध हुनेछ । यसमा स्क्रिन टाइम, अनलाइन अन्तरक्रिया, कन्टेन्टसम्बन्धी रुचि र सार्वजनिक पोस्ट समेटिएका छन् । यसले अभिभावकलाई आफ्ना किशोरकिशोरीको डिजिटल गतिविधि बुझ्न, उनीहरूको अनलाइन व्यवहारमा आएका परिवर्तन पहिचान गर्न र आवश्यक सेटिङबारे सुसूचित निर्णय लिन सहज बनाउने लक्ष्य राखेको छ ।
यो नयाँ फिचर किशोरकिशोरीका लागि टिकटकले यसअघि नै लागू गरेका सुरक्षा उपायहरूको निरन्तरता हो । किशोरकिशोरीका एकाउन्टमा पूर्वनिर्धारित रूपमा गोपनीयता तथा सुरक्षा सेटिङ, निजी एकाउन्ट र उमेरअनुकूल कन्टेन्टसम्बन्धी नीतिहरू लागू गरिएका छन् । यसका साथै, उनीहरूका एकाउन्टमा दैनिक स्क्रिन टाइम पनि पूर्वनिर्धारित रूपमा ६० मिनेट तोकिएको छ । यसले उनीहरूको डिजिटल बानी व्यवस्थापन गर्न आधार प्रदान गर्छ ।
नयाँ अपडेटसँगै अभिभावकका लागि तयार गरिएको ड्यासबोर्डमा स्क्रिन टाइमसम्बन्धी जानकारीलाई थप प्राथमिकता दिइएको छ । अब यो जानकारी ड्यासबोर्डमा सबैभन्दा पहिले देखिनेछ । अभिभावकले आफ्ना किशोरकिशोरीले औसतमा कति समय टिकटक चलाउँछन्, रातिको समयमा कति समय प्रयोग गर्छन् र स्क्रिन टाइम व्यवस्थापनका लागि कस्ता सेटिङ प्रयोग गरिरहेका छन् भन्ने हेर्न सक्नेछन् ।
त्यसैगरी, अन्तरक्रियासम्बन्धी सुविधाले किशोरकिशोरीका फलोअर र उनीहरूले फलो गरेका एकाउन्टको संख्यामा आएको परिवर्तन, उनीहरू सम्पर्कमा रहेका एकाउन्ट तथा ब्लक गरेका एकाउन्टबारे जानकारी उपलब्ध गराउनेछ । आगामी महिनाहरूमा अभिभावकले आफ्ना किशोरकिशोरीले टिकटकमा कसलाई सन्देश पठाइरहेका छन् भन्ने जानकारी पनि हेर्न सक्ने सुविधा ल्याउने टिकटकको योजना छ ।
अभिभावकले आफ्ना किशोरकिशोरीको कन्टेन्टसम्बन्धी रुचिबारे पनि थप जानकारी पाउनेछन् । यसका लागि उनीहरूले फलो गरेका प्रमाणित क्रिएटरका केही भिडियो देखाइनेछ । यसबाट किशोरकिशोरी टिकटकमा कस्ता समुदाय र विषयवस्तुबाट प्रभावित भइरहेका छन् भन्ने बुझ्न सहयोग पुग्नेछ । टिकटकले परामर्श गरेका ८० प्रतिशतभन्दा बढी अभिभावकले यस्तो फिचर उपलब्ध हुनुपर्ने बताएका थिए ।
नयाँ ड्यासबोर्डमा सार्वजनिक पोस्टसम्बन्धी जानकारी पनि समावेश गरिएको छ । यसमार्फत अभिभावकले आफ्ना किशोरकिशोरीले प्रत्येक साता सार्वजनिक रूपमा पोस्ट गरेका सामाग्री र ती पोस्टमा प्राप्त भ्युजको संख्या हेर्न सक्नेछन् ।
नयाँ फ्यामिली पेयरिङ फिचर तीन प्रमुख सिद्धान्तका आधारमा विकास गरिएको छ । पहिलो, स्पष्ट र उपयोगी जानकारी उपलब्ध गराउने; दोस्रो, अभिभावकलाई सुसूचित निर्णय लिन सहयोग पुग्ने सन्दर्भ र विवरण प्रदान गर्ने; र तेस्रो, किशोरकिशोरीको गोपनीयताको सम्मान गर्ने ।
हरेक परिवारका आवश्यकता फरक हुने भएकाले अभिभावकीय सुविधाहरूले अनलाइन गतिविधि नियन्त्रणमा मात्र जोड नदिई अभिभावक र किशोरकिशोरीबीच अर्थपूर्ण संवादलाई प्रोत्साहन गर्नुपर्ने मान्यताका आधारमा यो फिचर विकास गरिएको टिकटकले जनाएको छ । कम्पनीले परामर्श गरेका ७० प्रतिशतभन्दा बढी अभिभावकले आफ्ना किशोरकिशोरीसँग संवाद सुरु गर्न सहयोग गर्ने टुलहरू आवश्यक रहेको बताएका थिए ।
यी जानकारी दैनिक रूपमा अपडेट हुनेछन् । यसले अभिभावकलाई समयसँगै किशोरकिशोरीको डिजिटल गतिविधिमा आएको परिवर्तन बुझ्न र आवश्यकताअनुसार ड्यासबोर्डबाटै सेटिङ परिवर्तन गर्न सहज बनाउनेछ । साथै, यी जानकारीलाई आफ्ना किशोरकिशोरीसँग संवाद सुरु गर्ने आधारका रूपमा पनि प्रयोग गर्न सकिनेछ । नयाँ स्वरूपको यो सुविधा वेब ब्राउजरबाट समेत प्रयोग गर्न सकिनेछ । यसले कम्प्युटरबाट टिकटक प्रयोग गर्न रुचाउने वा टिकटक एपमा पहुँच नभएका अभिभावकलाई थप विकल्प उपलब्ध गराउनेछ ।
दैनिक डिजिटल गतिविधिबाहेक किशोरकिशोरीको सम्भावित हानिकारक सामग्रीसँगको सम्पर्कबारे चिन्तित अभिभावकलाई सहयोग गर्न टिकटकले युवा सुरक्षा तथा मानसिक स्वास्थ्य क्षेत्रका विज्ञहरूसँग मिलेर थप अलर्ट दिने सुविधा विकास गरिरहेको छ ।
बोस्टन चिल्ड्रेन्स हस्पिटलको डिजिटल वेलनेस ल्याब तथा सेफ अनलाइन स्ट्यान्डर्ड्सका संस्थापक एवं निर्देशक र जोन्स हप्किन्स सेन्टर फर सुसाइड प्रिभेन्सनका सम्बद्ध फ्याकल्टी डा. ड्यान रिडेनबर्गसँगको सहकार्यमा टिकटकले अभिभावकका लागि नयाँ अलर्ट प्रणाली विकास गरिरहेको छ ।
यो अलर्टमार्फत किशोरकिशोरीले सम्भावित हानिकारक सामाग्री खोज्ने प्रयास गरेको हुन सक्ने जानकारी अभिभावकलाई दिइनेछ । साथै, यस्तो अवस्थामा कसरी अघि बढ्ने, आफ्ना किशोरकिशोरीको अवस्थाबारे कसरी बुझ्ने र उनीहरूसँग सहयोगी तथा सकारात्मक संवाद कसरी सुरु गर्ने भन्ने विषयमा विज्ञका सुझाव पनि उपलब्ध गराइनेछ । यो सुविधा हाल विकासकै चरणमा रहेको छ ।
डिजिटल वातावरणमा युवाहरूलाई सुरक्षित राख्ने जिम्मेवारी घर परिवारमा मात्र सीमित नहुने कुरालाई ध्यानमा राख्दै टिकटकले एजुकेटर्स गाइड पनि सार्वजनिक गरेको छ । शिक्षक तथा युवा सुरक्षा क्षेत्रका विज्ञहरूसँगको परामर्शमा तयार गरिएको यो विशेष स्रोत शैक्षिक क्षेत्रका लागि उपयोगी हुनेछ ।
टिकटकले कसरी काम गर्छ भन्नेबारे व्यावहारिक जानकारी, कक्षाकोठामा प्रयोग गर्न सकिने स्रोत तथा विद्यार्थी र परिवारसँग अनलाइन सुरक्षा, डिजिटल स्वास्थ्य र मिडिया साक्षरताका विषयमा छलफल गर्न आवश्यक मार्गदर्शन उपलब्ध गराउन शिक्षकहरूले गरेको आग्रहलाई सम्बोधन गर्दै यो गाइड तयार गरिएको हो ।
यस स्रोतमा विद्यालय समुदायका लागि आवश्यक जानकारी, टुल्स र मार्गदर्शन समेटिएका छन् । आगामी केही साताभित्र कक्षाकोठामा प्रयोग गर्न मिल्ने थप सामग्री पनि उपलब्ध गराइनेछ । एजुकेटर्स गाइड तथा युवाहरूको सुरक्षासम्बन्धी थप स्रोत टिकटकको सेफ्टी सेन्टरमार्फत प्राप्त गर्न सकिनेछ ।
टिकटकले आफ्नो समुदायको सुरक्षा गर्नु प्रमुख जिम्मेवारी रहेको जनाएको छ । किशोरकिशोरी, परिवार र शिक्षकका लागि सुरक्षित डिजिटल अनुभव सुनिश्चित गर्न आवश्यक टुल्स, फिचर र स्रोतको विकासलाई निरन्तरता दिने पनि कम्पनीले जनाएको छ ।
आईसीटी समाचार