काठमाडौं । चीनले पखेटाविहीन उड्ने कारको सफल परीक्षण उडान गरेको छ । मध्य चीनको हुनान प्रान्तस्थित चाङ्सामा शनिबार उक्त उड्ने कारको प्रोटोटाइपले पहिलो पटक सफलतापूर्वक उडान भरेको हो।
परम्परागत विमानमा जस्तो पखेटा प्रयोग नगरी उड्न सक्ने गरी विकास गरिएको यो कार व्यक्तिगत हवाई यातायातको नयाँ अवधारणाका रूपमा प्रस्तुत गरिएको छ । विशेष प्रविधिमा आधारित यसमा मल्टी-स्टेज थ्रस्ट भेक्टरिङ डक्टेड फ्यान प्रणाली प्रयोग गरिएको छ ।
यस प्रणालीमा उडानका लागि आवश्यक सम्पूर्ण प्रोपल्सन युनिटलाई बाहिरी आवरणभित्रै राखिएको छ । यसले परम्परागत पखेटा वा बाहिर देखिने प्रोपेलरबिनै हवाई उडान सम्भव बनाउने प्रविधिको प्रतिनिधित्व गर्छ ।
एक जना यात्रुका लागि डिजाइन गरिएको उक्त प्रोटोटाइपको अधिकतम उडान भार क्षमता २८० किलोग्राम रहेको छ । यसले अधिकतम १२० किलोग्रामसम्म भार बोक्न सक्ने जनाइएको छ ।
पखेटाविहीन संरचना र विशेष प्रणोदन प्रणालीमा आधारित यो प्रविधिलाई व्यक्तिगत हवाई यातायातको विकासमा नयाँ प्रयोगका रूपमा हेरिएको छ । यसको सफल परीक्षणले भविष्यमा सहरी यातायातलाई थप सहज बनाउने तथा व्यक्तिगत उड्ने सवारी साधनको विकासका लागि नयाँ सम्भावना खोल्ने अपेक्षा गरिएको छ ।
आईसीटी समाचार