काठमाडौं । चिनियाँ अटोमोबाइल निर्माता चांगान ग्रुपले आफ्नै इन्जिनियरिङ टोलीले विकास गरेको उन्नत ड्राइभर असिस्टेन्स प्रविधि ‘एसडीए पाइलट’ सार्वजनिक गरेको छ । सवारी सञ्चालनलाई सुरक्षित, सहज र सुविधाजनक बनाउने उद्देश्यले कम्पनीले नयाँ प्रणाली बजारमा ल्याएको हो ।
चांगानका अनुसार एसडीए पाइलटलाई प्रो, म्याक्स र अल्ट्रा गरी तीन संस्करणमा उपलब्ध गराइनेछ । यीमध्ये सबैभन्दा उन्नत अल्ट्रा संस्करणमा ५६० टप्स क्षमताको कम्प्युटिङ चिप र २५६ लाइन लिडार प्रविधि समावेश गरिएको छ । यसले सवारीको वरपरको वातावरण पहिचान तथा विश्लेषण गर्न र चालकलाई विभिन्न परिस्थितिमा सहयोग पुर्याउन सक्ने कम्पनीको भनाइ छ ।
नयाँ प्रणालीमा हाइवे तथा सहरी सडकका लागि नेभिगेसन क्रुज असिस्ट (एनसीए), ४०० भन्दा बढी अवस्थालाई समेट्ने इन्टेलिजेन्ट पार्किङ असिस्ट र ३१ प्रकारका सक्रिय सुरक्षा फिचर उपलब्ध छन् । यसले राजमार्गदेखि व्यस्त सहरी सडकसम्मको ड्राइभिङ र पार्किङलाई सहज बनाउने लक्ष्य राखेको छ ।
प्रविधिको विश्वसनीयता र कार्यक्षमता सुनिश्चित गर्न कम्पनीले ‘चांगान एसडीए ल्याब’ मार्फत निरन्तर परीक्षण गरिरहेको जनाएको छ । उक्त प्रयोगशालामा २४ घण्टा परीक्षण हुनुका साथै दैनिक ३३ लाख किलोमिटर बराबरको भर्चुअल ड्राइभिङ सिमुलेसन सञ्चालन गरिन्छ ।
एसडीए पाइलट प्रविधि प्रयोग हुने पहिलो उत्पादन मोडेलका रूपमा ‘चांगान नेभो क्यू०६’ पनि सार्वजनिक प्रक्रियामा अघि बढाइएको छ । कम्पनीले उक्त विद्युतीय सवारीसाधनको प्रि-अर्डर खुला गरिसकेको छ ।
चांगान ग्रुपका अध्यक्ष झु हुआरोङले यो प्रविधिको विकासमा कम्पनीको ठूलो अनुसन्धान तथा जनशक्ति लगानी रहेको बताएका छन् । उनका अनुसार यस परियोजनामा ७ हजार ५०० भन्दा बढी विशेषज्ञ संलग्न छन् भने अनुसन्धान तथा विकासमा ७.७ अर्ब युरोभन्दा बढी लगानी गरिएको छ ।
नेपालमा पनि चांगान ब्रान्डका विद्युतीय सवारी साधनको उपस्थिति बढ्दै गएको छ । एमएडब्लू वृद्धि अटोकर्पले नेपालमा चांगानका डिपल, नेभो र अवतार सब-ब्रान्डअन्तर्गतका विभिन्न विद्युतीय सवारी साधन बिक्री तथा वितरण गर्दै आएको छ ।
आईसीटी समाचार