कीवर्डहरू -

स्क्याम

ईसेवाको कर्मचारी भन्दै १५ लाख ठगी, ५ जना पक्राउ

काठमाडौं, ईसेवाको आधिकारिक कर्मचारी हुँ भन्दै १८ जना पीडितहरूबाट १५ लाख २० हजार ९ सय रूपैयाँ बराबरको धनमाल ठगी गरेको अभियोगमा ५ जनालाई रौतहटका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा रौतहट गौर नगरपालिका-५ बस्ने २६ वर्षीय नवनित कुमार कुशवाहा, २१ वर्षीय कन्हैया कुमार कुशवाहा, २० वर्षीय अभय कुमार यादव, २१ वर्षीय रितेश कुशवाहा र गढिमाई नगरपालिका-६ बस्ने १९ वर्षीय दिपेन्द्र कुमार यादव रहेका छन् । 

 उनीहरूले विभिन्न मोबाइल नम्बरहरुबाट फोन सम्पर्क गरी म ईसेवाको आधिकारिक कर्मचारी हुँ, तपाईको ईसेवा आईडी बैंक खातासँग लिंकअप तथा खाता नविकरण, केवाईसी फर्म अपडेट, स्टेटमेन्ट भेरिफाइ, सेक्योर ट्रान्सफर चार्ज नलाग्ने, ५० प्रतिशत क्यास ब्याक रकम उपलब्ध गराईदिन्छु भनी विश्वास दिलाई झुक्याएर पीडीतहरूकै मोबाइल नम्बर ओटीपी कोड पठाउने र उक्त कोड मागी ठगी पीडीतकै अकाउन्टमा पहुँच पुर्‍याउने गरेका थिए ।

त्यसपछि वालेट र लिंक गरिएका बैंक खाताहरुमा समेत अनाधिकृत रुपमा पहुँच पुर्‍याई खातामा भएको रकम विभिन्न बैंक खाता तथा वालेटहरुमा ट्रान्सफर लगायत भुक्तानी समेत गरी १८ जना पिडितहरुलाई पन्ध्र लाख बिस हजार नौ सय एक रूपैयाँ बराबरको ठगी गर्ने​​​​​ गरेका थिए ।

पीडितहरुबाट उक्त रकम ठगी गरेको खुल्न आएपछि उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन काठमाडौंबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय रौतहटको समन्वयमा पक्राउ गरेको हो । उनीहरूलाई ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।

स्क्याम