काठमाडौं । भोटेकोशी बाढी तथा अन्य विपद्बाट प्रभावितका लागि राहत रकम संकलन भइरहेका बेला नेपाल राष्ट्र बैंकले डिजिटल माध्यमबाट हुन सक्ने ठगीप्रति सर्वसाधारणलाई सचेत गराएको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा नक्कली बैंक खाता र क्यूआर कोड बनाएर रकम संकलन गर्ने गतिविधि हुन सक्ने भन्दै राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले सावधानी अपनाउन आग्रह गरेको हो ।
राष्ट्र बैंकका अनुसार राहतका लागि रकम पठाउनुअघि सबैभन्दा पहिले प्राप्तकर्ता खाताको नाम ‘Prime Minister Disaster Relief Fund’ भए नभएको यकिन गर्नुपर्छ । मोबाइल बैंकिङ, डिजिटल वालेट, कनेक्ट आईपीएस वा अन्य विद्युतीय माध्यमबाट कारोबार गर्दा रकम र प्राप्तकर्ता दुवै विवरण पुन: जाँच गरेर मात्र कारोबार स्वीकृत गर्न राष्ट्र बैंकले अनुरोध गरेको छ ।
सामाजिक सञ्जालबाट आएको क्यूआर कोडमा भर नपर्न आग्रह
राष्ट्र बैंकले राहत कोषमा रकम पठाउन आवश्यक बैंक खाता तथा क्यूआर कोडको विवरण सामाजिक सञ्जाल, इमेल वा मेसेजिङ एपमार्फत प्राप्त भएमा त्यसलाई आधिकारिक नमान्न भनेको छ ।
कोषमा रकम पठाउँदा नेपाल राष्ट्र बैंक, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अर्थ मन्त्रालयका आधिकारिक वेबसाइटमा प्रकाशित विवरण मात्र प्रयोग गर्न राष्ट्र बैंकले आग्रह गरेको छ ।
विपद्को समयमा सहयोग गर्ने नाममा नक्कली क्यूआर कोड प्रचार हुन सक्ने भएकाले अपरिचित स्रोतबाट प्राप्त क्यूआर कोड स्क्यान नगर्न पनि सूचनामार्फत सचेत गराइएको छ ।
ओटीपी र पिन मागे सतर्क हुनुपर्ने
रकम पठाउने क्रममा सहयोग गर्ने वा कारोबार मिलाइदिने बहानामा कसैले ओटीपी, पिन, पासवर्ड वा अन्य गोप्य विवरण मागेमा उपलब्ध नगराउन राष्ट्र बैंकले भनेको छ ।
यस्ता संवेदनशील विवरण अरूलाई दिँदा बैंक खातामा अनधिकृत पहुँच पुगेर रकम चोरी हुन सक्ने जोखिम रहेको राष्ट्र बैंकले जनाएको छ । त्यसैले राहत रकम पठाउँदा आधिकारिक मोबाइल बैंकिङ एप तथा विश्वसनीय भुक्तानी माध्यम मात्र प्रयोग गर्न आग्रह गरिएको छ ।
मोबाइल बैंकिङबाटै राहत कोषमा रकम पठाउन सकिने
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई पनि डिजिटल माध्यमबाट राहत कोषमा रकम पठाउन सहज व्यवस्था गर्न निर्देशन दिएको छ । इजाजतपत्रप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मोबाइल बैंकिङ एपबाट क्यूआर स्क्यान गरी वा अन्तरबैंक फन्ड ट्रान्सफरमार्फत कोषमा रकम पठाउन सकिने व्यवस्था गर्नुपर्नेछ ।
मोबाइल बैंकिङ एपमै रकम प्रविष्ट गरी तोकिएको खातामा सिधै रकम पठाउन मिल्ने छुट्टै विकल्प उपलब्ध गराउन समेत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई भनेको छ । यस व्यवस्थाले विपद्का बेला राहतका लागि सहयोग गर्न चाहनेलाई बैंक शाखामा नगई डिजिटल माध्यमबाटै रकम पठाउन सहज बनाउने अपेक्षा गरिएको छ ।
ठगीको शंका भए तुरुन्त खबर गर्नुपर्ने
राहत कोषमा रकम पठाउने क्रममा आफू ठगीमा परेको वा अनधिकृत कारोबार भएको शंका लागेमा तत्काल सम्बन्धित बैंक, वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायकलाई जानकारी गराउन राष्ट्र बैंकले आग्रह गरेको छ ।
त्यसैगरी, आवश्यक परे नेपाल प्रहरीको साइबर ब्युरो वा नेपाल राष्ट्र बैंकको वित्तीय ग्राहक संरक्षण इकाईमा समेत जानकारी गराउन सकिने जनाएको छ । भोटेकोशी बाढीपछि उद्धार, राहत तथा पुन:स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जम्मा गर्ने क्रम बढिरहेका बेला राष्ट्र बैंकले यस्तो चेतावनी दिएको हो ।
आईसीटी समाचार