कीवर्डहरू -

एसिया–युरोप भ्रमणको अफर देखाएर डिजिटल ठगी, दुई जना पक्राउ

एसिया–युरोप भ्रमणको अफर देखाएर डिजिटल ठगी, दुई जना पक्राउ

कास्की । एसिया र युरोपका विभिन्न देश घुमाइदिने प्रलोभन देखाएर अनलाइनमार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एक नेपाली र एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको कञ्चनपुर नगरपालिका १२ निवासी २६ वर्षीय विवेक रेग्मी र भारतको कर्नाटक राज्य, महेश्वर शान्तिनगर निवासी ३० वर्षीय मोहम्मद याशिर रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका ५ प्रस्याङमा घर भाडामा लिएर भारतीय नागरिकसहितको समूहले एसिया र युरोपका विभिन्न देशमा भ्रमण गराइदिने भन्दै अनलाइन स्क्याम सञ्चालन गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले ओएसिस टुरिज्म इन्टरनेसनल नामक संस्था स्थापना गरी १५ जना युवायुवतीलाई परिचालन गरेको खुलेको प्रहरीले जनाएको छ । उनीहरूले अनलाइन तथा फोनमार्फत विभिन्न व्यक्तिलाई सम्पर्क गरी "3N/4D Holiday Voucher – Fill & Win, Register & Win Assured Gift" लेखिएको कुपन भर्न लगाएर रकम असुल्ने गरेका थिए ।

अनुसन्धानका क्रममा हालसम्म ३० जना व्यक्तिलाई एसिया तथा युरोपका विभिन्न देशमा भ्रमण गराइदिने प्रलोभनमा पारेर कुपन भर्न लगाई ९ लाख ६५ हजार रुपैयाँ ठगी गरेको खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरूको साथबाट दुई थान कम्प्युटर, विभिन्न रजिस्टर तथा रेकर्ड बुक आठ थान, कुपन रसिद छ थान, चार थान स्ट्याम्प छाप तथा विभिन्न व्यक्तिका नाममा काटिएका कुपनका अर्धकट्टी समेत बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।