कीवर्डहरू -

विविध

पठाओले ल्यायो वार्षिक छात्रवृत्ति योजना, देशभरका १०० जेहेनदार विद्यार्थीलाई अवसर

पठाओ नेपालले त्रिभुवन विश्व विद्यालयसँगको सहकार्यमा 'त्रिवि पठाओ वार्षिक छात्रवृत्ति योजना' सार्वजनिक गरेको छ ।

सम्झौतापत्रमा पठाओका तर्फबाट मार्केटिङ हेड सुरक्षा हमाल र त्रिभुवन विश्वविद्यालयका तर्फवाट विद्यार्थी कल्याणतथा खेलकुद निर्देशनालयका निर्देशक प्रा पशुपति अधिकारीले हस्ताक्षर गरेका छन् ।

कम्पनीको सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत रहेको यस योजनामा पठाओले आर्थिक समस्या भएका नेपालभरका १०० जना जेहेनदार विद्यार्थीहरूका लागि एक वर्षमा १५ हजार रुपैयाँसम्मको वार्षिक छात्रवृत्ति प्रदान गरिने जनाएको छ । सम्झौता एक वर्षका लागि गरिएको कम्पनीको भनाइ छ ।

यस योजनामा विद्यार्थी छनोटका लागि 'स्कलरशीप कमिटी' बनाइनेछ । सो कमिटीमा कम्पनीका तर्फबाट दुई जना र विश्वविद्यालयको तर्फबाट  तीन जना सदस्य रहनेछन् ।

स्कलरशीपबारे जानकारी र फर्म विश्वविद्यालयले प्रदान गर्ने र पठाओ नेपालको वेबसाइट, सामाजिक सञ्जाल, विश्वविद्यालय अन्तर्गतका कलेजहरू तथा कलेज परिसरभित्र समेत प्रचार गरिने पठाओ नेपालको मार्केटिङ प्रमुख सुरक्षा हमालले जानकारी दिइन् ।

उनले भनिन्,'यस स्कलरशीपका लागि तोकिएको मापदण्ड अनुसार आवेदन दिएका उम्मेदवारमध्येबाट  उचित उम्मेदवार स्कलरशीप कमिटीले छान्नेछ ।'

यस योजनामा छानिएका विद्यार्थीलाई विश्वविद्यालयअन्तर्गतका मुख्य क्याम्पस र ६२ वटा आङ्गिक क्याम्पसमा छात्रवृत्तिमा पढ्न मिल्ने कम्पनीले जनाएको छ । सामाजिकशास्त्र संकाय, व्यवस्थापन संकाय र शिक्षा संकायमा अध्ययनरत विद्यार्थीहरूलाई स्कलरशीप दिइने कम्पनीको भनाइ छ ।

हस्ताक्षर कार्यक्रममा पठाओ नेपालका प्रवन्ध निर्देशक असिममान सिंह बस्न्यात त्रिवि अन्तराष्ट्रिय सम्वन्ध केन्द्रका कार्यकारी निर्देशक विनोद जोशी, योजना निर्देशनालयका निर्देशक प्रा. डा धुव्रकुमार गौतम लगायतको उपस्थिति थियो ।

कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको यो कार्यक्रमको मुख्य उद्देश्य खर्च अभावले जेहेनदार विद्यार्थीको शिक्षा नरोकियोस् भन्ने रहेको हमालले बताइन् ।

विविध