कीवर्डहरू -

असारभित्र सबै लाइसेन्स छाप्ने सरकारको तयारी, कसरी अघि बढ्दैछ काम ?

असारभित्र सबै लाइसेन्स छाप्ने सरकारको तयारी, कसरी अघि बढ्दैछ काम ?

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले पनौती नगरपालिका ५ मा अवस्थित सुरक्षण मुद्रण केन्द्रको निरीक्षण गर्दै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको वर्तमान अवस्थाबारे जानकारी लिएका छन् ।

निरीक्षणका क्रममा उनले सरकारले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्य राखेको उल्लेख गर्दै ट्रायल पास गरेपछि लामो समयसम्म लाइसेन्स कुर्नुपर्ने समस्या अन्त्य हुने बताएका छन् । अब राजस्व तिरेको २४ घण्टाभित्रै लाइसेन्स छापी सेवाग्राहीलाई उपलब्ध गराउने व्यवस्था कार्यान्वयनमा आएको उनले जानकारी दिए ।

मन्त्री तिमिल्सिनाले लाइसेन्स छपाइ प्रक्रियालाई तीव्र बनाउँदै हालसम्म बाँकी रहेका सबै लाइसेन्स आगामी असार मसान्तभित्रै छापिसक्ने लक्ष्य राखिएको बताए । ‘अब सम्भव कामलाई ढिलाइ गरेर रोकिने प्रवृत्ति अन्त्य हुन्छ,’ उनले भने, ‘ट्रायल पास गरेपछि महिनौँ कुर्नुपर्ने अवस्थाको अन्त्य गर्दै छिटो सेवा दिने प्रणाली लागू गरिएको छ ।’

उनले सुरक्षण मुद्रण केन्द्रलाई राज्यको महत्वपूर्ण र सम्भावनायुक्त संस्थाका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । मन्त्रालय सम्हालेदेखि नै यस केन्द्रको प्रभावकारिता बढाउने विषय प्राथमिकतामा रहेको उल्लेख गर्दै विगतमा आवश्यक इच्छाशक्ति अभावका कारण काममा ढिलाइ भएको बताए ।

मन्त्री तिमिल्सिनाले केन्द्रमा रहेका उपकरणहरूको अधिकतम उपयोग गर्न निर्देशन दिँदै ठूलो लगानीमा खरिद गरिएका मेसिन वर्षौँसम्म प्रयोगविहीन रहनु दु:खद भएको टिप्पणी गरे । करिब एक अर्ब रुपैयाँ बराबरका उपकरण र संरचना पूर्ण रूपमा सञ्चालनमा ल्याउनु पर्नेमा उनले जोड दिए ।

उनले नागरिकको डाटा सुरक्षालाई उच्च प्राथमिकतामा राख्न पनि निर्देशन दिएका छन् । ‘सरकार जनताको हितमा सञ्चालन हुन्छ, कसैको स्वार्थमा होइन,’ उनले स्पष्ट पारे । सेवाग्राहीका गुनासो सुन्ने र समाधान गर्ने काममा मन्त्रालय प्रतिबद्ध रहेको पनि उनले बताए ।

यसैबीच, देशभर मोबाइल नेटवर्क र इन्टरनेट सेवाको पहुँच र गुणस्तर सुधार गर्ने योजना मन्त्रालयको प्राथमिकतामा रहेको उनले जानकारी दिए । आगामी एक वर्षभित्र सबै नागरिकलाई प्रविधिको पहुँचमा ल्याउने लक्ष्य राखिएको छ ।

सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले संस्थालाई दीर्घकालीन रूपमा सुदृढ बनाउन व्यवसायिक योजना तयार भइरहेको बताए । भविष्यमा यही केन्द्रबाट राहदानी, चेकबुक, स्मार्ट कार्ड, हुलाक टिकट तथा अन्त: शुल्क स्टिकरजस्ता महत्वपूर्ण कागजात छाप्ने योजना रहेको उनले जानकारी दिए ।

ढुङ्गानाका अनुसार हाल दैनिक करिब ४० हजार लाइसेन्स छपाइ भइरहेको छ । विदेश जाने नागरिकलाई प्राथमिकता दिइँदै आएको र दैनिक करिब एक हजार आवेदन प्राप्त हुने गरेको उनले बताए । आगामी वैशाख १२ भित्र १२ लाख र बाँकी १७ लाख लाइसेन्स असार मसान्तसम्म छाप्ने लक्ष्य राखिएको छ ।

निरीक्षण कार्यक्रममा सांसदहरू मधुकुमार चौलागाईं, डा. राम लामा र बदनकुमार भण्डारी लगायतको उपस्थिति रहेको थियो । मन्त्री तिमिल्सिनाले केन्द्रको भौतिक पूर्वाधार, मेसिनरी र उपलब्ध स्रोत साधनको अवस्थाबारे पनि जानकारी लिएका थिए ।