कीवर्डहरू -

विद्यार्थीलाई प्रविधि सिकाउन गाउँले एकजुट, देउसीभैलोबाट संकलन गरे एक लाख

विद्यार्थीलाई प्रविधि सिकाउन गाउँले एकजुट, देउसीभैलोबाट संकलन गरे एक लाख

भोजपुर । ग्रामीण क्षेत्रका विद्यार्थीलाई सूचना प्रविधिसम्बन्धी शिक्षा उपलब्ध गराउने उद्देश्यले भोजपुरको अरुण गाउँपालिका ७ सिके्रटारस्थित सगरमाथा माध्यमिक विद्यालयमा आइटी कक्षा सञ्चालनका लागि स्थानीयवासी जुटेका छन् । कक्षा सञ्चालन गर्न आवश्यक आर्थिक स्रोत जुटाउन स्थानीयले देउसीभैलो अभियान सञ्चालन गरेका हुन् ।

विद्यालयलाई प्रविधिमैत्री बनाउँदै विद्यार्थीलाई कम्प्युटर तथा आधुनिक सूचना प्रविधिको ज्ञान र सीप प्रदान गर्ने लक्ष्यसहित स्थानीयवासी, अभिभावक र विभिन्न क्षेत्रका व्यक्तिहरू अभियानमा सहभागी भएका छन् ।

अरुण गाउँपालिका ७ का वडाध्यक्ष कुमार थापाका अनुसार सोमबारदेखि सुरु भएको देउसीभैलो कार्यक्रमबाट हालसम्म करिब एक लाख रुपैयाँ संकलन भइसकेको छ । विद्यालयको शैक्षिक गुणस्तर सुधार र प्रविधिमा विद्यार्थीको पहुँच विस्तार गर्न सामूहिक रूपमा रकम जुटाउने अभियान थालिएको उनले बताए ।

स्थानीयको उत्साहजनक सहभागिताले आइटी कक्षा सञ्चालनका लागि आवश्यक स्रोत जुटाउन सहयोग पुगेको वडाध्यक्ष थापाको भनाइ छ । कक्षा सञ्चालनमा आएपछि ग्रामीण क्षेत्रका विद्यार्थीले विद्यालयमै कम्प्युटर तथा सूचना प्रविधिसम्बन्धी आधारभूत ज्ञान हासिल गर्न सक्ने अपेक्षा गरिएको छ ।

स्थानीयवासी टेकबहादुर बस्नेतले सामुदायिक विद्यालयको शैक्षिक विकासका लागि समुदाय आफैँ अग्रसर हुनु सकारात्मक पहल भएको बताए । उनका अनुसार परम्परागत देउसीभैलो संस्कृतिलाई निरन्तरता दिँदै त्यसबाट संकलित रकम शिक्षाको विकासमा खर्च गर्नु उदाहरणीय काम हो ।

स्थानीय अगुवा विमल खड्का, श्रीकुमार राई, लक्ष्मीप्रसाद अधिकारी, टेकबहादुर खड्कालगायतको अगुवाइमा अभियान सञ्चालन भइरहेको छ । चाडपर्वको सांस्कृतिक परम्परालाई सामाजिक विकाससँग जोड्दै सुरु गरिएको यो अभियानले विद्यालयमा प्रविधिमैत्री वातावरण निर्माण गर्न सहयोग पुग्ने विश्वास स्थानीयले गरेका छन् ।