कीवर्डहरू -

सीप तथा रोजगार मेलामा २२० जनाले लिए तालिम, ६६ जना रोजगारीका लागि छनोट

सीप तथा रोजगार मेलामा २२० जनाले लिए तालिम, ६६ जना रोजगारीका लागि छनोट

काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयले आयोजना गरेको ‘सीप तथा रोजगार मेला २०८३’ मा हालसम्म ६६ जनाले रोजगारीको अवसर प्राप्त गरेका छन् । असोज १४ गतेदेखि २० गतेसम्म सञ्चालन भइरहेको मेलामा विभिन्न रोजगारदाता कम्पनीले सञ्चालन गरेको अन्तर्वार्ताबाट उनीहरू छनोट भएका हुन् ।

मन्त्रालयका अनुसार असोज १६ गते ११ जना र असोज १७ गते ५५ जना गरी कुल ६६ जना रोजगारका लागि छनोट भएका छन् । मेलामा हालसम्म चार हजार ५२८ जना सहभागीले रोजगारीका लागि दर्ता गराएका छन् । विभिन्न रोजगारदाताले सञ्चालन गरेको अन्तर्वार्तामा सहभागीमध्ये सुदर्शन सेक्युरिटी कम्पनीमा सुरक्षा गार्ड पदका लागि २१ जनामध्ये नौ जना छनोट भएका छन् ।

त्यस्तै, भाटभटेनी सुपरमार्केटले अन्तर्वार्तामा सहभागी ३६ जनामध्ये १८ जना, रिलायन्स स्पिनिङ मिल्सले २९ जनामध्ये १७ जना तथा चौधरी ग्रुपले १० जनामध्ये पाँच जनालाई छनोट गरेको मन्त्रालयले जनाएको छ ।

एसियन फुड्सले सात जना अन्तर्वार्तामा सहभागी गराएर एक जनालाई छनोट गरेको छ भने जिल्ला होटल तथा पर्यटन व्यवसाय संघले अन्तर्वार्तामा सहभागी सात जनामध्ये पाँच जनालाई रोजगारीका लागि छनोट गरेको छ ।

२२० जनाले लिए सीपमूलक तालिम
मेलाको अवधिमा विभिन्न १० विधामा सञ्चालन गरिएको छोटो अवधिको सीपमूलक तालिममा २२० जनाको सहभागिता रहेको मन्त्रालयले जनाएको छ । त्यसमध्ये ‘ओपनएआई’ सम्बन्धी तालिममा मात्रै १०५ जनाले सहभागिता जनाएका छन् । 

प्रविधिसहित विभिन्न क्षेत्रमा आवश्यक सीप विकास गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ । यसैगरी, करियर काउन्सिलिङ सेवामार्फत ७६ जनालाई व्यक्तिगत तथा व्यावसायिक परामर्श प्रदान गरिएको छ ।

आईटीमा नेपालमै अवसर रहेको सन्देश
मेलाअन्तर्गत ‘करियर उडान’ संवाद शृङ्खलाको चौथो भागसमेत आयोजना गरिएको थियो । कार्यक्रममा सूचना प्रविधि क्षेत्रका विज्ञ दीपेन चापागाईं र विभुषण भण्डारीले स्वदेशमै बसेर विश्व बजारमा पहुँच बनाउन सकिने तथा नेपालमा सूचना प्रविधिको क्षेत्रमा रोजगारी र व्यावसायिक अवसर रहेको विषयमा सहभागीहरूसँग अन्तरक्रिया गरेका थिए ।

त्यस्तै, ‘नेपालको श्रम बजार प्रवर्द्धनका लागि सीपयुक्त जनशक्तिको निर्माण र दीर्घकालीन उपयोग’ विषयमा नीति संवाद तथा प्यानल छलफल आयोजना गरिएको थियो । मन्त्रालयका अनुसार कार्यक्रममा करिब ४०० जनाको सहभागिता रहेको थियो ।

अनलाइन प्रणालीमा ६ हजारभन्दा बढी रोजगार खोजकर्ता
मन्त्रालयले सञ्चालन गरेको jobfair.sharamsansar.gov.np प्रणालीमा हालसम्म ५३३ रोजगारदाता र छ हजार ६१२ रोजगार खोजकर्ता आबद्ध भएका छन् । उक्त प्रणालीमा हालसम्म ४४२ वटा रोजगारीका पद प्रकाशित भएका छन् भने कुल रिक्त पदको संख्या छ हजार ५०० रहेको मन्त्रालयले जनाएको छ ।

‘सीप र रोजगार : साझा जिम्मेवारी’ भन्ने मूल नाराका साथ आयोजना गरिएको मेलाले रोजगार खोज्ने युवा र रोजगारदाताबीच प्रत्यक्ष सम्पर्क तथा रोजगारी मिलानका लागि सहजीकरण गरिरहेको मन्त्रालयले जनाएको छ । मेलासम्बन्धी दैनिक प्रगति विवरण सहसचिव तथा सीप तथा रोजगार मेला संयोजक हेमराज तामाङले असोज १७ गते सार्वजनिक गरेका हुन् ।

null